भलिबलको उपाधि डोटीलाई

हिमालय टाइम्स   POSTED ON : आश्विन २५, २०७८ (७:२२ AM)

भलिबलको उपाधि डोटीलाई

धनगढी । धनगढीमा आयोजना गरिएको प्रथम प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि डोटीले जितेको छ । फाइनलमा डडेल्धुरालाई ३-० को सोझो सेटले पराजित गर्दै डोटीले उपाधि जितेको हो । पहिलो सेट २५-२२ ले जितेको डोटीले दोस्रो सेट सजिलै २५-१३ ले जित्यो । त्यस्तै तेस्रो सेटमा १७-१७ को बराबरीपछि पनि डडेल्धुरा लयमा नफर्कंदा डोटीले २५-२१ ले जित्दै च्याम्पियन भएको हो ।

उपाधिसँगै डोटीले नगद एक लाखसहित ट्रफी पाएको छ भने डडेल्धुराले नगद ५० हजार रुपैयाँसहित ट्रफीमा चित्त बुझाएको छ । यस्तै प्रतियोगिताको सेमिफाइनलसम्म पुग्ने दुई टिम कैलाली र कञ्चनपुरले २५/२५ हजार नगदसहित ट्रफी पाएका छन् । विभिन्न पाँचवटा विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार दिइएको छ ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडी डोटीका प्रशान्त साहु हुनुभयो । त्यसैगरी कञ्चनपुरका सन्तोष महता उत्कृष्ट ब्लकर, कैलालीका महेश खत्री उत्कृष्ट लिफ्टर, डडेल्धुराका वीरबहादुर विक उत्कृष्ट स्पाइकर र डोटीका प्रशिक्षक अनिल जोशी उत्कृष्ट प्रशिक्षक हुनुभयो ।

प्रतियोगिताका विजयी खेलाडीहरूलाई एक समारोहबीच पुरस्कार वितरण गरिएको थियो । प्रतियोगिताको समापन समारोहका सभापति परिषद्का सदस्य-सचिव दीपकबहादुर सिंह रहनुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम सरकारका सामाजिक विकासमन्त्री लालबहादुर खड्का र विशिष्ट अतिथि आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी रहनुभएको थियो ।

सुदूरपश्चिम खेलकुद परिषद्को वार्षिक कार्यक्रमअनुसार भएको प्रतियोगितामा प्रदेशका नौवटै जिल्लाका टिमहरूको सहभागिता रहेको थियो । सुदूरपश्चिममै पहिलोपटक म्याटमा प्रतियोगिता सञ्चालन भएको हो । प्रतियोगिताबाट उत्कृष्ट खेलाडीहरूलाई समेटेर सुदूरपश्चिम प्रदेशको भलिबल टिम बनाइने भएको छ । ती खेलाडीहरूलाई प्रशिक्षणको व्यवस्था गरी प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता जनाइने सुदूरपश्चिम खेलकुद परिषद्ले जनाएको छ ।

Top