एसियाली छनोट खेलका महिला टोलीको तयारी सुरु

हिमालय टाइम्स   POSTED ON : कार्तिक ४, २०७८ (६:२० AM)

एसियाली छनोट खेलका महिला टोलीको तयारी सुरु

काठमाडौं । आइसिसी महिला ट्वान्टी-२० विश्वकपको एसियाली छनोट खेलका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले बुधबारबाट अभ्यास थालेको छ । २४ खेलाडीलाई समावेश गरी मुख्य प्रशिक्षक जगत टमाटाले टोलीलाई अभ्यास सुरु गर्नुभएको हो । नोभेम्बर महिनामा युएईमा आयोजना हुने एसियाली छनोट खेलबाट नेपाली टोली अघिल्लो चरण पुग्ने लक्ष्यका साथ तयारी थालेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले घोषणा गरेका २४ खेलाडीलाई समावेश गरेर मुख्य प्रशिक्षक जगत टमाटाले युएईमा हुने छनोट प्रतियोगिताको अभ्यास आरम्भ गर्नुभएको छ । कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा थालनी गरिएको अभ्यासमा पहिलो दिन टोलीले फिटनेसका लागि विशेष ध्यान दिएको छ । विभिन्न तीन क्षेत्रमा गरिएको छनोटपश्चात् अभ्यास काठमाडौंमा केन्द्रित बनेको छ । घोषणा भएका २४ खेलाडी उत्साहित भएको र लामो समयदेखि क्रिकेट खेलिरहेका खेलाडीमा आफ्नो देशलाई विश्वकपसम्म पु¥याउने लक्ष्यका साथ मिहिनेत गर्न खेलाडी आतुर रहेका मुख्य प्रशिक्षक जगत टमाटाले बताउनुभयो । 

पुरुष क्रिकेटको तुलनामा कमैमात्र आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा महिला टोलीको अनुभव कम नै रहेको छ । घरेलु क्रिकेट प्रतियोगितामा सीमित भएका खेलाडीमा विगतमा फिटनेसको समस्या पनि हुने गरेको थियो । खेलाडीले फिटनेसका लागि व्यक्तिगत तरिकाले मिहिनेत गरिरहेका थिए । यद्यपि प्रतियोगितामा राम्रो प्रदर्शन गर्न फिटनेसलाई ध्यान दिएर तयारी थाल्दा अभ्यास सार्थक हुने प्रशिक्षक टमाटाले विश्वास लिनुभएको छ । 

एसियाली छनोटमा आठ टोली भए पनि अन्तिम समयमा चीनले सहभागिता जनाउने छैन । चीनबाहेक मलेसिया, भुटान, हङकङ, कुवेत, म्यानमार, युएई र नेपालले छनोटमा प्रतिस्पर्धा गर्दैछन् । छनोट खेल नेपाली टोलीका लागि ठूलो अवसर भएको खेलाडीले बताएका छन् । टोलीमा अहिले युवा र अनुभवी खेलाडीको संयोजन रहेको छ । नयाँ खेलाडीको आगमन र देशलाई विश्वकपसम्म पु¥याउने पाका खेलाडीको आकांक्षा गर्दा टोलीले कडा मिहिनेत गर्नेछ । त्यसो त प्रतियोगितामा सहभागी भएका टोलीसँग यसअघि नेपालले प्रतिस्पर्धा गरेर सुखद नतिजा पनि निकालेको छ । नतिजा निकाल्दै अनुभव लिइसकेकाले अघिल्लो चरण पुग्नका लागि नेपाललाई मौका हुनेछ । नयाँ र पुराना पाका खेलाडीको संयोजन भएकाले टोलीले छनोट हुने लक्ष्य लिएको छ । त्यसमा खेलाडी पनि छनोट हुनेमा आशावादी छन् ।

क्यानले छनोट खेलअघि केही अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि प्रबन्ध मिलाउने आश्वासन पनि दिएको छ । दुई वर्षदेखि अन्तर्राष्ट्रिय खेलमा सहभागी हुन नपाएको नेपाली महिला क्रिकेट टोली पनि केही अन्तर्राष्ट्रिय म्याच आयोजना भएको अवस्थामा छनोट खेलअघि कमीकमजोरी थाहा पाउने र सोही कमीकमजोरीलाई सुधार गर्दै छनोट खेल खेल्ने अपेक्षा राखेको छ । 


Top