16th January | 2021 | Saturday | 8:32:14 AM

सुदूरपश्चिम प्रदेश: गौरवका सडक निर्माणको काम २ वर्षपछि अघि बढ्यो

हिमालय टाइम्स   POSTED ON : मंसिर १६, २०७७ (६:५१ PM)

सुदूरपश्चिम प्रदेश: गौरवका सडक निर्माणको काम २ वर्षपछि अघि बढ्यो

धनगढी । कैलालीलाई डोटीको ठुलीगाडसँग जोड्ने भजनी–छोटी भन्सार ठुलीगाड सडकलाई  सुदूरपश्चिम सरकारले प्रदेश गौरवको सडकको रुपमा राखेको थियो । २०७५ सालको फागुन १ गते बसेको प्रदेश मन्त्री परिषद् बैठकले गरेको निर्णय अनुसार प्रदेश गौरवको योजनामा छनौट भएको सो सडक खण्डको काम झण्डै २ वर्षसम्म सुरु हुन सकेको थिएन । गत असारमा ठेक्का सम्झौता भएपछि भने अहिले सो सडकको निर्माण कार्य अगाडी बढेको छ । पूर्वाधार विकास कार्यालय कैलालीका प्रमुख श्यामबहादुर खड्काले केएस.केडी मणिलेक जोइनभेन्चरसँग सम्झौता भएपछि पश्चात गत साउनदेखि सडक निर्माणको काम सुरु भएको जानकारी दिनुभयो । 

उहाँका अनुसार अगामी ३० महिनाभित्र काम सम्पन्न गर्ने गरी ७ करोडमा ठेक्का दिइएको हो । ठेक्का अनुसार निर्माण व्यवसायीले प्रदेश गौरवको सो सडकमा कालोपत्रे, नाली निर्माण, आवश्यक परेको ठाउँमा नाली कभर गर्नुपर्ने पूर्वाधार कार्यालयका प्रमुख खड्काले बताउनुभयो । निर्माण व्यवसायीलाई ३ महिनाको समय दिएर निर्माण थालिएकोमा कतिपय स्थानीय तहमा नदीजन्य वस्तुको उत्खखन् नहुँदा काम केही प्रभावित हुन पुगेको बताइएको छ । निर्माण सामाग्री अभाव सम्बन्धिको समस्या हल भए तिव्रता दिएर निर्धारित समयमै सम्पन्न गर्नेरी कामलाई गति दिइने खड्काले जनाउनुभयो । 

यस्तै डोटी र डडेल्धुराका प्रदेश गौरवका सडक हेर्दै आएको पूर्वाधार विकास कार्यालय डडेल्धुराले समेत निर्माणको काम अगाडी बढेको जनाएको छ । अघिल्लो वर्षमा ढिलोगरी सम्झौता हुँदा कुनै काम नभए पनि साउनदेखि नै निर्माणलाई गति दिइएको पूर्वाधार विकास कार्यालयका प्रमुख रामचन्द्र खत्रीले बताउनुभयो । डोटीको सहजपुर बोकटान दिपायल सडक र डडेल्धुरा दैजी, पोखरा, ढुङगाड, बझाङ सडकलाई प्रदेश गौरवको योजनामा राखिएको छ । दुवै सडकका लागि १०÷१० करोड बजेट विनियोजन गरिएको पूर्वाधार कार्यालयले जनाएको छ । 

कञ्चनपुर, बैतडी, दार्चुला लगायतका जिल्लामा छनौट भएका प्रदेश गौरवका सडकको समेत गत वर्ष नै ठेक्का सम्झौता भई काम अगाडी बढेको बताइएको छ । कञ्चनपुरको बेलौरी कलुवापुर नाईल बुडर सडक, बैतडीको सदबाज–श्रीभावर–हाट–दार्चुला सडक, बझाङको दिपायल साईपाल सडक र दार्चुलाको देथला–खार–खलङगा–खण्डेश्वरी सडक पनि गौरवको योजनामा राखिएका सडक हुन् । यस्तै अछामको चिसापानी जंगलघाट–तुर्माखाद–गैरीटाड–कालागाउँ–जयगढ–नन्देगडा हुँदै बडिमालिका जोड्ने सडक र बाजुराको खप्तड–मार्तडी सडकलाई पनि प्रदेश सरकारको गौरवको योजामा राखिएको छ । करिब २ वर्षअघि ९ जिल्लामै घोषणा भएका प्रदेश गौरवका सडक योजनाका लागि गत वर्ष ५÷५ करोडका दरले सरकारले बजेट विनियोजन गरेको थियो । 

चालु आर्थिक वर्षमा समेत ९ वटै सडकका लागि ४२ करोड बजेट विनीयोजन गरिएको प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । यी सडक निर्माण भए एक जिल्लाबाट अर्को जिल्लासम्म सहज सडक पहुँच हुने विश्वास गरिएको छ ।


Views: 61