एन्फा होस्टल व्यवस्थापन समितिद्वारा सामूहिक राजीनामा

हिमालय टाइम्स   POSTED ON : श्रावण ६, २०७८ (८:२४ AM)

एन्फा होस्टल व्यवस्थापन समितिद्वारा सामूहिक राजीनामा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) मा हलचल आएको छ । होस्टल व्यवस्थापन समितिका तीन सदस्यले सामूहिक राजीनामा दिएपछि एन्फामा हलचल देखिएको हो । एन्फाका केन्द्रीय सदस्य दिनेश व्यञ्जनकारसहित तीन सदस्यले सामूहिक राजीनामा दिनुभएको हो । दिनेश होस्टल व्यवस्थापनका संयोजकसमेत हुनुहुन्छ ।

उहाँहरूले संयुक्तरूपमा मंगलबार एन्फा महासचिव इन्द्रमान तुलाधरलाई राजीनामा बुझाउनुभएको हो । एन्फा होस्टल व्यवस्थापनका लागि व्यञ्जनकारको संयोजकत्वमा सहायक महासचिव अरुणमान जोशी र सहायक कोषाध्यक्ष राजेन्द्र न्यौपाने सदस्य रहने समिति गठन भएको थियो । तीनैजनाले सामूहिक राजीनामा दिनुभएको हो । समितिलाई एन्फा एकेडेमी, खेलमैदान व्यवस्थापन, फ्लड लाइट, सोभिनियर सप निर्माणको समेत जिम्मा दिइएको थियो ।

व्यञ्जनकारले काम गर्ने वातावरण नभएका कारण राजीनामा दिएको बताउनुभएको छ । उहाँले चाहेका कुराहरू पनि नदिने र पटक–पटक भन्दा पनि कसैले नटेर्ने भएपछि राजीनामा दिएको बताउनुभयो । राजीनामा पत्रमा भने कार्यव्यस्तताका कारण काम गर्न नसक्ने उहाँहरूले उल्लेख गर्नुभएको छ ।

दुई दिनअघि मात्र केन्द्रीय समितिको बैठकको माग गर्दै वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ, उपाध्यक्ष कृष्णबहादुर थापा, उपाध्यक्ष वीरबहादुर खड्का र सदस्य दावा लामाले संयुक्तरूपमा पत्र बुझाउनुभएको थियो ।

होस्टल व्यवस्थापक समितिका संयोजक व्यञ्जनकारले फुटबल सञ्चालनका क्रममा सुरक्षा समितिको संयोजक र टेक्निकल समितिको सदस्यको समेत जिम्मेवारी निर्वाह गर्दै आउनुभएको थियो । सुरक्षा समितिको संयोजक र टेक्निकल समिति सदस्यबाट पनि मंगलबार नै राजीनामा दिएको व्यञ्जनकारले बताउनुभएको थियो ।


Views: 88

Top