21st January | 2021 | Thursday | 3:34:58 AM

सुदूरपश्चिम सरकारका पर्यटकीय करिडोर योजना घोषणामै सीमित

सीताराम ओझा र प्रदीप पाठक   POSTED ON : आश्विन २६, २०७७ (८:५३ AM)

सुदूरपश्चिम सरकारका पर्यटकीय करिडोर योजना घोषणामै सीमित

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्षमा पाँच पर्यटकीय करिडोर निर्माणका लागि ११ करोड २६ लाख रुपैयाँ विनियोजन गरेको थियो । प्रदेशको पर्यटकीय क्षेत्रको सम्भाव्यता अध्ययनका लागि रकम विनियोजन गरिएको हो । तर प्रदेशको उद्योग पर्यटन वन तथा वातारण मन्त्रालयले सम्भाव्यता अध्ययनका लागि सम्झौता समेत गर्न सकेन । 

कोरोना भाइरसको संक्रमणको त्रासपछि गरिएको लकडाउनका कारण काम प्रभावित भएको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको पर्यटन ईकाइका प्रमुख भोजराज पाठकले बताउनुभयो । तर चालु आर्थिक वर्षमा करिडोर निर्माणका योजना समेत राखिएको छैन । प्रदेश सरकारले चालु आर्थिक वर्षमा प्रदेशको पर्यटकीय विकासका लागि गुरूयोजना निर्माणका लागि मात्र रकम विनियोजन गरेको पाठकले जानकारी दिनुभयो । गुरूयोजना निर्माणका लागि ५० लाख रकम विनियोजन गरिएको छ ।

खक्रौला–टीकापुर–कर्णाली पर्यटन विकास गन्तव्य, महाकाली–दार्चुला पर्यटन विकास गन्तव्य, धनगढी–बुडर–बझाङ–कैलाश मानसरोवर पर्यटन गन्तव्य, खुटिया–वीपीनगर–तेलेलेख–दीपायल–साँफेबगर–रामारोशन–बडिमालिका पर्यटन विकास गन्तव्य र झुलाघाट–खोड्पे–बझाङ पर्यटन विकास गन्तव्यका लागि गत आर्थिक वर्षमा रकम विनियोजन गरिएको थियो । चालु आर्थिक वर्षमा रकम समेत विनियोजन नगरिएकाले महत्वपूर्ण भनिएको करिडोरका कार्यक्रम तुहिएका हुन् । तर प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट भने पर्यटन करिडोरका योजना वार्षिक कार्यक्रमबाटै हटाइएको बारेमा अनभिज्ञ हुनुहुन्छ ।

उहाँले ती कार्यक्रमलाई यसवर्ष पनि निरन्तरता दिइएको बताउनुभयो । पर्यटन करिडोरमा पदमार्ग, भ्यूटावर निर्माण, स्वागत गेट लगायतका संरचना निर्माण गर्ने योजना प्रदेश सरकारको रहेको थियो । तर चालु आर्थिक वर्षमा करिडोरको कार्यक्रम प्रदेशको रातो किताबबाट समेत हटाइएको छ । सुदूरपश्चिम सरकार कार्यकता खुसी पर्न मन्दिरमा लगानी गर्दै आएको आरोप लाग्दै आएको छ । चालु आर्थिक वर्षका झण्डै ५० करोडका पर्यटन विकासका कार्यक्रम समेत कार्यकर्तामुखी रहेको आरोप लागेको छ ।


Views: 76