3rd December | 2020 | Thursday | 6:52:39 AM

डडेल्धुराको सडक चौडा हुने टेण्डर दोश्रो पटक पनि रद्द भएसँगै स्थानीय निराश

दिपकराज भट्ट   POSTED ON : कार्तिक ५, २०७७ (९:१९ AM)

डडेल्धुराको सडक चौडा हुने टेण्डर दोश्रो पटक पनि रद्द भएसँगै स्थानीय निराश

 डडेल्धुरा । सुदू्रपश्चिमको केन्द्र विन्दुमा रहेको डडेल्धुरा जिल्ला निकै सम्भावना बोकेको सुन्दर नगरका रूपमा परिचित छ । यहि नगरपालिका भएर जाने सदरमुकाममा पर्ने मुख्य सडक महाकाली राजमार्ग अन्तर्गतको बागबजार–कीर्तिपुर सडक स्तरोन्नतिका लागि पटक-पटक गरिएका टेण्डर स्थानीय घरधनीहरुले अदालतमा दायर गरेको मुद्दाको कारण रद्द भएपछि यस तर्फ डडेल्धुराका सबै राजनीतिक दलले सरोकारवाला निकायसँग सहयोग मागेका छन् ।  

बागबजार–कीर्तिपुर सडकमा सवारी साधनको चाप बढेपछि सडक बिस्तारका लागि डडेल्धुराका राजनीतिक दलहरुले साझा प्रतिबद्वता सहित सहयोगको माग राखेका छन्  । 

प्रायः अस्तव्यस्त रहने सडकमा दिनहुँ गाडीहरुको जाम लागि रहन्छ । हिड्डुल गर्नका लागि स्थानीयलाई असहज भईरहन्छ  । सदरमुकाममा रहेको यस सडक खण्डमा जिल्लाकै ठूलो बजार क्षेत्र पनि रहेको छ । सामान किनबेचका लागि र अन्य सरकारी कामकाजका लागि र यही सडक भएर बैतडी, बझाङ, दार्चुलासम्म दिनहुँ सयांैको संख्यामा मालबाहक र यात्रुबाहक गाडी गुडिरहन्छन् । जसले गर्दा चाप बढेको र यस समस्यालाई हटाउनुका लागि सडक  व्यवस्थित गर्न कुलपाते डिभिजन कार्यालय मार्फत २ पटक टेण्डर आह्वान भई रद्द भएको छ । 

पटक पटक सरोकारवालासंग छलफल गर्दै आएको अमरगढी नगरपालिकाले सो बागबजार –कीर्तिपुर सडक विस्तारका लागि  छुट्टाछुट्टै दुई वटा वैठक गरेको छ ।  पहिलो चरणमा सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री पठान सिंह बोहरा, राष्ट्रिय सभाका सांसद चक्र स्नेही, सामाजिक विकास समितिका सभापति प्रदेश सांसद कुन्ति जोशी, प्रदेश सभा  सांसद कर्ण मल्ल र सङ्घर्ष समितिका बीच भएको वैठकमा भौतिक पुर्वाधार विकास मन्त्री पठान सिंह वोहराले मुआव्जाका लागि आफुले पहल गर्ने र सबै यो जिल्लाका माननीयहरु समेटेर अमरगढी नगर प्रमुखको समन्वयमा डेलिगेसन लैजाने प्रतिबद्धता गरेपछि सकारात्मक वातावरण बनेको थियो । त्यस लगत्तै अमरगढी नगरपालिकाका नगरप्रमुख विश्वेश्वरप्रसाद ओझाको  अध्यक्षतामा जनप्रतिनिधि सबै राजनितिक दलका प्रमुखहरु र माननीय सांसदहरु सम्मेलित सर्वदलीय बैठक गरेको थियो । बैठकमा सडक विस्तारका क्रममा पेचिलो बनेको मुआब्जा विषयलाई सर्वदलीय सहमतिमा टुंगिने जानकारी दिइएको थियो ।

 सडक क्षेत्रको १५/१५ मिटर दायाँ–बायाँ  स्तरोन्नति गरी आवतजावतलाई सहज बनाउन सबै पक्ष एकमत भएका छन् । यस्तै नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) डडेल्धुराले पनि सडक स्तरोन्नतिका लागि दुई पटक गरिएको ठेक्का रद्द भएको र सडक स्तरोन्नतिका लागि पहल चाल्ने प्रेस विज्ञप्ति मार्फत जोडदार माग राखेको छ । 

 उक्त वैठकमा नगर प्रमुख ओझाले सवैको साथ लिएर अमरगढी अगाडि बढ्न प्रतिबद्व रहेकाले १५ मिटर दायाँ १५ बायाँ   सडक विस्तारका लागि सहयोग गरिदिनु गरेको आग्रहलाई सबैले सकारात्मक रुपमा लिएको नेकपाका अध्यक्ष मान सिंह मालले जानकारी दिनुभयो ।

यस्तै डडेल्धुरा काँग्रेसले पनि सडक स्तरोन्नतिका लागि पहल चाल्ने कदम चालेको छ । काँग्रेस डडेल्धुराले बैठक गरेर डडेल्धुरामा सडक अव्यवस्थित हुँदा स्थानीय नागरिकलाई निकै सास्ती भएकाले सो समस्यालाई कम गर्नका लागि पहलकदमी चाल्ने ऐक्यबद्वता जनाएको छ । 

यो सडक विस्तारसंगै डडेल्धुराको विकासको ढोका खुल्ने अनुमान गरिएको छ । पछिल्लो समय अमरगढी नगरपालिकामा विकास निर्माणले गति लिदै गएको छ ।


Views: 67