ईपीएल खेल्न काठमाडौंमा शाहिद अफ्रिदी

हिमालय टाइम्स   POSTED ON : आश्विन ८, २०७८ (७:१८ AM)

ईपीएल खेल्न काठमाडौंमा शाहिद अफ्रिदी

काठमाडौं । विश्व क्रिकेटका महान् हस्ती तथा पाकिस्तानका पूर्वस्टार अलराउन्डर शाहिद अफ्रिदी काठमाडौं आइपुग्नुभएको छ । शनिबारबाट हुने चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा सहभागिताका लागि पाकिस्तानी पूर्वकप्तान अफ्रिदी काठमाडौं आइपुग्नुभएको हो ।

प्रतियोगिताको टोली काठमाडौं किंग्स इलाभेनमा अनुबन्ध हुनुभएका अफ्रिदी बिहीबार अपराहृन ३ बजे त्रिभुवन विमानस्थलमा ओर्लिनुभएको थियो । उहाँलाई क्लबका पदाधिकारीहरूले स्वागत गर्नुभएको थियो । होटल सोल्टीमा उहाँको बसोबासको व्यवस्थापन गरिएको छ ।

होटलमा नै काठमाडौंले शुक्रबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै अफ्रिदीसँग साक्षात्कार गराउनेछ । ४१ वर्षीय अफ्रिदीले दुई खेल खेल्नुहुनेछ । अफ्रिदीले ललितपुर प्याट्रियट्ससँगको उद्घाटन खेल र विराटनगर वारियर्ससँगको खेलमा सहभागिता जनाउने कार्यक्रम छ । उद्घाटन खेल शनिबार सबा १२ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । दोस्रो खेल सोमबार साढे ९ बजे हुनेछ ।

शुक्रबार अपराहृन राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवासमा भेटवार्ता गर्नेसमेत उहाँको कार्यक्रम छ । भेटका क्रममा राष्ट्रपति भण्डारीले प्रतियोगिताका लागि शुभकामना दिने कार्यक्रम रहेको छ । ईपीएल आयोजकसँगै सहभागी टोलीले पनि राष्ट्रपतिसँग भेट गर्ने तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

पाँच दिन काठमाडौंमा रहने अफ्रिदीले माउन्टेन फ्लाइटसमेत गर्नुहुनेछ । यस्तै अफ्रिदीले २६ सेप्टेम्बरमा माउन्टेन फ्लाइटदेखि दराज, शिवम् सिमेन्ट र बजाज पल्सरका विभिन्न कार्यक्रममा उपस्थित भई २७ सेप्टेम्बरमा पाकिस्तान फर्कने कार्यक्रम छ । 

अफ्रिदी ठूला सर्ट र स्पिन बलिङका लागि विश्व क्रिकेटमा चर्चित हुनुहुन्छ । अफ्रिदीले पाकिस्तानबाट २७ टेस्ट, ३९८ ओडीआई, ९९ टी-२० अन्तर्राष्ट्रिय र ३२६ टी-२० खेल खेल्नुभएको छ । सन् २००६ मा इंग्ल्यान्डविरुद्ध डेब्यु गर्नुभएका अफ्रिदीले टी-२० मा एक हजार ४१६ रन बनाउँदा ९८ विकेट लिनुभएको छ ।  

ओडीआईमा उहाँले १९९६ मा श्रीलंकाविरुद्ध ३७ बलमा शतक प्रहार गर्नुभएको थियो । सो क्रममा १६ वर्ष २१७ दिनका दिन शतक प्रहार गर्दै ओडीआईमा शतक प्रहार गर्ने उहाँ कान्छो खेलाडी बन्नुभएको थियो ।

यस्तै ईपीएलमा सहभागिता जनाउन अफगानिस्ताका विस्फोटक ब्याट्सम्यान मोहम्मद शाहजाद पनि काठमाडौं आइपुग्नुभएको छ । उहाँसँगै मध्यगतिका बलिङ अलराउन्डर करिम जनात पनि काठमाडौं ओर्लिनुभएको हो । दुवैजनाले चितवन टाइगर्सबाट ईपीएल खेल्नुहुनेछ ।

अफगानिस्तानले अर्को महिना संयुक्त अरब इमिरेट्स (यूएई) र ओमानमा हुने टी-२० विश्वकप खेल्न लागेको छ । उक्त टोलीमा यी दुवै खेलाडी हुनुहुन्छ । शाहजादले विस्फोटक ब्याटिङ गर्नुहुन्छ । उहाँले दुई टेस्टमा ६९, ८४ ओडीआईमा ६ शतक र १४ अर्ध शतकसहित कुल दुई हजार ७२७ तथा ६५ टी-ट्वान्टीमा एक शतकसहित एक हजार ९३६ रन बनाउनुभएको छ ।

यस्तै, २३ वर्षीय करिमले अफगानिस्तानबाट एक ओडीआई र २७ टी–२० आई खेल खेल्नुभएको छ । यस्तै, चितवनका अर्का विदेशी खेलाडी शेकुगे प्रसन्न यसअघि नै नेपाल आइसक्नुभएको छ । त्यसबाहेक मलेसिया स्टार ब्याट्सम्यान विरनदीप सिंहसमेत एक दुई दिनमा आइपुग्ने चितवनले जनाएको छ ।

चितवन टाइगर्स टोलीमा सोमपाल कामी (कप्तान) सँगै कमलसिंह ऐरी, शाहब आलम, इशान पाण्डे, दिलिप नाथ, सागर ढकाल, राजेश पुलामी मगर, हासिम अन्सारी, भीम सार्की, खडकबहादुर बोहरा, सन्दीप सुनार, देव खनाल, क्रिजन गुरुङ, गौतम केसी, शेकुगे प्रसन्न (श्रीलंका), मोहम्मद शाहजाद (अफगानिस्तान), करिम जन्नत (अफगानिस्तान) र वीरनदीप सिंह (मलेसिया) रहनुभएको छ ।

यस्तै, पोखरा राइनोज टोलीमा अनुबन्ध हुनुभएका दक्षिण अफ्रिकाका रिचर्ड लेभी पनि नेपाल आइपुग्नुभएको छ । लेभीले दोस्रो सिजन पोखराबाट खेल्न लाग्नुभएको हो । चौथो संस्करणको ईपीएल क्रिकेट शनिबारबाट टीयू क्रिकेट मैदानमा सुरु हुनेछ । उद्घाटनमा साबिक विजेता ललितपुर प्याट्रीयट्सले काठमाडौं किङ्स–११ विरुद्ध खेल्नेछ ।

दक्षिण अफ्रिकाबाट टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलिसक्नुभएका लेभीले इन्डियन प्रिमियर लिगसमेत खेलिसक्नुभएको छ । लेभीले दक्षिण अफ्रिकाबाट १३ टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेल्नुभएको छ । उहाँले मुम्बई इन्डियन्सबाट आईपीएल खेल्नुभएको थियो ।

Top