रियल बेटिस र इल्चे विजयी

एजेन्सी   POSTED ON : भदौ ३०, २०७८ (७:४५ AM)

रियल बेटिस र इल्चे विजयी

म्याड्रिड । स्पेनिस ला लिगाअन्तर्गत सोमबार राति भएको खेलमा रियल बेटिस र इल्चे विजयी भएका छन् । रियल बेटिसले ग्रानाडालाई उसैको मैदानमा २–१ गोलले हरायो । अर्को प्रतिस्पर्धात्मक खेलमा इल्चेले गेटाफेमाथि १-० गोलको कठिन जित निकाल्यो । रियल बेटिसको जितमा रोड्री र सर्जियो कानालेसले गोल गर्नुभयो । ग्रानाडाका लुइस सुवारेजले सान्त्वना गोल गर्नुभएको थियो ।

रोड्रीले पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै पाहुना टोलीको उत्साह बढाउनुभयो । उहाँले गुइडो रोड्रीग्वेजको पासमा गोल गर्नुभएको हो । त्यसपछि ६६औं मिनेटमा ग्रानाडाका लुइसले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याउनुभयो । लुइसले रुवेन रोचिनाको पासमा गोल गर्नुभएको थियो । रोमाञ्चक खेलको ८९औं मिनेटमा सर्जियोले गोल गर्दै रियल बेटिसलाई जिताउनुभयो । उहाँले पनि गुइडो रोड्रीग्वेजको पासमा गोल गर्नुभयो ।

खेलमा बेटिसले ५७ र ग्रानाडाले ४३ प्रतिशत बल पोसेसन राखेको थियो । बेटिसका सर्जियो कानालेस ‘म्यान अफ दी म्याच’ हुनुभयो । जितसँगै बेटिस नवौं स्थानमा उक्लिएको छ । बेटिसले चार खेलबाट पाँच अंक बनाएको छ । पराजित ग्रानाडा दुई अंकसहित १७औं स्थानमा छ ।

यसैगरी अर्को खेलमा इल्चेलाई जिताउन लुकास पेरेज नायक बन्नुभयो । लुकासले ६९औं मिनेटमा जोहन मोजिकाको पासमा गोल गर्नुभएको थियो । खेलमा ५६ प्रतिशत बल पोसेसन राखेको गेटाफेले गोल फर्काउन सकेन । इल्चेका जोहन मोजिका ‘म्यान अफ दी म्याच’ हुनुभयो ।

जितसँगै चार खेलबाट पाँच अंक बनाएको इल्चे १०औं स्थानमा छ । पराजित गेटाफे अंकविहीन बन्दै १९औं स्थानमा छ । लिगको शीर्षस्थानमा रहेको रियल म्याड्रिडको १० अंक छ । रियलसँगै समान १० अंक बनाएको भ्यालेन्सिया र एट्लेटिको म्याड्रिड गोलअन्तरका आधारमा क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।


Top