18th January | 2021 | Monday | 12:50:25 AM

कैलालीको फूलबारीमा बच्चाहरुको छुट्टै फूलबारी !

सीताराम ओझा र प्रदीप पाठक   POSTED ON : मंसिर १६, २०७७ (६:५८ PM)

कैलालीको फूलबारीमा बच्चाहरुको छुट्टै फूलबारी !

धनगढी । धनगढी उपमहानगरपालिका १९ फूलबारीमा निर्माण भइरहेको बाल उद्यानको काम अन्तिम चरणमा पुगेको छ । १३ कट्ठा क्षेत्रफलमा निर्माधिन उद्यानको काम अन्तिम चरणमा पुगेको हो । २०७६ असारमा संघीय सरकारको ३० लाख बजेटमा निर्माण सुरु गरिएको उद्यानलाई धनगढी उपमहानगरपालिकाले थप विस्तार गर्दै २ करोडको लागतमा निर्माण गर्न थालेको छ । धनगढी उपमहानगरपालिकाका ईन्जिनीयर उपेन्द्र भट्टले काम अन्तिम चरणमा रहेको बताउँदै सम्झौता अवधिमै काम सम्पन्न हुने जानकारी दिनुभयो । निर्माण व्यवसायीले पनि कामलाई तीव्र बनाएको जनाएको छ । निर्माण व्यवसायी टेण्डी शेर्पाले २०७८ जेठ मसान्तभित्र काम सक्नुपर्ने भएपनि आगामी पुस मसान्तभित्रै काम सम्पन्न गर्ने जानकारी दिनुभयो ।

घर नजिकै बाल उद्यान निर्माण हुनथालेपछि स्थानीय खुशी भएका छन् । बाल उद्यान बनेपछि आफ्ना नानीबाबुहरुलाई घर नजिकै रमाउने अवसर मिल्ने फूलबारीकी स्थानीय शिवानी केप्छाकी मगरले बताउनुभयो । बाल उद्यानभित्र ५ कोठे र  २ कोठे छुट्टछुट्टै २ वटा पक्की भवन, ६ वटा शौचालय, डिप बोरिङ सहित १ वटा पानीको फोहरा जडान हुने भएको छ । त्यस्तै, एउटा सालको काठबाट बनेको नमुना घर र प्यारापिट समेत निर्माण भईरहेको छ । बिरुवा र फूल रोप्ने ट्र«याक निर्माण समेत हुने जनाइएको छ । बाल उद्यान निर्माणपछि बालबालिकालाई खेल्न मात्र नभई स्थानीयस्तरमा रोजगारी सिर्जना हुने समेत विश्वास लिइएको छ ।


Views: 80