सुवासको ब्याटिङमा कर्णालीको सानदार जित

हिमालय टाइम्स   POSTED ON : मंसिर ९, २०७८ (७:२१ AM)

सुवासको ब्याटिङमा कर्णालीको सानदार जित

काठमाडौं । सुवास ऐरले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेपछि काठमाडौंमा जारी वाई–वाई यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले लुम्बिनी प्रदेशमाथि १४० रनको सानदार जित हात पारेको छ । कर्णालीले दिएको २३३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २३.५ ओभरमा सबै विकेट गुमाएर ९२ रनमात्रै बनाउन सक्यो । लुम्बिनीका लागि प्रज्वल थापाले २८, दुर्गेश गुप्ताले २० तथा आकाश त्रिपाठीले १५ रन जोड्नुभयो ।

लुम्बिनीलाई सस्तैमा समेट्नेक्रममा कर्णालीका प्रकाश जैशीले सर्वाधिक नौ ओभरमा ४३ रन खर्चेर पाँच विकेट लिनुभयो । त्यसबाहेक युनिश सिंहले तीन तथा अनुज चनाराले दुई विकेट लिनुभयो ।

यसअघि पहिले ब्याटिङ गर्ने निर्णय गरेको कर्णाली प्रदेशले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २३२ रन जोडेको थियो । कर्णालीका लागि सुवास ऐरले ७६ रनको सानदार इनिङ्स खेल्नुभयो । ९० बलको सामना गर्नुभएको उहाँले नौ चौका र तीन छक्का प्रहार गर्नुभयो ।

त्यसबाहेक कप्तान निश्चल रावलले ९९ बलमा ४४ रन जोड्नेक्रममा पाँच चौका प्रहार गर्नुभयो । सुवास र निश्चलले तेस्रो विकेटका लागि १२२ रनको साझेदारी गर्नुभएको थियो । त्यसबाहेक कर्णालीका विपिन रावलले ३२ र प्रकाश जैशीले २५ रनको योगदान गर्नुभयो । लुम्बिनीका लागि दुर्गेश गुप्ताले सर्वाधिक चार विकेट लिनुभयो ।

यस्तै मूलपानी क्रिकेट मैदानमा बुधबार भएको अर्को खेलमा बागमतीले गण्डकी प्रदेशलाई ७५ रनले पराजित गर्‍यो । २१४ रनको लक्ष्य पछ्याएको गण्डकी ४३.३ ओभरमा सबै विकेट गुमाएर १३८ बनायो ।

गण्डकीका लागि अर्जुन कुमालले सर्वाधिक ५५ रन जोड्नुभयो । बागमतीका प्रतिश जिसी र तिलकबहादुर भण्डारीले समान तीन÷तीन विकेट हात पार्नुभएको थियो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बागमती ४८ दशमलब पाँच ओभरमा अलआउट हुँदै २१३ रन जोडेको थियो । बागमतीका लागि विवेक राना मगरले सर्वाधिक ८९ बनाउनुभएको थियो भने प्रतिश जिसीले २२ तथा प्रतिक श्रेष्ठले १७ रन जोड्नुभयो । गण्डकीका तर्फबाट सुदिप अर्याल, कमल परियार र अभिषेक थापाले समान तीन÷तीन विकेट लिनुभयो ।

Top