घिमिरे जापानको सुपर फाइटमा भिड्दै

हिमालय टाइम्स   POSTED ON : आश्विन ९, २०७८ (७:४१ AM)

घिमिरे जापानको सुपर फाइटमा भिड्दै

काठमाडौं । अन्तर्राष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले ‘के वान सुपर वेल्टरवेट सुपर फाइट’ प्रतियोगितामा भिड्ने हुनुभएको छ । यही असोज ३१ आइतबार जापानको नागोया सहरस्थित नागोया कंग्रेस सेन्टर इभेन्ट हलमा आयोजना हुने सो प्रतियोगितामा उहाँ जापानका व्यावसायिक किक बक्सर फुजिमुरासँग रिङ्मा उत्रँदैछन् । फुजिमुरा पनि के वान के बक्सिङ प्रतिस्पर्धामा भिडन्त गरिसकेका अनुभवी खेलाडी हुनुहुन्छ ।

सामाजिक सञ्चालमा के वान क्लबले ‘के वान सुपर वेल्टरवेट सुपर फाइट’ प्रतियोगितामा बक्सरद्वय अविरल र फुजीमुरा बीचमा भिडन्त हुने जनाएको छ । ‘हिमालयन चितुवा उपाधि’ले विश्व प्रसिद्ध अविरलले गत चैतमा जापानको टोकियो शहरमा सम्पन्न ‘के वान फेस्टिभल २०२१’ प्रतियोगिताको उपाधि चुम्ने कम उमेरका पहिलो नेपाली बक्सर बन्ने सौभाग्य प्राप्त गर्नुभएको थियो । उहाँले जापानी व्यावसायिक बक्सर खोतेचुलाई पहिलो राउण्डमै ढालेर नयाँ इतिहास कायम गर्नुभएको थियो । 

यसैगरी अविरलले गतवर्ष नै ‘प्रोफेसनल किक बक्सिङ हिट ४८’मा जापानी खेलाडी योसिदा यइजीमाथि सहज जित हात पार्नुभएको थियो । अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी एवं प्रशिक्षक देवकुमार घिमिरेका सुपुत्र अविरलले कोरोना कहरमा बीचमा सो प्रतियागिताका लागि पिताकै विशेष प्रशिक्षणमा तयारी थाल्नुभएको जनाइएको छ ।

उहाँले सामाजिक सञ्जालमार्फत प्रतियोगिताको आवश्यक तयारी सुरुवात भएको जनाउनुभएको छ । प्रशिक्षक देवले पनि सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘युवा बक्सर अविरलले पछिल्लो समय बक्सिङमा नयाँ उचाइ हासिल गर्नुभएको छ । के वान सुपर वेल्टरवेट सुपर फाइट’ चुम्नेमा म विश्वस्त छु । यो प्रतियोगितमा छनोट हुुनु आफैंमा प्रतिष्ठाको विषय हो ।’ के वान बक्सिङ प्रतियोगितामा विश्वका चर्चित बक्सरलाई मात्र रिङभित्र उतारिने गरिन्छ । रोमाञ्जकारी भिडन्त हेर्ने अग्रिम टिकट लिनुपर्छ ।

सानो उमेरमा बक्सिङमा ऐतिहासिक सफलता हात पार्दै आउनुभएका अविरल नेपालको तर्फबाट कम उमेरमा सो प्रतियोगितामा भाग लिने पहिलो ‘बक्सर’ समेत हुनुभएको थियो । एक्काइस वर्षीय उहाँले बाज्रिलियन खेलाडी फिलिपसँग सो प्रतियोगितामा प्राविधिक कारणले मात्र पराजित हुनुपरेको थियो । चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारा निवासी उहाँहरू विगत पाँच वर्षदेखि जापानको नागोया सहरमा बस्दै आउनुभएको छ ।

पछिल्लो समय उहाँले कम उमेरमा अन्तर्राष्ट्रिय किक बक्सिङ प्रतियोगितामा खेल्ने पहिलो नेपाली युवा बन्ने सौभाग्यसमेत पाउनुभएको छ । केवानका बक्सिङ प्रतियोगितालाई जापानसहित अन्तर्राष्ट्रिय खेल क्षेत्रले उच्च महत्वका साथ हेर्ने बताइएको छ ।

Top