बागमतीले प्रशिक्षकलाई प्रशिक्षण दिने

हिमालय टाइम्स   POSTED ON : आश्विन ८, २०७८ (७:१३ AM)

बागमतीले प्रशिक्षकलाई प्रशिक्षण दिने

 काठमाडौं । बागमती प्रदेश खेलकुद विकास परिषद्ले विभिन्न चार खेलको प्रशिक्षक प्रशिक्षण कार्यक्रमका लागि सहयोग गर्ने भएको छ । ब्याडमिन्टन, एथलेटिक्स, रग्बी र आईटीएफ तेक्वान्दोको प्रशिक्षक प्रशिक्षण सञ्चालन गर्न परिषद्ले सहयोग गर्ने भएको हो ।

सो सम्बन्धी सम्झौतापत्रमा परिषद् र सम्बन्धित खेलका राष्ट्रिय संघबीच बुधबार हस्ताक्षर भयो । परिषद्का सदस्य-सचिव सूर्यलाल भण्डारी, ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, एथलेटिक्सका मुख्य प्रशिक्षक चन्द्र गुरुङ, रग्बी संघका अध्यक्ष टंकलाल घिसिङ र आईटीएफका अध्यक्ष अञ्जन धमलाले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

ब्याडमिन्टनको कात्तिक ५ देखि ६ गतेसम्म तथा एथलेटिक्सको असोज ९ देखि १३ गतेसम्म काठमाडौंमा प्रशिक्षण हुनेछ । चितवनमा असोज १९ र २० गते रग्बी तथा रामेछापमा असोज १६ र १७ गते प्रशिक्षण हुने भएको छ । चारै खेलको प्रशिक्षणका लागि परिषद्ले २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

सदस्य-सचिव भण्डारीले दक्ष खेलाडी उत्पादन गर्न दक्ष जनशक्ति आवश्यक हुने भएकाले प्रशिक्षण कार्यक्रममा जोड दिइएको बताउँदै प्रतियोगिता र पूर्वाधारसँगै प्रशिक्षकको स्तरवृद्धिमा पनि उत्तिकै ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले आगामी दिनमा आवश्यकताअनुसार कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै राष्ट्रिय खेल संघलाई जिम्मेवार बनाउन संघसँग सहकार्य गरेर कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

रग्बी अध्यक्ष घिसिङले प्रशिक्षक उत्पादनका साथै उनीहरूको स्तरवृद्धि गर्न कार्यक्रम महŒवपूर्ण साबित हुने विश्वास व्यक्त गर्दै सहकार्यका लागि परिषद्लाई धन्यवाद दिनुभयो । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सुभास श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।


Top