17th April | 2021 | Saturday | 10:56:25 PM

गोडा फर्केका शिशु जन्मिने क्रम बढ्दो

एकेन्द्र खत्री   POSTED ON : फाल्गुन १४, २०७७ (१२:२८ PM)

गोडा फर्केका शिशु जन्मिने क्रम बढ्दो

अछाम । अछाम लगायत यस क्षेत्रमा गोडा फर्केको (क्लब फुट) बच्चा जन्मिने समस्या देखिएको छ । बयालपाटा अस्पतालका मेडिकल सर्जिकल निर्देशक डाक्टर मन्दिप पाठकका अनुसार अछाम लगायत यस क्षेत्रका पहाडी जिल्लामा बयालपाटा अस्पतालमा गोडा फर्केको (क्लब फुट)  शिशु जन्मिने क्रम बढी देखिएको हो । बयालपाटा अस्पतालमा गत वर्ष १ दर्जन शिशुको गोडा फर्किएको समस्याको उपचार गरिएको छ । डाक्टर पाठकका अनुसार सानो क्षेत्रमा १ वर्षको अवधिमा आधा दर्जन बढी शिशुमा यो समस्या देखिनु सामान्य होइन । हाल पनि बयालपाटा अस्पतालमा ३ जना शिशुको गोडा फर्किएको उपचार भइरहेको छ । गोडा फर्किएको शिशु जन्मिने समस्या ठ्याक्कै यही कारणले हुन्छ भन्न नसकिने भए पनि गर्भवती अवस्थामा पहिलो ३ महिनाको अवधिमा फोलिक एसिड नामक औषधीको नियमित सेवन नगर्नाले पनि यो समस्या देखिने सम्भावना रहन्छ । नवजात शिशुको खुट्टा बाङ्गो हुने समस्यालाई गोडा फर्केको अर्थात् क्लब फुट भनिन्छ । यदि नवजात शिशुमा गोडा फर्केको समस्या देखिएमा जन्मेको १ हप्ता भित्र अस्पतालमा सम्पर्क गरी स्वास्थ्यकर्मीको परामर्श अनुसार उपचार सुरु गरिए प्रभावकारी हुने डाक्टर मन्दिप पाठकले बताउनुभयो ।


Views: 96