3rd December | 2020 | Thursday | 6:26:57 AM

यी हुन् तस्करी रोक्ने प्रहरीको हत्यामा संलग्न अभियुक्तहरु

सीताराम ओझा/प्रदीप पाठक   POSTED ON : कार्तिक ४, २०७७ (६:१७ PM)

यी हुन् तस्करी रोक्ने प्रहरीको हत्यामा संलग्न अभियुक्तहरु

धनगढी । धनगढी उपमहानगरपालिका–१२ जुगेडा स्थित अस्थायी प्रहरी चौकीका ईञ्चार्ज गोविन्द विक र जवान राम बहादुर साउँदको मटर तस्करी गर्ने गिरोहले हत्या गरेको खुलेको छ ।

शनिवार राति धनगढी उपमहानगरपालिका–१० मोहनाघाट भएर नेपालबाट भारत तर्फ मटर तस्करी गरिरहेको बेला अवरोध गरेपछि प्रहरी सहायक निरीक्षक विक र जवान साउँदको हत्या गरेको पक्राउ परेकाहरुले प्रहरीलाई बयानका क्रममा खोलेका हुन् । मोहना घाटबाट तस्करी भईरहेको सूचना पाएर पुगेका सई विक र जवानलाई राति साढे १० बजेदेखि पौने ११ बजेको बीचमा चकमली गाउँ नजिकै हत्या गरेर नदीमा दुवै जनाको लाश फालेको पक्राउ परेकाहरुले स्वीकार गरेको प्रहरीले जनाएको छ ।

कैलालीमा दुई जना प्रहरीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले सात जनालाई सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले पत्रकार सम्मलेन गर्दै प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्यामा संलग्नको आरोपमा सात जनालाई सार्वजनिक गरेको हो । प्रहरीका अनुसार हत्यामा संलग्न सातै जना राना समुदायका छन् । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्बर १० का ३१ वर्षीय पंकु भनिने रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भनिने राजकुमार राना, वर्ष २२ को रामनिवास राना, २९ वर्षीय टल्लु भनिने दलराम राना र वडा नम्बर ११ बस्ने २५ वर्षीय गोपाल भनिने रामगोपाल राना रहेका छन् । उनीहरू विरुद्ध ज्यान सम्बन्धी कसूर दर्ता भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

वेपत्ता प्रहरी जवानको शव ६० घण्टापछि फेला

गत शनिबार राती नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज समेत रहेका बिक र प्रहरी जवान वेपत्ता भएका थिए । उनीहरुलाई राती १० बजे सम्पर्क गर्दा समेत फोन नलागेपछि बिहानसम्म प्रतिक्षा गर्दा समेत नआएपछि खोजी गरिएको थियो । खोजी गर्ने क्रममा प्रहरी सहायक निरिक्षक विकको शव आईतबार बिहान धनगढी उप–महानगरपालिका वडा नम्बर १० को नेपाल–भारत सीमा स्थित मोहना नदीमा भेटिएको थियो । 

घाँटीमा धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरेको अवस्थामा विक भेटिएकै मोहना नदी क्षेत्रमा मंगलबार प्रहरी जवान साउदको शव पनि फेला परेको छ । प्रहरीका अनुसार विकको शव भेटिएको स्थानदेखि २ सय मिटर तल मोहना नदीमै ६० घण्टापछि उनको शव भेटिएको थियो । उनीहरु सवार  बा ५८ प ५२८४ नम्बरको मोटरसाईकल भने घटनास्थलदेखि करिब साढे २ किलोमिटर टाढा भेटिएको थियो भने प्रहरी सहायक निरिक्षक बिकले बोकेको पेस्तोल मंगलबार मोहना नदीमै भेटिएको  छ । 


Views: 70