घट्यो धोनी, कोहली र म्याक्सवेलको तलब

एजेन्सी   POSTED ON : मंसिर १६, २०७८ (८:४४ AM)

घट्यो धोनी, कोहली र म्याक्सवेलको तलब

दिल्ली । इन्डियन प्रिमियर लिग (आइपिएल)मा चेन्नाई सुपर किंग्सका कप्तान महेन्द्रसिंह धोनी तथा रोयल च्यालेन्जर्स बेंगलोर विराट कोहली र ग्लेन म्याक्सेवलको तलब घट्ने भएको छ । मंगलबार सबै फ्रेन्चाइज टोलीले मेगा अक्सनअघि टोलीमा कायम रहने बढीमा चार खेलाडीको नाम र पारिश्रमिक सार्वजनिक गरेका छन् ।

सोक्रममा धोनीको पारिश्रमिक घटेर १२ करोड भारु पुगेको छ । यसअघि धोनीको पारिश्रमिक १५ करोड भारु रहेको थियो । यस्तै विराट कोहलीको तलब १५ करोडमा झरेको छ । यसअघि उहाँले १७ करोड भारु लिँदै आउनुभएको थियो ।

त्यस्तै ग्लेन म्याक्सवेललाई बेंगलोरले ११ करोड भारुमा पुनः अनुबन्ध गरेको छ । गत सिजन उहाँले १४ करोड २५ लाख भारु पाउनुभएको थियो । चेन्नाइका रविन्द्र जडेजाले १६ करोड भारु पाउनुहुनेछ । चेन्नाईकै मोइन अलीले आठ करोड र ऋतुराज गयकवाडले ६ करोड भारु पाउनुहुनेछ ।

यस्तै महँगोमा बिक्री हुने खेलाडीमा न्युजिल्यान्डका कप्तान केन विलियम्सन हुनुहुन्छ । उहाँले सनराइजर्स हैदराबादबाट १४ करोड भारु तलब पाउनुहुनेछ । कोलकाताले वेस्टइन्डिजका स्टार अलराउन्डर आन्द्रे रसेललाई १२ करोड र सुनिल नारायणलाई ६ करोड तिरेको छ ।

Top