थ्रीस्टार क्लबद्वारा तीन खेलाडीको सम्झौता नवीकरण

हिमालय टाइम्स   POSTED ON : श्रावण ७, २०७८ (८:४६ AM)

थ्रीस्टार क्लबद्वारा तीन खेलाडीको सम्झौता नवीकरण

काठमाडौं । थ्रीस्टार क्लबले युवा खेलाडी मिक्छेन तामाङसहित तीन खेलाडीसँग सम्झौता नवीकरण गरेको छ । थ्रीस्टारले आगामी असोज ३ गतेबाट सुरु हुने नयाँ सिजनको ए डिभिजन लिगका लागि तामाङसहित डिफेन्डरद्वय जीवन गुरुङ र अशोक खवाससँग सम्झौता नवीकरण गरेको हो ।

तीनैजना खेलाडीले पछिल्लो सिजनको ए डिभिजन लिगमा थ्रीस्टारबाटै खेल्नुभएको थियो । मिक्छेन र अशोकले वैशाखमा भएको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) खेल्नुभएको थियो । अशोकले धनगढी एफसी र मिक्छेनले ललितपुर सिटी क्लबबाट खेल्नुभएको थियो ।

थ्रीस्टारले नयाँ सिजनका लागि राष्ट्रिय फुटबल टिमका चार सदस्यलाई अनुबन्ध गरिसकेको छ । थ्रीस्टारले राष्ट्रिय टिमका डिफेन्डर अनन्त तामाङसहित सञ्जोक राई, निशान खड्का र आयुष घलानलाई नयाँ सिजनका लागि अनुबन्ध गरेको हो ।

अनन्तले थ्रीस्टारबाट पछिल्लो सिजनको ए डिभिजन लिग खेल्नुभएको थियो । चोटका कारण उहाँले गत वैशाखमा भएको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) खेल्नुभएन । यस्तै सञ्जोकले समेत पछिल्लो सिजन थ्रीस्टारबाट खेल्नुभएको थियो । सञ्जोक प्रेरित नेपालले गत चैतमा सम्पन्न थ्री नेसन्स फुटबलमा स्वर्ण पदक हात पारेको थियो । उहाँले वैशाखमा भएको फ्रेन्चाइज फुटबल एनएसएलमा काठमाडौंबाट खेल्नुभएको थियो । काठमाडौं एनएसएलको च्याम्पियन बनेको थियो ।

निशानले पनि थ्रीस्टारबाट नै पछिल्लो सिजनको ए डिभिजन लिग खेल्नुभएको थियो । एनएसएलमा भने उहाँ धनगढी एफसीमा आबद्ध हुनुहुन्थ्यो । उहाँ राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा हुनुहुन्छ ।

आयुष राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा भए पनि उहाँसँग ए डिभिजन लिगको अनुभव छैन । उहाँले विश्वकप छनोटअन्तर्गत अष्ट्रेलियाविरुद्ध डेब्यु गर्नुभएको थियो ।


Views: 78

Top