11th April | 2021 | Sunday | 5:52:33 PM

विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि विद्यालय बन्द

सत्यराज सिंह   POSTED ON : फाल्गुन १४, २०७७ (९:५३ AM)

विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि विद्यालय बन्द

बझाङ । विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि बझाङको साइपाल गाउँपालिका–४ मा रहेको धुली माध्यमिक विद्यालय केही दिनका लागि बन्द गरिएको छ । करिब एक सातादेखि विद्यार्थी र शिक्षकहरू एकाएक कोरोनाको जस्तै लक्षणसहित बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको हो । 

बिरामी विद्यार्थी र शिक्षकहरूमा खोकी लाग्ने, ज्वरो आउने, घाँटी दुख्ने, वाकवाकी लाग्ने र घोरिरहने जस्ता लक्षण देखिएको धुली माविका सहायक प्रधानाध्यापक धनबहादुर विष्ट भोटेले बताउनुभयो । विद्यालयमा कक्षा ६ देखि नौ सम्मका विद्यार्थी र केही शिक्षकहरूमा यस्ता लक्षण देखिएका छन् ।

एक हप्तासम्म औषधि उपचार गर्दा पनि बिरामी विद्यार्थी र शिक्षक ठिक नभएपछि बुधबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले विद्यालय बन्द गरेको हो । २४५ जना विद्यार्थी र ११ जना शिक्षक रहेको धुली माविले नजिकै रहेको धुली सामुदायिक स्वास्थ्य केन्द्रबाट उपचार गर्न खोजे पनि बिरामीमा कुनै परिवर्तन नआएको समेत प्रधानाध्यापक विष्ट भोटेले बताउनुभयो । 

केहि दिन अगाडि मात्र धौलनमा रहेको धौलन माविका विद्यार्थीहरू र शिक्षकहरूमा पनी यस्तो लक्षण देखा परेको र शिक्षक र विद्यार्थीलाई उक्त लक्षणहरू सरेकाले चार दिनसम्म विद्यालय बन्द गरिएको थियो । उपचार गरी ठिक भएपछि अहिले विद्यालय संचालनमा आएको स्थानीय वसन्त बोहोराले बताउनुभयो । 


Views: 54