पलेशालाई खेलाडी संघको सम्मान

हिमालय टाइम्स   POSTED ON : आश्विन ९, २०७८ (७:४४ AM)

पलेशालाई खेलाडी संघको सम्मान

काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले टोकियो पारालिम्पिक गेम्समा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई बिहीबार नगदसहित सम्मान गरेको छ । 

खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, महासचिव शिवसुन्दर गोथेलगायतले पलेशालाई नगद दश हजार रुपैयाँ र प्रशंसा पत्र प्रदान गरी सम्मान गर्नुभयो । सोही अवसरमा टोलीका प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक दीपक विष्टलाई पनि प्रशंसा पत्रबाट सम्मान गरिएको थियो ।

पारालिम्पिकमा नेपालबाट सहभागी एकमात्र खेलाडी पलेशाले रिपाचेजमा दुई खेल जित्दै कास्य पदकनजिक पुग्नुभएको थियो । रिपाचेजको पहिलो खेलमा अमेरिका र दोस्रोमा सर्बियाकी खेलाडीलाई हराएकी पलेशा फाइनलमा चीनकी खेलाडीसँग चुक्नुभएको थियो । त्यसअघि मुख्य ‘ड्र’को पहिलो खेलमा पलेशा बेलायतकी खेलाडीसँग पराजित भएकी हुनुभएको थियो । पारालिम्पिकको प्रदर्शनपछि पलेशा विश्व वरीयताको पाँचौं स्थानमा उक्लिनुभएको थियो । त्यसअघि पलेशा वरीयताको १३औं स्थानमा हुनुहुन्थ्यो ।

Top