लुम्बिनी यू-१९ क्रिकेटको फाइनलमा

हिमालय टाइम्स   POSTED ON : मंसिर १६, २०७८ (८:४९ AM)

लुम्बिनी यू-१९ क्रिकेटको फाइनलमा

काठमाडौं । लुम्बिनी प्रदेश काठमाडौंमा जारी यू-१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । टियु क्रिकेट मैदानमा बुधबार प्रदेश २ लाई ९ विकेटले पराजित गर्दै लुम्बिनी फाइनलमा प्रवेश गरेको हो ।

प्रदेश २ ले दिएको १६९ रनको लक्ष्य लुम्बिनीले २६ दशमलब ५ ओभरमा केवल एक विकेट गुमाएर पूरा ग¥यो । लुम्बिनीले ६ मध्ये ५ खेल जितेको हो । लुम्बिनीका लागि आकाश त्रिपाठीले ६२, कप्तान देव खनालले ५६ रनको अर्धशतकीय पारी खेल्नुभयो । लुम्बिनीको एकमात्र विकेट प्रदेश २ का सन्तोष कार्कीले लिनुभयो । त्यसअघि प्रदेश २ ले ३९.५ ओभरमा सबै विकेट गुमाएर १६८ रन बनाएको थियो ।

प्रदेश २ का ओपनर सन्तोष कार्कीले ८२ रन जोड्नुभयो । उहाँले ९२ बल खेल्दै ७ चौका र ५ छक्का प्रहार गर्नुभयो । त्यसबाहेक गुल्सन झाले ३२ तथा आदिल अन्सारीले २२ रन थप्नुभएको थियो । यता मूलपानी क्रिकेट मैदानमा भएको खेलमा प्रदेश १ लाई ६ विकेटले हराउँदै सुदूरपश्चिमले फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो । मूलपानी क्रिकेट मैदानमा बुधबार भएको खेलमा प्रदेश १ ले दिएको ९१ रनको लक्ष्य सुदूरपश्चिमले ३१ ओभरमा ४ विकेट गुमाउँदै भेट्टाएको थियो ।

सुदूरपश्चिमको जितमा वसन्त कार्कीले ३७ रन र अर्जुन साउदले अविजित ३२ रन जोड्नुभयो । सुदूरपश्चिमका दिपक टमाटाले १० रन बनाउनुभयो । प्रदेश १ का अभिनय राजवंशीले २ श्रवण किस्कु र अंकित सुवेदीले एक–एक विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले सबै विकेट गुमाएर २४ ओभरमा ९० रनमात्रै बनाउन सकेको थियो । प्रदेश १ का कप्तान अंकित सुवेदीले ६१ बाहेक अन्य खेलाडीले दोहोरो रन जोड्न सक्नुभएन । सुदूरपश्चिमका शेर मल्लले सर्वाधिक ४ तथा नरेन्द्र साउदले ३ विकेट लिनुभयो ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा राउन्ड रोविनका आधारमा भइरहेको प्रतियोगितामा सुदूरपश्चिमले पाँचमध्ये तीन खेलमा जित हात पार्दै फाइनलको सम्भावना कायमै राखेको हो । अन्तिम खेल बागमती प्रदेशविरुद्ध शुक्रबार जित हात पारेमा सुदूरपश्चिम फाइनलमा हुनेछ । यसअघि नै पाँचमध्ये तीन खेलमा जित हात पारेको प्रदेश १ को पनि फाइनल सम्भावना कायमै छ । प्रदेश १ ले आफ्नो अन्तिम खेल गण्डकी प्रदेशविरुद्ध बिहीबार खेल्नेछ । त्यस खेलमा जित हात पारे फाइनल पुग्ने सम्भावना उच्च रहनेछ ।

Top