स्पेनलाई पराजित गर्दै फ्रान्स च्याम्पियन

एजेन्सी   POSTED ON : आश्विन २६, २०७८ (७:५४ AM)

स्पेनलाई पराजित गर्दै फ्रान्स च्याम्पियन

लण्डन । स्पेनमाथि पुनरागमन जित निकाल्दै विश्व विजेता फ्रान्स युइएफए नेसन्स लिग च्याम्पियन बनेको छ । फ्रान्सले स्पेनमाथि २–१ को जित निकाल्दै उपाधि उचालेको हो । फ्रान्सका लागि करिम बेन्जेमा र केलियन एमबाप्पेले गोल गर्नुभयो । स्पेनका मिकेल ओयरजावालको गोल सान्त्वना बन्यो ।

सोही मिनेटमा कप्तान सर्जियो बुस्क्वेट्सको पासमा मिकेल ओयरजावालले गोल गर्दै स्पेनलाई १-० को अग्रता दिलाउनुभयो । तर, स्पेनको अग्रता दुई मिनेट पनि टिकेन । ६६औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याउनुभयो । बेन्जेमाले एमबाप्पेको पासमा गोल गर्न सफल हुनुभयो । ८०औं मिनेटमा एमबाप्पेले थियो हर्नान्डेजको पासमा गोल गर्दै फ्रान्सलाई २-१ को जित दिलाउनुभयो ।

गत जुन-जुलाईमा सम्पन्न युरोकपमा कमजोर प्रदर्शन गरेको फ्रान्सले प्रशिक्षक डिडियर डेसच्याम्पको नेतृत्वमा दोस्रो उपाधि जित्न सफल भएको होे । यसअघि फ्रान्सले २०१८ मा विश्वकपको उपाधि जितेको थियो ।

त्यसअघि आइतबार राति नै भएको खेलमा बेल्जियमलाई २-१ पराजित गर्दै इटालीले तेस्रो स्थान हासिल गरेको छ । इटालीको जितमा निकोलो बरेल्ला र डोमिनिको बेरारडीले गोल गर्नुभयो । बेल्जियमका चार्लेस डि केटलारेले एक गोल फर्काउनुभयो ।

यता फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलको जित यात्रामा पूर्णविराम लागेको छ । छनोटमा कोलम्बियासँग गोलरहित बराबरी खेलेपछि ब्राजिलको जित यात्रामा पूर्णविराम लागेको हो । यद्यपि ब्राजिल छनोटमा अपराजित रहन सफल भएको छ । यसअघि ब्राजिलले लगातार नवौं खेलसम्म जित निकाल्न सफल भएको थियो ।

अर्काे खेलमा भेनेजुएलाले इक्वेडरमाथि २-१ को पुनरागमन जित निकालेको छ । भेनेजुएलाको जितमा डार्विन माचिस र इडुआर्ड बेलोले गोल गर्दा इक्वेडरका इनर भ्यालेन्सियाको गोल सान्त्वना बन्यो । यो जितसँगै भेनेजुएला ११ खेलबाट सात अंक जोडेर पुछारमा यथावत् रहेको छ । इक्वेडर १६ अंक जोडेर तेस्रो स्थानमा यथावत् रहेको छ ।

Top