मेस्सीलाई कीर्तिमानी बालोन डिओर

एजेन्सी   POSTED ON : मंसिर १६, २०७८ (८:४८ AM)

मेस्सीलाई कीर्तिमानी बालोन डिओर

पेरिस । अर्जेन्टिना तथा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनेल मेस्सीले कीर्तिमानी सातौँपटक बालोन डिओर अवार्ड जित्नुभएको छ । यो अवार्ड वर्षको सर्वोत्कृष्ट फुटबल खेलाडीलाई दिइँदै आइएको छ ।

मेस्सीले जर्मन क्लब बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्की र चेल्सीका इटालियन मिडफिल्डर जर्गिन्होलाई पछि पार्दै अवार्डमा आफ्नो नाम लेखाउनुभएको हो । प्रशिक्षक, कप्तान र खेल पत्रकारहरूले दिएको भोटका आधारमा मेस्सीले ६१३ अंक प्राप्त गर्नुभयो । लेवान्डोस्कीले ५८० तथा जर्गिन्होले ४६० अंक प्राप्त गर्नुभएको थियो ।

शीर्ष तीनबाहेक करिम बेन्जेमा, एंगोलो कान्टे, क्रिस्टियानो रोनाल्डो, मोहम्मद सलाह, केभिन डि ब्रुएन, केलियन एमबाप्पे र जियानलुइजी डोन्नररुम्मा शीर्ष १० मा रहन सफल हुनुभयो । विश्वकै अर्का स्टार रोनाल्डो भने छैटौँ स्थानमा रहनुभयो ।

मेस्सीले राष्ट्रिय टोलीबाट आफ्नो पहिलो सिनियर उपाधिका रूपमा कोपा अमेरिका कप जित्नुभएपछि यो अवार्डको हकदार बन्नुभएको हो । उहाँ कोपामा प्लेअर अफ दी टुर्नामेन्टसमेत घोषित हुनुभएको थियो । यस्तै मेस्सीले गत सिजन बार्सिलोनालाई कोपा डेल रेको च्याम्पियन बनाउनुभएको थियो ।

मेस्सीले यसअघि २००९, २०१०, २०११, २०१२, २०१५ र २०१९ मा यो अवार्ड जित्नुभएको थियो । सन् २००७ मा तेस्रो स्थानमा रहनुभएका मेस्सी २००८, २०१३, २०१४, २०१६ र २०१७ मा उपविजेतासमेत बन्नुभएको थियो ।

यता जर्मन क्लब बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले बालोन डिओर अवार्डअन्तर्गतको वर्षको उत्कृष्ट गोलकर्ताको अवार्ड जित्नुभएको छ । बालोन डिओरमा यसपटक उत्कृष्ट गोलकर्ता र उत्कृष्ट क्लब अवार्ड थपिएको थियो । लेवान्डोस्कीले गत सिजन जर्मन च्याम्पियन बायर्न म्युनिखका लागि ४० खेलमा ५१ गोल गर्नुभएको थियो ।

यस्तै इंग्लिस क्लब चेल्सीले वर्षको उत्कृष्ट क्लबको अवार्ड जितेको छ । चेल्सीले गत सिजन च्याम्पियन्स लिगको उपाधि जितेको थियो । यो सिजन पनि उच्च प्रदर्शन गरिरहेको चेल्सी इंग्लिस प्रिमियर लिगमा १३ खेलबाट ३० अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

२१ वर्षमुनिका लागि प्रदान गरिने कोपा ट्रफी स्पेनिस स्टार युवा मिडफिल्डर पेड्रीले जित्नुभयो । यो विधामा जुडे बेलिङघम, बुकायो साका, जियो रेना, मासन ग्रिनवुड, जमल मुसिएला, फ्लोरियन विट्र्ज, जेरेमी डोकु, नुनो मेन्डेस र रायन ग्रेभेनवर्च अवार्डको दावेदारमा हुनुहुन्थ्यो ।

यस्तै इटाली तथा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनका जियानलुइजी डोन्नरम्माले गोलरक्षकलाई प्रदान गरिने यासिन ट्रफी जित्नुभयो । उहाँले चेल्सीका इडुआर्ड मेन्डीलाई पछि पार्नुभयो । डोन्नररुम्माले इटालीबाट युरोकप २०२० को उपाधि जित्नुभएको थियो ।

Top