राष्ट्रिय ब्याडमिन्टन असोज १ गतेदेखि

हिमालय टाइम्स   POSTED ON : भदौ ३०, २०७८ (७:३२ AM)

राष्ट्रिय ब्याडमिन्टन असोज १ गतेदेखि

काठमाडौं । रिभाइभ लिजरपार्कको स्थापनाको उपलक्ष्यमा ‘प्रथम रिभाइभ लिजरपार्क खुला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०७८’ असोज १ गतेदेखि हुने भएको छ । पार्कको आफ्नै कभर्ड हलमा हुने च्याम्पियनसिपले कोभिडबाट प्रभावित खेलाडीहरूलाई पुनर्ताजगी बनाउने आशा गरिएको छ ।

सकारात्मक र स्वस्थ जीवन जिउने उत्प्रेरणाका साथ आयोजना गर्न लागिएको च्याम्पियनसिपमा पुरुष एकल, महिला एकल, शीर्ष २० देखि बाहेकका पुरुष युगल र ४० वर्षमाथिका भेट्रान्स युगल गरी चार विधामा खुला प्रतिस्पर्धा हुनेछ । च्याम्पियनसिपमा राष्ट्रिय खेलाडीहरू, प्रदेश र जिल्ला, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गरी तीन विभागीय टिम, विभिन्न संघसंस्था, क्लब, नेपालमा बसोबास गर्दै आइरहेका विदेशी खेलाडीहरूलाई पनि सहभागी गराइने भएको छ ।

नेपाल ब्याडमिन्टन संघको स्विकृति तथा प्राविधिक सहयोगमा हुने च्याम्पियनसिपमा २०० बढी खेलाडीहरूको सहभागिता रहने आयोजकले जनाएका छन् । करिब १७ लाख अनुमानित बजेट रहेको च्याम्पियनसिपमा विजयी खेलाडी तथा टिमलाई नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

पुरुष एकल र महिला एकलका विजयी शीर्ष तीनले नगद ५० हजार, २५ हजार र १० हजार प्राप्त गर्नेछन् । यस्तै पुरुष युगलतर्फ शीर्ष तीन स्थान प्राप्त जोडीले नगद ५० हजार, २५ हजार र १० हजार तथा ४५ वर्षमाथिको भेट्रान्स युगलतर्फ शीर्ष तीन जोडीले नगद २५ हजार, १५ हजार र पाँच हजार प्राप्त गर्ने आयोजक लिजरपार्कका सञ्चालक लिलाबहादुर थापाले बताउनुभयो ।

उहाँले च्याम्पियनसिप आयोजनामात्र नभई रिभाइभले विभिन्न राष्ट्रिय ख्यातिप्राप्त खेलाडीहरूमार्फत् नवखेलाडीहरूलाई खेलप्रति आकर्षित गर्दै नयाँ खेलाडी उत्पादन गर्ने, विभिन्न लगानीकर्तामार्फत् खेल फन्ड स्थापना गरी खेलको विकासका साथै खेलाडीहरूलाई आवश्यक आर्थिक सहयोग उपलब्ध गराउने र खेल अनुसन्धानका रूपमा समेत अगाडि बढाउने सोच रहेको बताउनुभयो ।


Top