16th May | 2021 | Sunday | 7:13:18 PM

दलितका छोराछोरी मात्रै पढ्ने विद्यालयलाई मर्ज गर्न शिक्षकको सुझाव

सत्यराज सिंह   POSTED ON : चैत्र २४, २०७७ (१०:५६ AM)

दलितका छोराछोरी मात्रै पढ्ने विद्यालयलाई मर्ज गर्न शिक्षकको सुझाव

बझाङ । बझाङ सदरमुकाम चैनपुरमा रहेको नमुना आधारभूत विद्यालयमा ९५ प्रतिशत विद्यार्थी दलित समुदायका छन् । विद्यालयमा हरेक बर्ष ९५ प्रतिशतभन्दा बढी दलित समुदायका विद्यार्थी भर्ना हुने गरेको विद्यालयको तथ्यांकले देखाउँछ । कक्षा ६ सम्म पढाइ हुने उक्त विद्यालयमा परिचरदेखि प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पनि दलित समुदायकै छन् । 

२०४१ सालमा स्थापना भएको यो विद्यालय दलित समुदायकै लागि मात्र भनेर सञ्चालनमा आएको भने हैन । विद्यालयको स्थापना कालमा गैर दलितका विद्यार्थीहरूको संख्या बढी थियो । विस्तारै समयको परिवर्तन सँगसँगै दलित समुदायका विद्यार्थीहरूको संख्यामा वृद्धि हुन थाल्यो । दलित प्रति हेर्ने दृष्टिकोण र छुवाछुतका कारण हुने अपहेलनाका कारण दलित समुदायका विद्यार्थीहरू बढी भएको यो विद्यालयमा गैरदलितका छोराछोरीहरू भर्ना हुँदैनन् । 

यस विद्यालयमा सदरमुकाम र आसपासका विक, कामी, सुनार, रसाइली, दमाईं, वादीलगायतका दलित समुदायका बालबालिका अध्ययन गर्दछन् । यस वर्ष १२० जना विद्यार्थी भर्ना भएका छन् । जसमध्ये १७ जना मात्र गैरदलित समुदायका छन् । विद्यालयमा दरबन्दी, राहत, बालकक्षा र परिचर गरेर जम्मा आठ जना कर्मचारी छन् । जसमा पाँच जना दलित समुदायका र तीन जना गैरदलितका शिक्षक छन् । गैरदलित अभिभावकहरूले नमुनामा पढाइ राम्रो नहुने र भौतिक संरचना पनि राम्रो नभएको लगायतका विभिन्न वहाना बनाएर छोराछोरी अर्कै विद्यालयमा भर्ना गर्ने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोषसुनुवार बताउनुहुन्छ । पुरातनवादी सोच, दलित समुदाय प्रति हेर्ने दृष्टिकोण र जातीय छुवाछुतकै कारण गैर दलित अभिभावकहरूले आफ्ना छोराछोरी अर्कै विद्यालयमा भर्ना गर्दै आएका छन् ।

अभिभावकहरूमा पनि यो दलित समुदायकै विद्यालय हो भन्ने धारणा छ । जातीय विभेदकै कारण गैरदलित अभिभावकहरूले भर्ना गर्न मान्दैनन् । २०५८ सालदेखि प्रधानाध्यापकको जिम्मेवारी सम्हालेर आएको र विगत लामो समयदेखि आफूले यस्तो विभेद भोग्दै आएको विद्यालयका प्रधानाध्यापक गजेन्द्र रसाइली नै बताउनुहुन्छ । उहाँले गैर दलितहरूले नमुनामा त दलित हेडसर छन् छोराछोरी अर्कै विद्यालयमा पढाउनुपर्छ भन्ने अभिभावकहरूको गलत मानसिकता भएका कारण यस्तो अवस्था आएको हो ।

विद्यालयमा परिचर, प्रधानाध्यापक र विद्यालय व्यवस्थापनका अध्यक्ष हामी सबै दलित समुदायका छौँ । त्यसैले पनि होला उनीहरूमा यो दलित समुदायकै विद्यालय हो भन्ने धारण छ । सानो क्षेत्र भए पनि सदरमुकाम चैनपुरमै मात्र तीन सय मिटरको दुरीमा नमुना आधारभूत र बालमन्दिर आधारभूत विद्यालय गरी दुईवटा सरकारी विद्यालय छन् । तर, नमुनामा भर्ना हुने सबै जना दलित समुदायकै विद्यार्थी हुन्छन् । दुवै विद्यालयलाई मर्ज गराउनका लागि बेलाबेलामा पहल गरेको भए पनि अझै मर्ज हुन सकेको छैन । मर्ज पढाइको गुणस्तर पनि सदरमुकाम आसपासका अन्य विद्यालयको भन्दा राम्रो छ । उहाँले आफू पनि भर्ना नगर्ने र अरूलाई पनि दलित समुदायको स्कुल हो भनेर भ्रम छरेका कारण विद्यार्थी भर्ना नहुने गरेको बताउनुभयो । 

दुवै विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू मर्ज गर्न तयार छौँ भनेर आएको खण्डमा विद्यालय मर्ज गर्न सकिने जयपृथ्वी नगरपालिकाका शिक्षा संयोजक राजेन्द्र जोशीले बताउनुभयो । जोशीले भन्नुभयो, ‘गतवर्ष पालिकाका १० वटा विद्यालयलाई मर्ज गरेका थियौँ । मर्ज भएपछि कुनै एक विद्यालयमा पठनपाठन संचालन गर्नुपर्ने हुन्छ । दुवै विद्यालयमा आवश्यक भौतिक संरचनाको अभाव छ । मर्ज हुँदा सबै विद्यार्थी एकैठाउँमा अटाउने अवस्था छैन । यसरी झन् पढाइ प्रभावित हुने देखिन्छ ।’

उहाँले आफूले नगर कार्यपालिकाको बैठकमा पनि सत्यवादी माविमा धेरै विद्यार्थी भएकाले यी दुई विद्यालय मर्ज गरी मावि तहसम्म सञ्चालन गर्न प्रस्तावसमेत राख्दै आएको बताउनुभयो । जयपृथ्वी नगरपालिकाले यस वर्षबाट विद्यालयमा दिवाखाजा कार्यक्रम सुरु गरेको छ । कार्यक्रमअन्तर्गतप्रति विद्यार्थी १५ रुपैयाँबराबरको दिवाखाजा दिने गरिएको छ । 


Views: 58