भारतद्वारा एक खेलअगावै शृंखलामा कब्जा

एजेन्सी   POSTED ON : श्रावण ७, २०७८ (८:४१ AM)

भारतद्वारा एक खेलअगावै शृंखलामा कब्जा

कोलम्बो । भारतले श्रीलंकाविरुद्धको एकदिवसीय सिरिजमा एक खेलअगावै कब्जा जमाएको छ । भारतले दोस्रो खेलमा श्रीलंकाविरुद्ध ३ विकेटको जित दर्ता गर्दै सिरिज एक खेलअगावै २–० ले आफ्नो पक्षमा पारेको हो । श्रीलंकाले पहिला ब्याटिङ गर्दै २७५ रन बनाएको थियो । जवाफमा भारतले ४९.१ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।  

भारतका लागि दीपक चाहरले तल्लोक्रममा ८२ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ६९ रन जोड्दै जित दिलाउनुभएको थियो । यस्तै उसका भुवनेश्वर कुमारले २८ बलमा २ चौकासहित १९ रनमा अविजित रहनुभयो ।

आठौं विकेटका लागि दीपक र भुवनेश्वर कुमारले ८४ रनको साझेदारी गर्नुभएपछि भारतले जित हात पारेको हो । त्यसबाहेक उसका सूर्यकुमार यादवले ४४ बलमा ६ चौकासहित ५३ रनको योगदान दिनुभयो । भारतका शिखर धवनले ३८ बलमा ६ चौकासहित २९, मनिष पाण्डेले ३१ बलमा ३ चौकासहित ३७ रन थप्नुभयो । श्रीलंकाका वानिन्दु हसरंगाले १० ओभरमा ३७ रन खर्चेर ३ विकेट लिनुभयो । यस्तै कसुन रजिथ, लक्शान सन्दाकान र दासुन शनाकाले एक/एक विकेट लिनुभयो ।

त्यसअघि आर प्रेमाडासा स्टेडियम कोलम्बोमा टस जितेर पहिला ब्याटिङ रोजेको घरेलु टोली श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २७५ रन बनाएको थियो । श्रीलंकाका ओपनर अविष्का फ्रेनान्डो र मध्यक्रमका चरिथ असालान्काले अर्धशतकीय इनिङ खेल्नुभयो । चरिथ असालान्काले ६८ बलमा ६ चौकासहित सर्वाधिक ६५ रनको योगदान दिनुभयो ।

अर्का ओपनर अविष्का फ्रेनान्डोले ७१ बलमा ४ चौका र १ छक्कासहित ५० रन जोड्नुभयो । तल्लोक्रमका ब्याट्सम्यान चामिका करुणारत्नेले ३३ बलमा ५ चौकासहित ४४ रनमा अविजित रहे पनि खेल भने जिताउन सक्नुभएन ।

भारतका स्पिनर युजभेन्द्र चहलले १० ओभरमा १ मेडनसहित ५० रन खर्चेर ३ विकेट लिनुभयो । दीपक चाहरले ८ ओभरमा ५३ रन खर्चेर २ विकेट लिनुभयो । भुवनेश्वर कुमारले १० ओभरमा ५४ रन खर्चेर ३ विकेट लिनुभयो । पहिलो खेलमा भारत ७ विकेटले विजयी भएको थियो । तेस्रो खेल शुक्रबार हुनेछ ।


Views: 58

Top