बायर्नको जित, बार्सिलोनाको बराबरी

एजेन्सी   POSTED ON : मंसिर ९, २०७८ (७:२४ AM)

बायर्नको जित, बार्सिलोनाको बराबरी

लण्डन । च्याम्पियन्स लिगमा स्पेनिस क्लब बार्सिलोना घरेलु मैदानमा पोर्चुगिज क्लब बेन्फिकासँग गोलरहित बराबरीमा रोकिएको छ । क्याम्प नोउमा मंगलबार राति भएको खेलमा पटक–पटक गरेका प्रहारहरू सफल हुन नसक्दा बार्सिलोना बराबरीमा रोकिएको हो ।

बराबरीपछि यो समूहबाट च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्ने दोस्रो टोलीको टुंगो समूह चरणको अन्तिम खेलबाट नै लाग्ने भएको छ । बार्सिलोना र बेन्फिकाको नै दोस्रो टोलीका रूपमा नकआउट चरण पुग्ने सम्भावना रहेको छ । समूह चरणको अन्तिम खेलमा बार्सिलोनाले बायर्न म्युनिखसँग तथा बेन्फिकाले डेनामो किएभसँग खेल्दैछ ।

अर्को खेलमा नकआउट चरणमा स्थान पक्का गरिसकेको जर्मन क्लब बायर्न म्युनिखले डेनामो किएभलाई २-१ गोलअन्तरले पराजित गरेको छ । बायर्नको जितमा रोबर्ट लेवान्डोस्की र किङ्स कोमानले गोल गर्नुभएको थियो । घरेलु टोलीका डेनिस हरमासले एक गोल फर्काउनुभयो । यो जितपछि अपराजित बायर्नको पाँच खेलबाट १५ अंक पुगेको छ । डेनामो किएभ एक अंक जोडेर पुछारमा छ ।

यता इंग्लिस क्लब चेल्सीले इटालियन प्रतिद्वन्द्वी युभेन्ट्समाथि ४-० को सानदार जित हात पार्‍यो । चेल्सीको फराकिलो जितमा ट्रिभोअ चालोवाह, रिस जेम्स, कलुम हड्सन ओडोइ र टिमो वेर्नरले गोल गर्नुभयो । लण्डनमा मंगलबार राति भएको खेलमा घरेलु टोली चेल्सीको खेलको २५औँ मिनेटमा ट्रिभोअ चालोवाहको गोलबाट अग्रता लियो । ५५औँ मिनेटमा रिस जेम्सले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पार्नुभयो । ५८औँ मिनेटमा कलुम हड्सन ओडोइले र इन्ज्युरी समयमा टिमो वेर्नरले चौथो गोल गर्नुभयो ।

यो जितपछि समूह ‘एच’ मा चेल्सीले युभेन्ट्सलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको छ । दुवै टोलीको समान १२ अंक भए पनि हेड टु हेड र गोल अन्तरमा पराजित युभेन्ट्स दोस्रो स्थानमा छ । दुवै टोलीले यो समूहबाट नकआउट चरणमा स्थान पक्का गरिसकेको छ । यही समूहको अर्काे खेलमा माल्मो र जेनिथले एक/एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । बराबरीपछि जेनिथको चार तथा माल्मोले समूहमा पहिलो अंक जोडेको छ ।

Top