सुदूरपश्चिम प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधी डोटीलाई

गोविन्द बीसी   POSTED ON : आश्विन २४, २०७८ (९:२२ AM)

सुदूरपश्चिम प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधी डोटीलाई

टीकापुर । सुदूरपश्चिम प्रदेशको धनगढीमा जारी प्रथम प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधी डोटीले जितेको छ । धनगढीस्थित रंगशालामा शनिबार भएको फाइनल खेलमा डडेल्धुरालाई ३–० को सोझो सेटमा पराजित गर्दै डोटीले उपाधी चुमेको हो ।

पहिलो म्याच २५/२२ ले जितेको डोटीले दोश्रो म्याच सजिलै २५/१३ ले जितेको थियो । त्यस्तै अन्तिम म्याच १७/१७ को बराबरी पछि पनि डडेल्धुरा लयमा नफर्कदा डोटीले २५/२१ सजिलै उपाधी माथी कब्जा जमाउन सफल रह्यो ।

उपाधिसंगै डोटीले नगद १ लाख रुपैयाँ र ट्रफी प्राप्त गरेको छ । त्यस्तै प्रतियोगिताको उपविजेता बनेको डडेल्धुराले नगद ५० हजार रुपैयाँ र ट्रफीमा चित्त बुझाएको छ । प्रतियोगिताको सेमिफाइनलसम्म पुग्ने दुई टीम कैलाली र कंचनपुरले पच्चिस÷पच्चिस हजार नगद सहित ट्रफी प्राप्त गरेका छन् ।

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि सामाजिक बिकास मन्त्री लालबहादुर खड्काले बिजयी टिमलाई पुरस्कार तथा ट्रफी वितरण गर्नुभएको थियो । प्रतियोगिता यहि असोज २० गतेदेखि २३ गतेसम्म धनगढीस्थित रंगशालामा भएको थियो ।


Top