वेस्ट इन्डिजका ओपनर चन्द्रपाउलले विराटनगरबाट खेल्ने

हिमालय टाइम्स   POSTED ON : भदौ ३०, २०७८ (७:४७ AM)

वेस्ट इन्डिजका ओपनर चन्द्रपाउलले विराटनगरबाट खेल्ने

काठमाडौं । वेस्ट इन्डिजका ओपनर चन्द्रपाउल हेमराजले चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) विराटनगर वारियर्सबाट खेल्ने हुनुभएको छ । विराटनगरले तेस्रो विदेशी खेलाडीका रूपमा २८ वर्षीय ओपनर चन्द्रपाउलसँग अनुबन्ध गरेको हो ।

चन्द्रपाउलले वेस्ट इन्डिजबाट ६ ओडीआई, ३१ प्रथम श्रेणी, ४० लिस्ट ए र ३० टी-२० खेल खेल्नुभएको छ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा उहाँले गुयाना एमेजन वारियर्सबाट खेल्दै बार्बाडोस रोयल्सविरुद्ध ५६ बलमा १४ चौका र पाँच छक्कासहित १०५ रनको शतकीय इनिङ खेल्नुभएको थियो ।

यसअघि विराटनगरले विदेशी खेलाडीका रूपमा जिम्बाबेका अलराउन्डर सिकन्दर राजा र क्यानडाका तीव्रगतिका बलर रयानखान पठानलाई अनुबन्ध गरिसकेको छ । ईपीएल असोज ९ देखि २३ सम्म टीयू मैदानमा हुँदैछ । फ्रेन्चाइज टोलीले तीव्ररूपमा तयारी अगाडि बढाएका छन् । २०१७ अर्थात् दोस्रो संस्करणको उपाधि विराटनगर वारियर्सले जितेको थियो ।

विराटनगरले फाइनलमा भैरहवा ग्ल्याडियटर्सलाई एक रनले हराउँदै उपाधि जितेको थियो । विराटनगरमा सौरभ खनाल, अनिल खरेल, सुमित महर्जन, करण केसी, हरि चौहान, अनिलकुमार शाह, आसिफ शेख, वसन्त रेग्मी, प्रतिश जिसी, सोनु देवकोटालगायतका खेलाडी हुनुहुन्छ । 

यस्तै सिंगापुरका तीव्रगतिका बलिङ अलराउन्डर जनक प्रकाशलाई काठमाडौं किंग्स–११ ले अनुबन्ध गरेको छ । २१ वर्षीय युवा स्टार अलराउन्डर प्रकाशले १५ टी-२० अन्तर्राष्ट्रिय खेल खेल्नुभएको छ । प्रकाशले नेपालविरुद्ध पनि दुई टी-२० खेल खेल्नुभएको छ । उहाँले सिंगापुरको यू-१९ टोलीको कप्तानीसमेत गरिसक्नुभएको छ ।

काठमाडौं किंग्स-११ ले पहिलो विदेशी खेलाडीका रूपमा पाकिस्तानका पूर्वस्टार अलराउन्डर शाहिद अफ्रिदीलाई अनुबन्ध गरेको थियो । त्यसबाहेक काठमाडौंमा सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, जितेन्द्रकुमार मुखिया, अमित श्रेष्ठ, राजु रिजाल, मोहम्मदसांसद शेख, अमर सिंह राउटेला, सुवास खकुरेल, आकाश चन्द, अमृत भट्टराई, शेर मल्ल, सागर पुन, दीपेन्द्र रावत, गुल्शन झा र सिद्धान्त लोहनी रहनुभएको छ ।


Top