युभेन्ट्सको जितमा डिबाला र मोराटाको जित

एजेन्सी   POSTED ON : मंसिर १६, २०७८ (८:४६ AM)

युभेन्ट्सको जितमा डिबाला र मोराटाको जित

लण्डन । पाउलो डिबाला र अल्भारो मोराटाले गोल गर्नुभएपछि इटालियन सिरी ‘ए’ मा युभेन्ट्सले सालेरनिटानामाथि २-० को जित हात पारेको छ । स्टेडिया एरेची सालेरनोमा मंगलबार राति भएको खेलको २१औँ मिनेटमा डिबालाले गोल गर्दै युभेन्ट्सलाई १-० को अग्रता दिलाउनुभयो ।

७०औँ मिनेटमा फेडरिको बर्नरडेस्चीको पासमा अल्भारो मोराटाले गोल गर्दै युभेन्ट्सलाई जित दिलाउनुभयो । जितसँगै युभेन्ट्स १५ खेलबाट २४ अंक जोडेर साँतौँ स्थानमा यथावत् रहेको छ । समान २४ अंक रहे पनि फियोरेन्टिना छैटाँै स्थानमा रहेको छ । पराजित सालेरनिटाना आठ अंक जोडेर पुछारमा रहेको छ ।

 यता स्पेनिस ला लिगाको मध्यम टोली ओसासुनाले रेलिगेसन जोगाउन प्रयासरत इल्चेसँग बराबरी खेल्दै अंक बाँडेको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा ओसासुना इल्चेसँग १–१ गोलको बराबरीमा रोकिएको हो । ओसासुनाका लागि एन्टे बुडिमिरले गोल गर्नुभयो । इल्चेका फिडेलले बराबरी गोल फर्काउनुभएको थियो ।

प्रतिस्पर्धात्मक खेलको सातौँ मिनेटमै ओसासुनाले पेनाल्टीमार्फत् सुरुवाती अग्रता लिएको थियो । डि बक्सभित्र इल्चेका फिडेलले फल गरेपछि प्राप्त पेनाल्टीलाई एन्टेले सदुपयोग गर्नुभयो । त्यसपछि इल्चेले १९औँ मिनेटमा बराबरी गोल फर्कायो । फिडेलले टेले मोरेन्टेको कर्नर पासमा हेडगोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काउनुभएको थियो । ५० प्रतिशत बल पोसेसनमा राखेको दुवै टोलीले दोस्रो हाफमा थप गोल गर्न नसक्दा बराबरीमा चित्त बुझायो । ओसासुनाका सर्जियो हेरेरा ‘म्यान अफ दी म्याच’ हुनुभयो ।

बराबरीसँगै १५ खेलबाट २० अंक बनाएको ओसासुना १०औँ स्थानमा छ । समान खेलबाट १२ अंक बनाएको इल्चे १७औँ स्थानमा छ । यही बराबरीले इल्चेले रेलिगेसन रेखा छलेको हो । लिगको शीर्ष स्थानमा रहेको रियल म्याड्रिडको १४ खेलबाट ३३ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको साबिक विजेता एट्लेटिको म्याड्रिड र तेस्रो स्थानमा रहेको रियल सोसिडाडको समान २९ अंक छ ।

यता अर्को खेलमा स्ट्राइकरद्वय करिम बेन्जेमा र भिनिसियस जुनियरले गोल गरेपछि रियल म्याड्रिडले स्पेनिस ला लिगामा पुनरागमन जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा शीर्ष टोली रियलले बलियो प्रतिद्वन्द्वी सेभियालाई २–१ गोलले हरायो ।

जितसँगै रियलको १४ खेलबाट ३३ अंक पुगेको छ । हारपछि २८ अंक बनाएको सेभिया चौथो स्थानमा झरेको छ । २९ अंक बनाएको एट्लेटिको म्याड्रिड दोस्रो स्थानमा उक्लिएको छ । आइतबार राति नै भएको खेलमा एट्लेटिकोले काडिजलाई उसैको मैदानमा ४–१ गोलले पराजित गरेको थियो । पराजित काडिज १२ अंकसहित १७औँ स्थानमा छ ।

Top