प्रधानमन्त्री कपमा सुदूरपश्चिम विजयी

हिमालय टाइम्स   POSTED ON : पुष ३०, २०७८ (८:३१ AM)

प्रधानमन्त्री कपमा सुदूरपश्चिम विजयी

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको समूह ‘ए’ अन्तर्गतको खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई ४७ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हासिल गरेको हो ।

यसअघि सुदूरपश्चिम नेपाल पुलिस क्लबसँग दुई रनले पराजित भएको थियो । सुदूरपश्चिमले दिएको १५४ रनको चुनौती पछ्याउने क्रममा कर्णाली १९ दशमलब एक ओभरमा सबै विकेट गुमाउँदै १०६ रनमा समेटियो ।

कर्णालीका कप्तान रवीन्द्र शाहीले सर्वाधिक ३५ रनको योगदान गर्नुभयो । उहाँले ४३ बल खेल्दै चार चौका हान्नुभयो । अर्जुन घर्तीले २४ बलमा तीन चौका र एक छक्काको मद्दतमा ३० रन जोड्नुभयो । बलिङतर्फ सुदूरपश्चिमका शेर मल्लले सर्वाधिक चार विकेट लिनुभयो । हेमन्त धामीले दुई तथा आदित्य महता, गजेन्द्र बोहरा र विकास आग्रीले एक/एक विकेट लिनुभयो ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १५३ रन जोड्यो । सुदूरपश्चिमका लागि अर्जुन साउदले सर्वाधिक ३२ रनको योगदान गर्नुभयो । उहाँले २३ बल खेल्दै चार चौका र एक छक्का प्रहार गर्नुभयो । वसन्त कार्कीले २८, दिपक बोहराले २५ र खड्ग बोहराले २२ रनको योगदान गर्नुभयो ।

बलिङतर्फ कर्णालीका प्रकाश जैसीले सर्वाधिक तीन विकेट लिनुभयो । रवीन्द्र शाही र दिवान पुनले दुई÷दुई तथा दिनेश अधिकारीले एक विकेट लिनुभयो । तीन खेल खेलेको कर्णालीको यो दोस्रो हार हो । यसअघि कर्णाली त्रिभुवन आर्मी क्लबसँग ६३ रनले पराजित भएको थियो । कर्णालीले प्रदेश नं. १ लाई भने ३१ रनले पराजित गरेको थियो ।

यता अर्को खेलमा लुम्बिनी प्रदेशले प्रदेश २ माथि ४२ रनको जित हात पार्‍यो । १६२ रनको बलियो विजयी लक्ष्य पछ्याएको प्रदेश २ ले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ११९ रन बनायो ।

प्रदेश २ का विवेक यादव २४ बलमा दुई चौका र तीन छक्कासहित सर्वाधिक ३६ रनमा अविजित रहनुभयो । ओपनर सन्तोष कार्कीले १३ बलमा एक चौकासहित १४ रन बनाउनुभएको थियो ।

लुम्बिनीका अनिल खरेलले चार ओभरमा एक मेडनसहित १३ रन खर्चेर पाँच विकेट तथा कृष्ण कार्की, सिद्धान्त शाही र बशिर अहमदले एक/एक विकेट लिनुभयो ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १६१ रन बनाउनुभयो । लुम्बिनीका ओपनर देव खनालले ३८ बलमा चार चौका र दुई छक्कासहित सर्वाधिक ५४ रनको योगदान गर्नुभयो ।

यस्तै सुशान्त थापा १४ बलमा एक चौका र एक छक्कासहित १४ रन, यस्तै सन्दीप रजाली १८ बलमा दुई चौका र एक छक्कासहित ३० रनमा आउट हुनुभयो । प्रदेश २ का विवेक यादव र रूपेश सिंहले दुई/दुई विकेट लिनुभयो । हरिशंकर शाह, महबुब आलम र विशाल सुस्लिङले एक/एक विकेट लिनुभयो ।

Top