लुम्बिनी प्रदेशस्तरीय हप्किडो च्याम्पियनसिप हुने

हिमालय टाइम्स   POSTED ON : श्रावण १२, २०७८ (६:४१ AM)

लुम्बिनी प्रदेशस्तरीय हप्किडो च्याम्पियनसिप हुने

प्युठान । प्युठानमा लुम्बिनी प्रदेशस्तरीय हाप्किडो च्याम्पियनसिप प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल मार्शल आर्ट्स हाप्किडो संघ, प्युठानको आयोजना तथा माण्डवी गाउँपालिकाको आर्थिक सहयोगमा असोज तेस्रो साता उक्त प्रतियोगिता हुने भएको हो ।

सोमबार संघले प्युठानमा एक पत्रकार सम्मेलन गर्दै प्रतियोगिता असोज १६ देखि १८ सम्म माण्डवी गाउँपालिकामा सञ्चालन हुने जानकारी दिएको छ । प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्लाका खेलाडीहरूले सहभागिता जनाउने नेपाल मार्शल आर्ट्स हाप्किडो संघ जिल्ला समिति प्युठानका अध्यक्ष मुक्ति पोख्रेलले जानकारी दिनुभयो ।

खेलकुदमार्फत युवाहरूको शारिरिक वृद्धि, विकास र त्यसमार्फत राष्ट्रको इज्जत थप उचो बनाउने खेलाडी उत्पादन गर्ने उदेश्य रहेको पोख्रेलले जानकारी दिनुभयो । आत्मविश्वास, आत्मअनुसाशन, आत्मरक्षा र स्वस्थ रहनको लागि यस प्रतियोगिताले मद्धत पुग्ने पोख्रेलले विश्वास राख्नुभयो ।

प्रतियोगितामा २०, २५, ३०, ३५, ४०, ४५, ५०, ५५, ६०, ६५ र ७० गरी ११ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । प्रत्येक तौल समूहमा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमशः १५ हजार, १० हजार र सात हजार नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र पाउनेछन् । खेलको उदीयमान, उत्कृष्ट र अनुशासित खेलाडीले पनि पुरस्कार पाउनेछन् ।


Top