27th November | 2020 | Friday | 4:59:21 AM

तस्करले उजाडिएको दुई परिवार

सीताराम ओझा/प्रदीप पाठक   POSTED ON : कार्तिक ५, २०७७ (६:२७ PM)

तस्करले उजाडिएको दुई परिवार

धनगढी । कञ्चनपुरको पुनर्वास नगरपालिका–६ की ५० वर्षीया कलावती बिकको आश्रुधारा रोकिएका छैनन् । उनी छाती पिट्दै छिनछिनमा मुर्छित हुन्थिन् । छोरा गुमाएको पीडामा डुबेकी उनले दैवलाई सराप्न पुगथिन्, ‘हे दैव ! के बिगारेको थियो मेरो गोविन्दले । मेरो मुटुको टुक्रा थियो, चुडालेर लगिस् । उ भन्दा पहिले मलाई किन लगिनस् ?’ बन्नै लागेको अधुरो घरको एक कुनामा भावविह्ल भएकी पूजा बिक (२१) को दुरावस्था पनि देख्न नसकिने छ । जवानी छँदै पती वियोगले विक्षिप्त बनेकी उनको मुखबाट आवाज निस्किन बन्द भैसक्यो । केवल आश्रुधारा बगिरहेको थियो । पत्नी पूजाले जीवनको सूर्य नै सदाका लागि अस्ताएको अनुभुति गरिरहेकी छिन् ।

अछामको बान्नगढी जयगढ गाउँपालिका ५ मा पनि पुर्नवासकै दृश्य छ । ७१ बर्षीया मनसरा साउदको अवस्था पनि पुर्नवासकी कलावतीको जस्तै अवस्था छ । मुखमा अन्नको दाना नहालेको पनि चार दिन भईसक्यो । रुदैं कराउँदै आफ्नै छाती आफै पिट्छिन् । छिनछिनमा वेहोस हुन्छिन् । केहीवेर मौन हुदैं फेरि पहिलेकै अवस्थामा आउँछिन् । उनलाई सम्हालका लागि गाउँले र आफन्तहरु घर पुगेका छन् । तर उनलाई शान्त बनाउन सकेका छैनन् । डाको छोडेर रुदै भन्छिन्– ‘अब मलाई को सोधोला । को हेरला । म कसरी बाँच्नु । को पापीले मेरो छोरो लैग्यो ।’

धनगढी उपमहानगरपालिका–१२ जुगेडा स्थित अस्थायी प्रहरी पोष्टका कार्यरत टेकवहादुर साउँदको तस्करहरुले हत्या गरेपछि उनकी श्रीमति घिमाका आँखाबाट आँसु आउन पनि बन्द भईसक्यो । घटनाको खबर पाएपछि आफुलाई सम्हालेर धनगढी पुगिकी उनी शव भेटिएपछि सम्हालिन् सकिनन् । घटनास्थलमै खोजी गर्न पुगेकी उनलाई बल्ल बल्ल अछाम पुराईयो । खिमा घरमै जिउँदो लास जस्तो बनेकी छिन् । उनका छोरीहरुले आमालाई नरुन पटक पटक भन्छन् । झन उनी डाको छोडेर रुन्छिन् ।  उनको सिउँदोको सिंन्दुर मात्रै पुछिएको छैन् उनको जीवन पनि वेसहरा बनेको छ । जागीर खाएको २ वर्षपछि उनको बिहे भयो । श्रीमती घरयासी काम गर्छिन् । उनका दुई छोरी छन् । बुबाको हत्या भएपछि दुबै छोरीहरुको जीवनको छँहारी गुमेको छ । मृतक परिवारको यो कारुणिक दृष्यमा हर्षका सञ्चार हुने केवल दैवलाई थाहा होला । सबैका आँखा रसाएका छन् । स्कूले साथी, गुरु वर्ग र उनलाई चिन्ने जान्ने सबै मर्माहत भएका छन् । 

प्रहरी चौकीका ईन्चार्ज सहायक प्रहरी निरिक्षक गोविन्द बिक र प्रहरी जवान टेकवहादुर बिक डिउटीकै क्रममा कार्तिक १ गते राति तस्करहरुबाट मारिएपछि उनीहरु दुबैको परिवार उजाडिएको छ । दुबै परिवार शोकमा डुबेका छन् । सिंगो प्रहरी संगठन यतिबेला कर्तव्य निष्ठा राष्ट्र सेवक गुमाएको पीडाले शोकमग्न छ । घटनामा हत्या गरिएका दुबैका आमा, श्रीमतिहरु मुक्र्षित भएका छन् । दुबै जनाका दुई दुई छोरी टुहुरा भएका छन् । कार्तिक २ गते विहान मोहना नदीमा हत्या गरी फालेको अवस्थामा भेटिएका गोबिन्द कार्तिक ३ गते (सोमबार) कञ्चनपुरको दोदा नदीमा विलाए । कार्तिक ४ गते (मंगलबार) मोहना नदीमा शव गाडिएको अवस्थामा फेला परेका साउँद बुधबार अछामको कैलाशखोलामा अस्ताए । 

असई बिक शनिबार साँझ मात्र धनगढी शिवनगर स्थित डेरामा श्रीमती र छोरीसँग भेट गरेर फर्केका थिए । दोस्रो दिन बिहान खाना खाने गरी आउँछु भन्दै डिउटीमा फर्किएका गोविन्द कहिल्यै नफर्किने गरी बिदा भए । पत्नी पूजा जीवनमा बज्रपात भयो । ६ वर्षीया छोरी आरोही र ३ वर्षीया छोरी आरुषीले पनि बाबाको न्यानो सहारा सदाको लागि गुमाए । विपन्न परिवारका एक्लो कमाइका स्रोत गोबिन्दको निधनले उनको बन्नै लागेको नयाँ घरले तुरुन्तै छत नपाउने भएको छ । बिरामी भाई र बेरोजगार दाई पनि गोविन्दको दुःखद अवशानले टुहुरो झै भएका छन् । उनको संघर्ष र लगनशिलताको स्मरण गर्दै स्कूल पढ्दाताका गोविन्दका शिक्षक समेत रहेका बागेश्वरी मावि पुनर्वासका पूर्व प्रधानाध्यापक दोजराज घिमिरे गोबिन्द आफ्नो कक्षाका जेहेन्दार र अनुशासित विद्यार्थी भएको बताउँछन् । उनको लगनशिलताको उपज नेपाल प्रहरीको सहायक निरिक्षक पदमा ४ वर्ष अघि मात्र सेवा सुरु गरेका थिए । पढाईमा अब्बल गोविन्द स्नातक सकेर प्रहरी सेवामा प्रवेश गरेका हुन् ।

अछामको बान्नगढी जयगढ गाउँपालिका ५ का रामबहादुर घरका साइला छोरा । उनका कान्छा भाइ नेपाली सेनामा छन् । एक भाइले सीएमए पढेर घरमै लोक सेवाको तयारी गरिरहेका छन् ।  उनीभन्दा अगाडीका आधारभूत विद्यालयका शिक्षक हुन् । घरमा बुबा र आमाले खेती किसानी गर्छन् । उनका जेठा दाई १० वर्षको जागिरले उनको परिवारको घरखर्च चलेको थियो । अलिकति पैसा जम्मा गरेर धनगढीमा घर बनाउने उनको इच्छा थियो । त्यो ईच्छा पनि उनको पुरा हुन सकेन् । छोरीलाई धेरै पढाउने उसको सोच थियो । त्यो सोचलाई पनि यथार्थमा बदल्न पाएनन् । उनका दाई गंगवहादुर साउँदका अनुसार रामबहादुर सानैदेखि शारिरीक कसरतमा अब्बल थिए । उनी फुर्तिला र जोसिला थिए । दौड, जम्पिङ, ज्याम्नेस्टिकमा उनी स्कुलमा पहिलो हुन्थे । सानैदेखि फोर्समा जाने उनको सपना थियो । कक्षा १२ पास गरेपछि उनले दिपायलमा प्रहरी हुन आवेदन दिएका थिए । त्यसबेला उनी छनोटमा परेनन् । प्रहरी बन्ने उनको सपना यति जब्बर थियो कि  त्यसपछि गरी पाँच पटक छनौट नहुँदा पनि उनले हिम्मत हारेनन् । तर उनको हिम्मतले कार्तिक १ गते मोहना नदीमा घुँडा टेक्यो । उनी सदाका लागि हिम्मतविहीन भएर संसारबाट बिदा भए । 

‘साथीहरूले इन्डिया जाउँ भन्दा उसले म देशको लागि काम गर्छु भनेर प्रहरी सेवा लाग्यो । देशका लागि कर्तव्य निभाउँदै ज्यानको आहुती दियो । तर हामी सबैलाई एक्लो र सहाराहीन बनाएर गए ।’ असई साब र आफ्नो भाइले देशको सेवा गर्दै गर्दा ज्यान गुमाउनु परेकोमा गर्व लागेको उनको भनाइ छ । ‘बर्दीमै प्राण त्याग्यो, यसमा मलाई गर्व लागेको छ,’ उनले भने । उनी फेरि यस्ता घटना नदोहोरिऊन् भन्ने चाहन्छन् । हत्यारा पनि पत्ता लागेका छन् । कोही दोषी नउम्कियोस् भन्ने उनलाई लागेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिंहले गोविन्द र टेकवहादुर असल र सहासी प्रहरी अधिकृत रहेको बताउँछन् । उनको हत्याले प्रहरी संगठनलाई अपूरणनीय क्षति पुगेको बताउँछन् । ‘हत्यारालाई कुनै पनि हालतमा छोड्दैनौं । कारवाही गरेरै छोड्छौं । मृतकका परिवारलाई के सहयोग गर्न सकिन्छ । हामी त्यो पनि सहयोग गर्छौ ।’

फोटोः (हत्या गरिएका प्रहरी टेकवहादुर साउँदको अछाम स्थित घरमा उनकी आमा सहितका आफन्तहरु । )


Views: 85