१३ वर्षको उमेरमै ओलम्पिकमा स्वर्ण

एजेन्सी   POSTED ON : श्रावण १२, २०७८ (६:३७ AM)

१३ वर्षको उमेरमै ओलम्पिकमा स्वर्ण

टोकियो । टोकियो ओलम्पिकमा १३ वर्षीय जापानिज खेलाडी मोमिजी निशीयाले स्ट्रिट स्केटबोर्डिंगमा स्वर्णपदक जित्दै इतिहास रच्नुभएको छ । उहाँले ब्राजिलकी रेस्सा लेअल र जापानकै फुना नाकायामालाई पछि पार्दै स्वर्णपदक जित्नुभएको हो ।

उहाँले १५.२६ अंक प्राप्त गर्दै स्वर्णपदक जित्नुभएको हो । ब्राजिलियन लेअलले १४.६४ अंकसहित रजत पदकमा सीमित हुनुभयो । योसँगै मोमिजी महिलातर्फ ओलम्पिकको स्केटबोर्डिंगमा स्वर्ण पदक जित्ने पहिलो पहिलो ओलम्पियन बन्नुभएको छ । यसअघि १९३६ को बर्लिन गेम्समा मार्जरी गेस्ट्रीङले १३ वर्ष २६७ दिनमा स्वर्ण जित्नुभएको थियो । निशियाभन्दा ६३ दिन कम उमेरमा उनले स्प्रिङबोर्डमा स्वर्ण जित्नुभएको हो ।

यो कीर्तिमान भने टोकियो ओलम्पिकमा तोडिने सम्भावना छ । जापानकी कोकोना हिराकी (१२ वर्ष ३४३ दिन) र बेलायतकी स्काई ब्राउन (१३ वर्ष २८ दिन) ले बुधबार हुने महिला पार्क स्केटबोर्डीङमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।

अमेरिकाको अग्रता

टोकियो ओलम्पिक-२०२० को पदक तालिकामा आइतबार अपरान्हसम्म अमेरिकाले अग्रता बनाएको छ । अमेरिकाले सात स्वर्ण तीन रजत र चार कांस्यपदकसहित १४ पदक जितेको छ । यस्तै, दोस्रो स्थानमा आयोजक जापान रहेको छ । जापानको सात स्वर्ण, एक रजत र तीन कांस्यसहित कुल ६ पदक रहेको छ । सुरुवाती दुई दिनमा अघि रहेको चीन तेस्रो स्थानमा झरेको छ । चीनको ६ स्वर्ण र तीन रजत र ६ कांस्यसहित १५ पदक छ ।

त्यसबाहेक बेलायत र दक्षिण कोरियाले तीन/तीन स्वर्ण, इटाली, अष्ट्रेलिया, फ्रान्स, हंगेरी, ट्युनिसिया, अष्ट्रिया, इक्वेडर, इरान, कोसोभो, नर्वे, थाइल्याण्ड र उज्वेकिस्तानले समान एक÷एक स्वर्ण पदक जितेको छ । टोकियो ओलम्पिकमा २०५ राष्ट्र र शरणार्थी टोली गरेर हालसम्म ४२ राष्ट्रले पदक जित्न सफल भएका छन् ।

नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका छन् । तीमध्ये शनिबार सम्पन्न खेलमा नेपालकी कल्पना परियार र सोनिया भट्ट पराजित हुनुभएको छ । सुटिङकी परियारले १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा आफैँले बनाएको राष्ट्रिय कीर्तिमान भंग गर्नुभयो । उहाँले महिला १० मिटर एयर राइफलमा ६१६ दशमलव ८ अंक बनाउँदै राष्ट्रिय कीर्तिमान बनाउनुभएको हो । यसअघि उहाँको नाममा ६१४ दशमलव ५ अंकको कीर्तिमान थियो ।

यस्तै, जुडोकी भट्टले महिला ४८ किलो तौल समूहमा रुसी खेलाडी इरिना डोल्गोभासँग हार बेहोर्नुभयो । टोकियो ओलम्पिकमा अब पौडीका गौरिका सिंह र एलेक्स शाह तथा एथलेटिक्सकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्न बाँकी छ । सिंहले महिला १०० मिटर फ्री स्टाइल, शाहले पुरुष १०० मिटर फ्री स्टाइल तथा चौधरीले महिला १०० मिटर दौडमा प्रतिस्पर्धा गर्नुहुनेछ । शाहले मंगलबार, सिंहले बुधबार तथा चौधरीले आगामी शुक्रबार आ-आफ्नो खेलमा प्रतिस्पर्धा गर्नुहुनेछ ।

 दाजुबहिनीलाई स्वर्ण

आयोजक राष्ट्र जापानका एकै परिवारका (दाजु-बहिनी)ले जुडो खेलमा स्वर्ण पदक जित्नुभएको छ । उहाँहरूले एउटै परिवारका दुई सदस्यले एकैदिन एउटै खेलमा स्वर्णपदक जित्ने दुर्लभ कीर्तिमान बनाउनुभएको छ । २१ वर्षीय आवे उता (बहिनी) ले ५२ केजीमुनिको तौल समूहमा स्वर्ण जितेको केही समयपछि नै २३ वर्षीय आवे हिफुमी (दाई) ले ६६ केजीमुनिको तौल समूहमा स्वर्ण पदक जित्नुभएको थियो ।

निप्पोन बुदोकानमा आइतबार राति उताले युरोपियन च्याम्पियन फ्रान्सकी एमादिन बुचार्डलाई गोल्डेन स्कोर ४ मिनेट २७ सेकेन्डमा इपपोन अंकमा पराजित गर्दै स्वर्ण जित्न सफल हुनुभयो । हिफुमीले जर्जियाका भाझा मार्गभेलासभिलीलाई वाजा रीको आधारमा पराजित गर्दै स्वर्ण जित्नुभएको हो ।


Top