फ्रेन्ड्सलाई युक्यानको साथ

हिमालय टाइम्स   POSTED ON : आश्विन ९, २०७८ (७:४६ AM)

फ्रेन्ड्सलाई युक्यानको साथ

काठमाडौं । ललितपुरको ‘ए’ डिभिजन टोली फ्रेन्ड्स क्लबलाई कुपण्डोलले जर्सी उत्पादक कम्पनी युक्यानले प्रयोजन सहयोग गरेको छ । फ्रेन्ड्स र युक्यानबीच बिहीबार एक वर्षको लागि सम्झौता भएको हो ।

सम्झौतामा फ्रेन्ड्स क्लबका अध्यक्ष दीपक थापा र युक्यान ब्रान्डको आधिकारिक बिक्रेता सिटिएल कम्पनीका निर्देशक राजेन महर्जनले हस्ताक्षर गर्दै आदान–प्रदान गर्नुभयो । सम्झौतापछि फ्रेन्ड्सले नयाँ सिजनमा लगाउने जर्सी पनि सार्वजनिक गरिएको थियो । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, उपाध्यक्ष उपेन्द्रमान सिंह, क्लबका अध्यक्ष दीपक थापा, युक्यानका राजेन महर्जन र क्लबका कप्तान प्रकाश बुढाथोकीले जर्सीसार्वजनिक गर्नुभएको थियो ।

युक्यानका राजेन महर्जनले फुटबल व्यावसायिक होस् भन्ने चाहनाका साथ फ्रेन्ड्ससँग जोडिएको बताउनुभयो । उहाँले आगामी दिनमा सहकार्य बढ्दै जाने बताउनुभयो । फ्रेन्ड्स क्लबका अध्यक्ष दीपक थापाले युक्यानको साथले टोलीमा मनोवल थप बढेको र केही दिनमै टिमसँगै मुख्य प्रायोजक र प्रायोजकसँग सम्झौताको कार्यक्रम राखिने बताउनुभयो ।

एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले निजी कम्पनी युक्यानसँगै अन्य अन्य कम्पनी फुटबलमा जोडिनु शुभ संकेत रहेको बताउनुभयो । अध्यक्ष शेर्पाले टोलीलाई सफलताको शुभकामना दिँदै कोभिडपछि फुटबल तग्रिने प्रयासमा रहेको बताउनुभयो ।

यस वर्षको शहीद स्मारक ‘ए’ डिभिजन लिग २९ कात्तिकदेखि सुरु हुँदैछ । त्यसका लागि फ्रेन्ड्सले टोली निर्माण गरिरहेको छ । प्रकाश बुढाथोकी लामो समयपछि क्लबमा फर्किनु भएको छ । सुशील लामा पनि फ्रेन्ड्समा अनुबन्ध भइसक्नु भएको छ । भारतीय आइ लिग खेल्नुभएका विदेशी खेलाडी भित्र्याउने तयारी भइरहेको क्लबले जनाएको छ ।


Top