16th May | 2021 | Sunday | 3:25:46 AM

सुदुरपश्चिमका पहाडी जिल्लामा विसु पर्वको रौनक

सत्यराज सिंह   POSTED ON : चैत्र ३१, २०७७ (५:०३ PM)

सुदुरपश्चिमका पहाडी जिल्लामा विसु पर्वको रौनक

बझाङ । सुदूरपश्चिम प्रदेशमा विसु पर्वको रौनक बढेको छ । सुदुरपश्चिमका सात पहाडी जिल्लामा मनाईने यो पर्वका लागी घरहरु रातो माटो र कमेरोेले पोतिएका छन । नयाँ वर्ष आउनुभन्दा पहिले नै घर छिपेमा वर्ष भरी नै सुख, शान्ति र समृद्धि हुन्छ भन्ने जनविश्वास रहिआएको छ । बैशाख सुरु भएसँगै रोगब्याधी, महामारी र अनिकालको समय सुरु हुने र त्यसबाट बच्न सिस्नो लगाएर विस पखाल्ने प्रचलन रहि आएको छ । विसुका दिन सिस्नो लगाउँदा वर्षभरी शरीरमा कुनै पनि रोग नलाग्ने जनविश्वास छ । शरीरमा सिस्नो लगाउँदा छाला सम्बन्धि रोग निर्मूल हुने जनविश्वासका कारण यो पर्वमा देवर–भाउजु, नन्द–भाउजु र साली–भिनाजुले एक आपसमा सिस्नुपानी छ्यापेर मनाउने गर्छन् । रोजगारीका लागि विदेशियका र पढाईको सिलसिलामा घर बाहिर रहेकाहरु विसु पर्व मनाउन घर फर्किन थालेपछि गाउँघरमा विसु पर्वको चहलपहल बढेको छ ।

बझाङ, बाजुरा, अछाम, बैतडी, दार्चुला, डडेल्धुरा लगायत सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा विसुपर्वको रौनक देखिएको छ । पहाडी जिल्लामा मात्र मनाईने यो पर्व पहाड बाट तराईमा बसाइँ सर्नेक्रम बढे संगै कैलाली, कञ्चनपुरमा समेत यो पर्वको रौनकता बढेको छ । कामका लागी विदेश गएका तथा पढाईका लागी घर बाहिर गएकाहरु गाँउं फर्किन थालेपछि सुदुरपश्चिमका पहाडी जिल्लाहरुमा विसु पर्वको रौनकता बढेको हो । बिहे गरेर गएका छोरीचेलीहरु समेत विसु पर्वका लागी माइत जान भ्याई नभ्याई  छ । बिसु पर्व मनाउन घर फर्कनेहरुको संख्या बढे संगै ग्रामीण सडकहरुमा यात्रुको चाप बढेको छ । विसु पर्वका लागी सामान किनवेच गर्नेको भिडले जिल्लाका मुख्य व्यापारिक केन्द्रमा चहल पहल बढेको छ ।

रोजगारीका लागी भारतको कर्नाटकमा बस्दै आएका जयपृथ्वी नगरपालिका १ कैलासका नविन विष्ट विसु पर्व मनाउनकै लागि एक साता अघि स्वदेश फर्किएका छन । उनले भने रोजगारी तथा पढाईकै लागी सबै फरक फरक ठाँउमा बस्दै आएका छौ । यो पर्वले पुराना साथीहरु, टाढाका ईष्टमित्र, आफन्त संग भेट गराउछ । प्राय जसो सबै जना विसु पर्वको लागी घर फर्कने भएकाले यो पर्वले एक अर्कालाई भेटघाट गराउने र सुख दुःख साटासाट गर्ने माध्यम पनि बनेको बताए । कैलालीको चुरे गााउपालिकाको खानिडाडामा बस्दै आएकी झंकरी धामी  पनि विसु पर्वका लागी माईतघर बुङगल नगरपालिकाको गिरौँ पुगेकी छन । बर्षभरी घरको कामले भ्याईनभ्याई हुने उनलाई विसु पर्वमा फुर्सद निकालेर भए पनि एकदिनको बस यात्रा गरेर माईतघर पुग्छिन । उनी भन्छिन आफन्त संग बर्षभरिका सुख दुःखका कथाव्यथा सुनाएर मन हलुङगो हुन्छ । सबै माईती यतै बस्छन । हामी बसाई सरेर मधेस गयौ । दशैतिहारमा त त्यस्तै हो विसुपर्वमा माईत जान नपाए मन खल्लो हुन्छ । लामो समय पछि टाढाका ईष्टमित्र, आफन्तहरु संग भेटघाट गर्नकै लागी पनि माईत आउने गरेको बताईन ।

विसुपर्वले रमाईलो मात्र नभएर हिन्दुरुको संस्कृति र संस्कारलाई पनि स्थानान्तर गर्दै आएको छ । तर विसु पर्वमा पछिल्ला केहि बर्ष यता सिस्नो लगाउने चलन बिस्तारै कम हुँदै जान थालेको सत्यवादी मावी भोपुरका शिक्षक लक्ष्मण जोशी बताउछन । उनले भने पहिलेको जस्तो रमाइलो गर्ने चलन हराइसकेको छ । विसु पर्व आउनु पूर्व नै सबै घर रातो माटो र कमेरो माटोले लिपपोत गर्ने चलन थियो । अहिले अधिकांसले घरमा सिमेन्ट लगाउन थाले पछि यस्ता दृश्य कमै मात्रामा देखिन्छन । विगतका बर्षहरुमा भन्दा पछिल्ला केहि बर्ष यता युवापुस्ताहरुमा विसुपर्वको मौलिकता हराउदै गएको उनि बताउछन ।   

विसु पर्व सुदुरपश्चिममा मनाईने गौरा र दशै भन्दा पनि महत्वपूर्ण पर्व हो । हिन्दु सम्राट विक्रमादित्यको जन्मोत्सवको अवसरमा पौराणिककालदेखि नै बिसुपर्व मनाउने गरिएको जनविश्वास रहि आएको छ । वैशाख १ गतेका दिन सूर्यले पृथ्वीको परिक्रमा पूरा गरेको विश्वासमा पनि यो पर्व मनाइने गरेको किंवदन्ती छ । बिसु पर्वमा मासको दालबाट बनाइने विशेष स्थानीय परिकार ‘बटुक’ र गतानी डुब्का खाने चलन । बिसुको अवसरमा महिलाहरूले स्थानिय भेषभुषा पहिरन गरी डेउडा खेल लगाउने, पुतला नाच खेल्ने तथा पुरुषहरूले बिसु बाघ बनाएर दौडाउने समेत गर्छन् । 


Views: 111