16th May | 2021 | Sunday | 2:05:52 AM

सुदूरपश्चिममा कोरोनाको ‘नयाँ भेरियन्ट’ले सन्त्रास, नमुना देश बाहिर पठाउनु पर्ने बाध्यता

हिमालय टाइम्स   POSTED ON : चैत्र २९, २०७७ (५:५८ PM)

सुदूरपश्चिममा कोरोनाको ‘नयाँ भेरियन्ट’ले सन्त्रास, नमुना देश बाहिर पठाउनु पर्ने बाध्यता

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा नयाँ प्रकारको कोरोना देखिदै आएको छ । हालसम्म ३ जनामा कडा खालको लक्षण देखिने कोरोनाको नयाँ प्रकार देखिएको हो। तर प्रदेशका कुनै पनि प्रयोगशालामा कोरोनाको नयाँ प्रकार परीक्षण गर्ने उपकरण नहुँदा समस्या भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशाला प्रमुख रमेश शाहीले कोरोनाको नयाँ प्रकारको परिक्षणका लागि आवश्यक उपकरण र अन्य स्वास्थ्य सामग्री नभएको बताएका छन्। जुनकारण नमुना परीक्षणको लागि काठमाडौं पठाउनुपर्ने बाध्यता रहेको छ। केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाबाट पनि देश बाहिर पठाउँनुपर्ने बाध्यता सिर्जना भएको शाहीको भनाइ छ। 

उनले भने, “जीन सिक्वेन्सीङ मेसिन नभएकोले बाहिर पठाउनुपर्ने बाध्यता छ। हामी कहाँ भएको प्रयोगशालामा नमुना परीक्षण रिपोर्टमा ‘एस’ जीन पोजिटिभ देखिएपछि शंकास्पद तथा नयाँ प्रजाति (भेरिन्ट)को हो कि भनेर त्यसलाई थप परीक्षणको लागि बाहिर पठाउँनु परेको छ।” 

सुदूरपश्चिममा सेती प्रादेशिक अस्पताललगायत विभिन्न अस्पतालका प्रयोगशालामा कोरोनाको परीक्षण हुँदै आएको छ। जुनकारण नयाँ प्रकारको कोरोना परीक्षणका लागि काठमाण्डौ पठाउनुपर्ने बाध्यता थपेको हो। तर प्रदेश सरकार तथा सम्बन्धित अस्पतालबाट प्रदेश स्तरमै नयाँ प्रकृतिको कोरोना परीक्षणको लागि आवश्यक यन्त्र उपकरणको व्यवस्थापन हुन नसकेको हो।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले सुदूरपश्चिममै नयाँ प्रकृतिको कोरोना परिक्षणका लागि उपकरण र अन्य स्वास्थ्य सामग्री मागका लागि पहल जारी रहेको बताए। तर नेपालमै नयाँ रहेकोले अन्योलता पनि उत्तिकै रहेको उनको भनाइ छ। उनका अनुसार अहिलेसम्म कोरोनाको युके, ब्राजिलियन, साउथ अफ्रिकन, अष्ट्रेलियन भेरियन्ट (प्रकार) देखिएको छ। जसमध्ये युके भेरिन्ट फैलिने दर उच्च रहेको सूचना अधिकारी श्रेष्ठ बताउँछन्।

सुदूरपश्चिममा देखिएको नयाँ प्रकारको परीक्षणको लागि केन्द्रीय जनस्वास्थ्य प्रगोगशाला मार्फत हंकङ पठाइएको बताइएको छ। २० वटा नमुना परीक्षणको लागि केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा चैत १५ गते पठाएको र जसमध्ये ३ जनामा नयाँ प्रकारको कोरोना र बाँकीमा सामान्य प्रकारको कोरोना देखिएको सूचना अधिकारी श्रेष्ठ बताउँछन्।

कञ्चनपुरको कष्णपुर नगरपालिका, डोटीको जोरायल र डडेल्धुराको पर्शुराम नगरपालिकाका १÷१ जना गरि ३ जनामा नयाँ प्रकारको कोरोना देखिएको हो। उनीहरु सबै होम आइसोलेसनमा बसेको बताइएको छ। उनीहरु तीनै जना भारतबाट नेपाल आएको बताइएको छ।


२५ जनाभन्दा बढी भेला नहुन प्रस्ताव गरिएका बेला सुदूरपश्चिममा भिडभाड बढ्दो

कोरोना भाइरसको महामारी थप फैलिन नदिन नेपालमा स्वास्थ्य मन्त्रालयले विद्यालय बन्द गर्न र २५ जनाभन्दा बढी भेला नहुन प्रस्ताव गरेकै बेला सुदूरपश्चिममा भने लापरबाही गर्ने क्रम रोकिएको छैन। सुदूरपश्चिममा कोरोना संक्रमणको दोस्रो लहर सुरू भएर दैनिक संक्रमणको दरसमेत उकालो लागिरहेको बेला सभा, सम्मेलन र भीडभाड गर्ने व्यवहारमा झनै वृद्धि हुन थालेको छ। 

भारतसँगका सीमानाका अस्तव्यस्त एवम् भिडभाडयुक्त देखिन्छन्, जहाँ निगरानी तथा परीक्षण कमजोर पाइएको छ। बजारमा  मास्क तथा सेनिटाइजरको प्रयोग र सामाजिक दूरीको पालना जस्ता व्यवहारको पूर्ण बेवास्ता गरिएको पाइएको छ। स्वास्थ्य मन्त्रालयले नयाँ प्रकारको कोरोनाभाइरस तीव्र गतिमा फैलिन थालेको भन्दै शैक्षिक संस्था बन्द गर्न कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) लाई सिफारिस गरिसकेको छ। त्यस्तै २५ जनाभन्दा बढी भेला नहुनसमेत प्रस्ताव गरेको छ। 

अहिले नेपालमा देखिएका ‘यूके भेरिएन्ट’को कोरोना भाइरसबाट कम उमेर अर्थात् १८ वर्षमूनीका बालबालिकाहरूमा संक्रमणको उच्च जोखिम रहेकाले शैक्षिक संस्था बन्द गर्न प्रस्ताव गरिएको हो। तर विद्यालयहरूले भने विद्यालय बन्द गरेर मात्र कोरोना रोकथाम हुन नसक्ने बताएका छन्। 

एनप्याब्सन कैलालीका अध्यक्ष राजेन्द्र चापागाइँले पहिलेदेखिनै शैक्षिक सत्र निकै पछाडि परेको हुँदा अब बन्द गरे निजी विद्यालयहरू झनै मर्कामा पर्ने बताए। ‘विद्यालय बन्द गर्नुभन्दा पनि अन्य विकल्पहरू जस्तै सुरक्षाका मापदण्ड रोज्नुपर्छ’ उनले भने, ‘विद्यालय बन्द गरेर अन्य भीडभाडयुक्त स्थानहरूको बेवास्ता गरिए त्यसको कुनै औचित्य हुँदैन।’ स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै विद्यालय बन्द गरेर अनलाईन कक्षा सञ्चालन गर्न सुझाएको छ। तर सुदूरपश्चिममा भने इन्टेरनेटको सहज पहुँच नभएका कारण अनलाइन कक्षा सम्भव नहुने बताइएको छ। 

प्याब्सन कैलालीका अध्यक्ष डिल्ली रेग्मीले काठमाण्डौँमा समेत इन्टरनेटको सहज पहुँच नभएको अवस्थामा सुदूरपश्चिमका ग्रामिण भेगमा त अनलाइन कक्षा झनै अवम्भव हुने बताए। पछिल्लो समय सुदूरपश्चिममा पनि कम उमेर समूहका व्यक्तिहरू कोरोनाभाइरसबाट संक्रमित हुन थालेका छन्। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा पुस यता मात्र ९५ जना १८ वर्षभन्दा कम उमेरका व्यक्तिहरूमा कोरोना संक्रमणको पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।

छिमेकी भारतमा कोभिड संक्रमण बढ्दो क्रममा रहेको बेला सुदूरपश्चिमका सीमानाकामा एन्टिजेन परीक्षण फितलो रहेको छ भने, संक्रमित देखिएकाहरूको समेत उचित व्यवास्थापन हुन नसकेको पाइएको छ। साथै प्रदेशमा कोरोना रोकथामको उपायहरू नत सरकारी संयन्त्रले अपनाएको छ, नत जनस्तरबाटै त्यसको पालना भएको पाइएको छ।


सुदूपश्चिमका आइसोलेशन केन्द्र भारतबाट फर्किएका कोरोना संक्रमितले भरिँदै

भारतबाट घर फर्किने कोरोना संक्रमितले धनगढी र महेन्द्रनगरका अइसोलेशन केन्द्र भरिन थालेपछि प्रदेश सरकार होटलहरूलाई आइसोलेशन केन्द्र बनाउने तयारीमा जुटेको छ। भारतबाट घर फर्किनेको संख्या अझै बढ्ने र सोसँगै संक्रमितको समेत संख्यामा वृद्धि हुने अनुमान गरिएको छ। तर आसोलेशन केन्द्रहरुमा कोभिड संक्रमित राख्न स्थान अभाव भए सहरका होटेलहरुमा कोभिड संक्रमितको व्यस्थापन गर्न प्रदेश सरकार अघि सरेको छ।

सुदूरपश्चिम प्रदेशको मुख्य पर्व बिसुको लागि भारतबाट घर फर्किनेको संख्या अझै बढ्ने र संक्रमणको जोखिम समेत उकालो लाग्ने आशंकाबीच नाकामा परीक्षणको दायरा बढाइएको सरकारी दाबी छ। तर सीमा नाकामा आइपुग्ने भिडको कोरोना जाँच गर्न परीक्षण किटको अभाव हुन थालेको छ।

सुदूरपश्चिम प्रदेशमा कैलाली कञ्चनपुर बैतडी र दार्चुला जिल्लाका सीमा नाकाबाट दिनहुँ २ हजारको संख्यामा नेपालीहरु स्वदेश फर्किरहेको बताइएको छ। सुदूरपश्चिम प्रदेशको प्रमुख चाड बिसु नजिकिदै गर्दा सीमाबाट स्वदेश फर्किनेको संख्या ह्वात्तै बढ्ने अनुमान गरिएको छ। प्रदेशका अन्य नाका भन्दा धनगढीको त्रिनगर र महेन्द्रनगरको गड्डाचौकी नाकाबाट सबैभन्दा बढी मानिस घर फर्किने हुँदा संक्रमित समेत धेरै आउने चिन्ता गरिएको छ। तर संक्रमितको संख्या बढेमा भने धनगढी १५ कनरीमा बनाइएको आइसोलेशन सेन्टरले धान्न मुस्किल हुने भन्न थालिइसकेको छ।

स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीले अहिले नै आइसोलेशनमा बस्न समस्या नभएको बताएका छन्। “यदि भोलिका दिनमा आइसोलेशनमा ठाउँ अभाव भए वैकल्पिक स्थानको समेत पहिचान गरिसकिएको छ। धागढीको कभर्ड हल र होटेलहरुमा समेत संक्रमितहरुलाई राख्ने किसिमले तयारी गरिएको छ।” धामीले भने।

प्रदेशका सबै स्थानीय तहहरुलाई संघीय र प्रदेश सरकारले आइसोलेशन केन्द्र सञ्चालनमा ल्याउन निर्देशन दिइएको भएपनि अहिलेसम्म धनगढीको कनरीमा १ सय ५० र महेन्द्रनगरको महाकाली अस्पतालको आइसोलेशन केन्द्रमा ५० जना मात्रै राख्ने गरी व्यवस्था गरिएको प्रदेश सरकारले जनाएको छ। तर भारतबाट आउने सबैको भने एन्टिजेन परीक्षण गर्नु आवश्य नरहेको सरकारी अधिकारीले बताएका छन्।

“परीक्षण किटको पनि अभाव छ भन्न सकिन्छ र सरकारको मापदण्ड अनुसार भारतको अत्यधिक संक्रमण फैलिएको ठाउँबाट आउनेहरुको मात्रै सीमा नाकामा एन्टिजेन परीक्षण भइरहेको छ। लक्षण भएका र तिनका साथमा आएकाहरुको परीक्षण गरिदै छ। सबैको गर्न आवश्यक नभएकोले मापदण्ड अनुसार नै सीमा नाकामा स्वास्थ्य जाँच भइरहेको छ।” कञ्चनपुर स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले भने।

सुदूरपश्चिम स्वास्थ्य आपूर्ति केन्द्र धनगढीले भने प्रदेशका सबै सीमा नाकाबाट स्वास्थ्य परीक्षण गरेर मात्रै आउने व्यवस्था गरिएको जनाएको छ। तर परीक्षण किटको मौज्दात भने निकै कम रहेको बताएको छ। “हामीसँग अहिले ५ सय किट मात्रै मौज्दात रहेको छ। तर केन्द्र सरकारले सुदूरपश्चिम प्रदेशका लागि ४ हजार किट आजै हवाइ मार्गबाट पठाउन लागेको छ। सुदूरपश्चिम प्रदेशमा अन्य प्रदेशको तुलनामा बढी परीक्षण भइरहेको छ। ४ हजार किट आएपछि परीक्षण गर्न सहज हुनेछ।” स्वास्थ्य आपूर्ति केन्द्रका निमित्त प्रमुख पदम बिष्टले बताए।


संघीय सरकारले ४ हजार परीक्षण किट पठाएपनि त्यो सुदूरपश्चिमका लागि केहि दिनका लागि मात्रै हुने निश्चित छ। किनभने हरेक दिन सुदूरपश्चिममा दुई हजारबढी भारतबाट फर्कि रहेको तथ्यांकले देखाएको छ। परीक्षण किटको अभावमा भारतबाट आउनेहरुलाई सिधै घर पठाइए संक्रमण घरघरमा फैलिने खतरा तर्फ भने सरकारी पक्षले सजग हुनुपर्ने देखिन्छ।


Views: 99