पाकिस्तानविरुद्धको टी-ट्वान्टी शृंखला इंग्ल्याण्डले जित्यो

एजेन्सी   POSTED ON : श्रावण ७, २०७८ (८:४३ AM)

पाकिस्तानविरुद्धको टी-ट्वान्टी शृंखला इंग्ल्याण्डले जित्यो

लण्डन । पाकिस्तानविरुद्धको टी-ट्वान्टी क्रिकेट शृंखला इंग्ल्याण्डले जितेको छ । मंगलबार राति भएको तेस्रो तथा अन्तिम टी-ट्वान्टीमा इंग्ल्याण्डले तीन विकेटको जित दर्ता गर्दै सिरिज २-१ ले आफ्नो पक्षमा पारेको हो । यसअघि पाकिस्तानले पहिलो र इंग्ल्याण्डले दोस्रो टी-ट्वान्टी खेल जितेको थियो ।

जितका लागि १५५ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्याण्डले १९.४ ओभरमा ७ विकेट गुमाएर भेट्टायो । इंग्ल्याण्डका ओपनर जेसन रोयले ३६ बलमा १२ चौका र १ छक्कासहित सर्वाधिक ६४ रनको योगदान दिनुभयो । जस बटलर २१, डेविड मलान ३१, जोनी बेयरस्टो ५, मोइन अली एक, कप्तान ओइन मोर्गन २१ रनमा आउट हुनुभयो ।

पाकिस्तानका स्पिनर मोहम्मद हफिजले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिनुभयो । यस्तै इमाद वासिम, हसन अली, उस्मान कादिर र शादब खानले एक÷एक विकेट लिनुभएको थियो ।

त्यसअघि म्यानचेस्टरमा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५४ रन बनाएको थियो । पाकिस्तानका ओपनर मोहम्मद रिजवान ५७ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ७६ रनमा अविजित रहनुभयो ।

यस्तै फखर जमान २४, बाबर आजम ११, शोहिब मकसुद १३ र हसन अलीले १५ रन थप्नुभयो । इंग्ल्याण्डका स्पिनर आदिल राशिदले ४ ओभरमा ३५ रन खर्चेर ४ विकेट लिनुभयो । पहिलो खेलमा सानदार शतक प्रहार गरेका इंग्ल्याण्डका लियाम लिभिङस्टोन प्लेयर अफ द सिरिज चुनिनुभएको थियो । इंग्ल्याण्डसँगको तीन ओडीआई सिरिज पनि पाकिस्तानले गुमाएको थियो ।

यता अष्ट्रेलियाले पहिलो ओडीआई खेलमा घरेलु टोली वेष्ट इण्डिजलाई डकवर्थ लेविस पद्धतिका आधारमा १३३ रनले पराजित गरेको छ । योसँगै तीन ओडीआई खेलको सिरिजमा अष्ट्रेलियाले १–० को अग्रता लिएको छ ।

जितका लागि २५७ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली वेष्ट इण्डिज २६.२ ओभरमा १२३ रन बनाउँदै अल आउट भयो । वेष्ट इण्डिजका कप्तान काइरन पोलार्डले ५७ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ५६ रनको योगदान दिनुभएको थियो ।

त्यसअघि बार्बाडोसमा टस जितेर पहिला ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित ४९ ओभरमा ९ विकेट गुमाउँदै २५२ रन बनाएको थियो । डकवर्थ लेविस पद्धतिका आधारमा वेष्ट इण्डिजले २५७ रनको लक्ष्य पाएको थियो । डेब्यु कप्तानी गरेका विकेटकिपर एलेक्स केरीले ८७ बलमा ५ चौका र २ छक्कासहित ६७ रन र एस्टन टर्नरले ४५ बलमा २ चौका र २ छक्कासहित ४९ रन बनाउनुभयो ।


Views: 79

Top