काठमाडौंबाट पाकिस्तानका शाहिद अफ्रिदीले खेल्ने

हिमालय टाइम्स   POSTED ON : श्रावण १२, २०७८ (६:३४ AM)

काठमाडौंबाट पाकिस्तानका शाहिद अफ्रिदीले खेल्ने

काठमाडौं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगितामा काठमाडौं किंग्स एलेभेन टोलीबाट पाकिस्तानका स्टार अलराउण्डर तथा पूर्व-कप्तान शाहिद अफ्रिदीले खेल्नुहुने भएको छ । आगामी असोज ९ देखि २३ सम्म टियु मैदानमा हुने प्रतियोगिताका लागि काठमाडौंले सोमबार विदेशी खेलाडीको रूपमा अफ्रिदीको नाम सार्वजनिक गरेको हो ।

४१ वर्षीय अफ्रिदी ठूला सटहरू खेल्ने गर्नुहन्छ भने लेग स्पिन बलिङ गर्नुहुन्छ । उहाँले पाकिस्तानबाट २७ टेष्ट, ३९८ ओडिआई, ९९ टि-२० अन्तर्राष्ट्रिय खेल खेल्नुभएको छ । उहाँ विश्व क्रिकेटका एक महान हस्तीका रूपमा चिनिनुहुन्छ ।

कार्यक्रममा भर्चुल माध्यमबाट सञ्चारकर्मीसँग अन्तरक्रिया गरेको अफ्रिदीले इपिएलका लागि आफू उत्साहित रहेको बताउनुभयो । पहिलोपल्ट नेपालमा प्रतियोगिता खेल्न आउन लागेको भन्दै उहाँले नेपाली क्रिकेटप्रेमीलाई निराश नपार्ने प्रतिबद्धता जनाउनुभयो ।

काठमाडौं किंग्स इलाभेनका मालिक तथा टेलिहोल्डिंगसका निर्देशक रोहित गुप्ताले अफ्रिदीलाई टिममा समावेश गर्न पाउँदा आफूहरू गौरव महसुस भइरहेको बताउनुभयो । ‘अफ्रिदी विश्व क्रिकेटका महान हस्ती हुनुहुन्छ । उहाँलाई टोलीसँग आबद्ध गर्न पाउँदा हामी निकै खुशी छौं’ गुप्ताले भन्नुभयो, ‘अफ्रिदीको आगमनले काठमाडौंको टोली अझै बलियो बनेको छ । हामी उपाधि दाबेदार टोलीका रूपमा प्रतियोगितामा प्रस्तुत हुनेछौं ।’

अफ्रिदीका नामामा सर्वाधिक छिटो एकदिवसीय क्रिकेट(ओडिआई)मा श्रीलंकाविरुद्ध शतक प्रहार गर्ने कीर्तिमानसमेत रहेको थियो । १७ वर्षपछि उहाँको नाममा रहेको ३७ वर्षमा एकदिवसीय क्रिकेटमा छिटो शतक प्रहार गर्ने कीर्तिमान कोरी एण्डरसनले भंग गर्नुभएको थियो । एण्डरसनले ३६ बलमा अर्धशतक प्रहार गर्नुभएको थियो । जुन खेलमा अफ्रिदी ओडिआईमा शतक प्रहार गर्ने सर्वाधिक कान्छा खेलाडीसमेत बन्नुभएको थियो । त्यसबेला उहाँको उमेर १६ वर्ष २१७ दिन थियो । 

अफ्रिदीले सन् १९९६ मा केन्याविरुद्ध एकदिवसीय क्रिकेट खेल्दै अन्तर्राष्ट्रिय क्रिकेट सुरु गर्नुभएको थियो । अफ्रिदीले ओडिआईमा आठ शतक र ३९ अर्धशतक सहित कुल आठ हजार ६४ रन बनाउनुभएको छ । ओडिआईमा अफ्रिदीले ३९५ विकेट लिनुभएको छ । अफ्रिदीले टी–२० मा एक हजार ४१६ रन बनाउँदा ९८ विकेट लिनुभएको थियो ।

सन् २००७ को टी-२० विश्वकपमा अफ्रिदी सर्वोत्कृष्ट खेलाडी चुनिनुभएको थियो । २०१६ पछि अफ्रिदीले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिनुभएको थियो । उहाँले फ्रेन्चाइज लिग भने निरन्तर खेल्दै आइरहनुभएको छ ।

अफ्रिदीसँगै यसअघि काठमाडौंले राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई अनुबन्धित गरिसकेको छ । प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) र नेपाल क्रिकेट संघ (क्यान) ले मान्यता दिइसकेको छ ।

काठमाडौंले गतवर्ष केभिन ओ ब्रायन र न्युजिल्याण्डका कोरी एण्डरसनको नाम सार्वजनिक गरेको थियो । केभिन र कोरी यो वर्ष आउने वा नआउने निश्चित भने छैन । काठमाडौंमा अफ्रिदी र सन्दीपसँगै दीपेन्द्रसिंह ऐरी, जितेन्द्र कुमार मुखिया, अमित श्रेष्ठ, राजु रिजाल, मोहम्मद साम्सद शेख, अमर सिंह राउटेला, सुवास खकुरेल, आकाश चन्द, अमृत भट्टाई, शेर मल्ल, सागर पुन र दीपेन्द्र रावतलगायत खेलाडी हुनुहुन्छ ।


Top