27th February | 2021 | Saturday | 3:08:57 PM

महाकाली बेचेको आरोपबारे प्रधानमन्त्रीले भन्नुभयो–नदी बेचेको होईन, फिर्ता ल्याइएको हो

सीताराम ओझा, प्रदीप पाठक   POSTED ON : फाल्गुन १०, २०७७ (६:२४ PM)

महाकाली बेचेको आरोपबारे प्रधानमन्त्रीले भन्नुभयो–नदी बेचेको होईन, फिर्ता ल्याइएको हो

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली नदी बेचेको नभई फिर्ता ल्याएको बताउनु भएको छ । 

कञ्चनपुरको बेदकोट नगरपालिकामा दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनु  भएको हो । उहाँले भन्नुभयो, ‘मैले धेरै गाली खाएको तपाईहरुलाई थाहा होला । महाकाली सन्धि गरेर नदी बेच्यो भनेर आरोप लगाईन्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘नदी बेचेको होईन । त्यत्तिकै अर्काले लगिरहेको पानी आफ्नो खेतमा हाल्ने फैसला गरिएको छ । बेचेको होईन । फिर्ता ल्याइएको छ ।’

उहाँले महकालीको पानी नेपाली किसानको खेतसम्म पुगाउने योजना निर्माणाधिन अवस्थामा रहेको र छिट्टै पूरा हुने बताउनु भयो । नेपालका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री पिभी नरसिंह रावबीच २०५२ माघ १९ गते महाकाली नदीको एकीकृत विकास सम्बन्धी महाकाली सन्धि भएको थियो । यो सन्धि नेपालको हित बिपरित भएको र त्यस्मा ओलीले महत्वपूर्ण भूमिका खेलेको आरोप लाग्दै आएको थियो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले वर्तमान सरकारले सुदूरपश्चिममा ऐतिहासिक काम गरेको दावी गर्नुभयो । उहाँले दार्चुलामा गुमेको नेपाली भूमी फिर्ता ल्याउने प्रक्रिया अगाडि बढेको बताउँदै भन्नुभयो, ‘हामीले यस क्षेत्रको मात्रै होइन समग्र नेपालको भूमि समेटेर नक्सा र संविधानमा समावेश गर्न सकेका छौं । अब यसले एउटा वातावरण बनेको छ । भारतसँग संवाद भइरहेको छ ।’ कार्यक्रममा प्रधानमन्त्री ओलीले पश्चिम सेती जलविद्युत आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माण गरिने दावी गर्नुभयो । उहाँले प्रतिनिधि सभा विघटन सम्बन्धि मुद्धाको फैसला दुई÷तीन दिनभित्रै हुनसक्ने संकेत पनि गरे । ‘अहिले प्रतिनिधिसभा विघटन भएको छ । हामी चुनावको तयारीमा छौ । हुनसक्छ अबको दुई÷तीनभित्रै संसद विघटनबारे फैसला हुन्छहोला,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँले संसद पुनस्थापना भए देश झन अस्थिरतातर्फ धकेलिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले प्रतिनिधि सभा पुनःस्थापना भए आन्दोलन गर्छु भन्यो भन्दै गलत प्रचार गरिएको छ । मैले नारा जुलुस गर्छु भनेको होईन । देश विकासको आन्दोलन गर्छु भनेको हुँ ।’ 

कार्यक्रममा उद्योगमन्त्री लेखराज भट्टले पश्चिमबाट विकासको सुरुवात भएको बताउनु भयो । ‘अब विकासको सुरुवात पश्चिमबाट हुन्छ,’ उहाँले भन्नुभयो, ‘पश्चिमले काँचुली फेर्छ । यहाँ रोजगारी सृजना हुन्छ । समृद्ध सुदूरपश्चिम बन्छ ।’  २०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको नेतृत्वको सरकारले दैजी छेला औद्योगिक क्षेत्र स्थापना गर्न पहिलो पटक दुई लाख बजेट विनियोजन गरेको थियो भने ओलीले शिलान्यास गर्नुभएको होा । नौँ अर्बको लागतमा पाँच वर्षभित्र निर्माण सम्पन्न हुने गरी औद्योगिक क्षेत्रको निर्माण हुनेछ । औद्योगिक क्षेत्र स्थापना भए २२ हजार जनाले प्रत्यक्ष र एक लाखले अप्रत्यक्ष रोजागरी पाउने दावी औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ । लिमिटेडका अनुसार नौँ सय विघा क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापना गर्ने लक्ष्य राखिएकोमा पहिलो चरणमा चार सय विघा क्षेत्रफलमा स्थापना गरिनेछ । सो क्षेत्रफलमा एक सय बढि उद्योग खोल्न सकिनेछ ।

घोषणाको २५ बर्षपछि औद्योगिक क्षेत्रको शिलान्यास

प्रधानमन्त्री केपी शर्मा ओलीले दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गर्नुभएको छ । औद्योगिक क्षेत्र घोषणा भएको र पहिलो पटक बजेट विनियोजना भएको २५ बर्षपछि कञ्चनपुरको बेदकोट नगरपालिका पुगेर प्रधानमन्त्री ओलीले दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गर्नुभएको हो । २०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको नेतृत्वको सरकारले सो औद्योगिक क्षेत्र स्थापना गर्न पहिलो पटक दुई लाख बजेट विनियोजन गरेको थियो । घोषणाको २५ बर्षपछि औद्योगिक क्षेत्रको शिलान्यास भएपछि स्थानीय उत्साहित छन् ।

नौँ अर्बको लागतमा पाँच वर्षभित्र निर्माण सम्पन्न हुने गरी औद्योगिक क्षेत्रको निर्माण हुने बताइएको छ । औद्योगिक क्षेत्र स्थापनाका लागि यसै बर्ष वातावरणीय प्रभाव मुल्याङ्कन स्वीकृत भएको थियो । औद्योगिक क्षेत्र स्थापना भए २२ हजार जनाले प्रत्यक्ष र एक लाखले अप्रत्यक्ष रोजागरी पाउने दावी औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ । लिमिटेडका अनुसार नौँ सय विघा क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापना गर्ने लक्ष्य राखिएकोमा पहिलो चरणमा चार सय विघा क्षेत्रफलमा स्थापना गरिनेछ । सो क्षेत्रफलमा एक सय बढि उद्योग खोल्न सकिनेछ ।

जग्गाको भोगाधिकार नपाउँदै शिलान्यास !

प्रधानमन्त्री केपी शर्मा ओलीले तामझामका साथ शिलान्यास गरेको कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्र निर्माणका लागि आवश्यक पर्ने जग्गाको भोगाधिकार समेत नदिईएको खुलेको छ । नेपाली सेनाको हेलिकोप्टर मार्फत सोमबार दिउँसो कञ्चनपुर पुगेर प्रधानमन्त्री ओलीले औद्योगिक क्षेत्रको शिलान्यास गरेपनि जग्गाको भोगाधिकार प्राप्त गर्न नसकेको पाइएको हो । 

वन विभागले डिभिजन वन कार्यालय कञ्चनपुरलाई ५ फागुनमा भोगाधिकार सम्बन्धी पत्र पठाइएको दाबी गरिएको छ तर त्यो पत्रमा के उल्लेख छ भन्ने कुरा खुलाइएको छैन । डिभिजन वन कार्यालय महेन्द्रनगरका प्रमुख अजय मानन्धरले भोगाधिकार सम्बन्धी पत्र प्राप्त भएपनि पत्रमा के–के कुरा उल्लेख गरिएको छ भन्ने कुरा विस्तृत अध्ययनपछि मात्र खुल्ने बताउनु भयो । दैजी छेला औद्योगिक क्षेत्र निर्माणको जिम्मा पाएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले भने भोगाधिकारको प्रक्रिया थालिएको जनाएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका सहायक निर्देशक प्रकाश खड्काले वन विभागले भोगाधिकारका लागि नै डिभिजन वन कार्यालयलाई पत्र पठाएको बताउनु भयो । सो पत्रमा उल्लेख भएका विषयवस्तुमाथि स्थलगत अध्ययन गरेर वनले रुजु गरेर राय सुझाव सहितको प्रतिवेदन वन विभाग हुँदै वन तथा वातावरण मन्त्रालयमा पठाउनेछ । उहाँका भनाईमा वन विभागले औद्योगिक क्षेत्र निर्माणका लागि आवश्यक पर्ने जग्गाको क्षेत्रफल र कटान गर्नुपर्ने रुखको विवरण डिभिजन वन कार्यालयलाई लेखि पठाएको छ ।

सोही आधारमा अब वन डिभिजन कार्यालयले सो विवरण स्थलगत रुपमा भिडाउने काम गर्नेछ । तर दैजी छेला औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय मूल्याङ्न प्रतिवेदन तयार भइसकेकाले त्यो  ठुलो उपलब्धी भएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ । २०५२ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री रहेका बेलादेखि दैजीमा औद्योगिक क्षेत्र स्थापना हुने चर्चा चलेको थियो । अधिकारी प्रधानमन्त्री हुँदा  २ लाख बजेट विनियोजन गरी दैजी छेला औद्योगिक क्षेत्र स्थापनाको काम निर्माणको चर्चा सुरु भएको थियो । वेदकोट नगरपालिका २ र ३ को छेलामा निर्माण हुने औद्योगिक क्षेत्रको जग्गामा पर्ने वन क्षेत्रको जग्गाको भोगाधिकार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई दिने भनि २०७३ बैशाख १२ मा मन्त्री परिषद बैठकले निर्णय गरेको थियो । तर सरकारले गरेको निर्णय अनुसार हालसम्म पनि जग्गाको भोगाधिकार नदिइएको हो । सरकारले औद्योगिक क्षेत्र स्थापनाका लागि कायम गरेको ९ सय बिगाह मध्ये जनचेतना सामुदायिक वनको करिब २ सय हेक्टर र वेदकोट सामुदायिक वनको ४ सय ५० हेक्टर जग्गाको भोगाधिकार औद्योगिक क्षेत्र विकास लिमिटेडलाई दिन बाँकी रहेको छ । तर काम चलाउ सरकारका प्रधानमन्त्रीले जग्गाको भोगाधिकार नपाउँदै दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्नुभएको हो ।


Views: 55