21st June | 2021 | Monday | 1:07:02 PM

सुदूरपश्चिममा भयावह बन्दै कोरोना, तयारी छैन, बिरामीको चापले अस्पताल अस्तव्यस्त

सीताराम ओझा र प्रदीप पाठक   POSTED ON : जेठ १, २०७८ (९:०० AM)

सुदूरपश्चिममा भयावह बन्दै कोरोना, तयारी छैन, बिरामीको चापले अस्पताल अस्तव्यस्त

धनगढी । सुदूरपश्चिममा कोरोना भाइरसको महामारी भयावह अवस्थामा पुगेको छ । प्रदेशका अस्पतालहरूमा अक्सिजनको हाहाकार भएपछि अस्पतालहरूले बिरामी भर्ना लिनसमेत आनाकानी गर्न थालेका छन् । प्रदेश सरकारले समय छँदै कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि गतिलो तयारी नगरेकाले यो अवस्था आएको छ । संघीय सरकार, प्रदेश सरकार र स्थानीय पालिकाहरूले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि संयुक्त प्रभावकारी काम गर्नतिर ध्यान नदिँदा खतरनाक स्थिति आउने संकेतहरू देखिएको प्रदेशवासीको गुनासो छ । पछिल्लो दिनमा भाइरसका कारण मृत्यु हुनेको संख्याले पनि यो कुरालाई प्रमाणित गरिदिएको छ ।

मृतकको संख्या पछिल्लो दिनमा झण्डै दोब्बरले बढ्दा अस्पतालहरूमा अक्सिजनको हाहाकार छ । प्रदेशका अस्पतालहरूमा अक्सिजनको अभावका कारण बिरामीको मृत्यु हुनेको संख्या वृद्धि हुँदै गएको स्वयं चिकित्सक नै बताउँछन् । सरकारले अक्सिजन, संक्रमितलाई उपचार गर्न शैय्या, भेन्टिलेटर र आइसियुको संख्या वृद्धि नगरे मृतकको संख्या अझै वृद्धि हुने अनुमान गरिएको छ । संघीय र प्रदेश सरकार तथा स्थानीय पालिकाहरूले गम्भीर रूपमा नलिए मृतकको संख्या अझै वृद्धि हुने बताउँदै स्वास्थ्य विभागका पूर्व–महानिर्देशक डाक्टर लक्ष्मीराज पाठकले भन्नुभयो, ‘सीमा क्षेत्रमा होल्डिङ सेन्टर चेकजाँचमा लापरबाही गरिँदा यस्तो अवस्थाको सामना गर्नु परिरहेको छ । 

अस्पतालमा ठाउँ नहुँदा भुइँमा बिरामीको चाप 

प्रदेशमा कोरोना संक्रमितको संख्या वृद्धि भएपछि अस्पतालहरूमा शैय्याको अभाव भएको छ । शैय्या अभावसँगै संक्रमित बिरामीहरूको चापले अस्पतालको भुइँ भरिएको छ । कोरोना संक्रमितका लागि आवश्यक शैय्या विस्तार, अक्सिजन सिलिण्डर खरिद, आइसियु र भेन्टिलेटर जडानलगायतका काममा प्रदेश सरकारले बेवास्ता गरेको छ । प्रदेशमा कोरोना नियन्त्रणका लागि प्रभावकारी काम नभएकाले गाउँगाउँमा संक्रमितको त्रास फैलिएको पूर्व–महानिर्देशक पाठकले बताउनुभयो । कतिपय संक्रमितले रोग पहिचान गर्न नसक्दा अस्पताल नपुग्दै ज्यान गुमाउँदैछन् । अधिकांश फोक्सोमा जटिल समस्या देखिएपछि मात्र अस्पताल जाने गरेका छन् । फोक्सोमा जटिल समस्या देखिएका संक्रमितका लागि अक्सिजन अनिवार्य हुने र प्रदेशमा अक्सिजनको अभावका कारण मृत्युवरण गर्नुपर्ने बाध्यता आएको अधिकारीहरूको गुनासो छ । सेती प्रादेशिक अस्पतालमा समेत आइसियुको क्षमतासमेत पर्याप्त नभएकाले समस्या भइरहेको सेती प्रादेशिक अस्पतालका आइसियु इञ्चार्ज डाक्टर कपिल गौतमले बताउनुभयो । 

सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल, टीकापुर अस्पताल, डडेल्धुरा अस्पताल कोरोना संक्रमितले भरिएका छन् । संक्रमितले अस्पतालका शैय्या भरिएकाले नयाँ संक्रमितले पालो पर्खिनुपर्ने अवस्था छ । सेती प्रादेशिक अस्पतालमा आइसियु कुर्दाकुर्दै कतिपय संक्रमितले अकालमै ज्यान गुमाउँदैछन् । अक्सिजन अभावका कारण यो समस्या विकराल बन्दै गएको उहाँले बताउनुभयो । सेती प्रादेशिक अस्पतालको प्रांगणमा समेत कोरोना संक्रमिलाई उपचार गरिँदैछ । होम आइसोलेसनमा बसेकाहरूले समेत अक्सिजन नपाएरै ज्यान गुमाउनुपर्ने अवस्था सुदूरपश्चिममा छ ।

हप्ता दिनसम्म पनि आउँदैन स्वाबको रिपोर्ट 

धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोलका सुनिल खड्काले ज्वरो र रुघाखोकी जस्ता समस्या देखिएपछि गत सोमबार धनगढी उपमहानगरपालिकाको स्वाब संकलन केन्द्रमा स्वाब दिनुभएको थियो । तर, सेती प्रादेशिक अस्पतालले ६ दिनपछि मात्र रिपोर्ट दिएको उहाँले बताउनुभयो । ‘मैले सोमबार धनगढी उपमहानगरपालिकाको स्वाब संकलन केन्द्रमा स्वाब दिएको थिएँ, अस्पतालले ६ दिनपछि मात्र रिपोर्ट दियो’ उहाँले भन्नुभयो, ‘कोरोना परीक्षणको रिपोर्ट आउन ढिलाई हुँदा निकै मानसिक तनाव हुन्छ । रिपोर्ट नआएसम्म उपचारको लागि अस्पताल पनि जान सकिन्न ।’ अहिले उहाँको रिपोर्ट पोजेटिभ आएको छ । उहाँ होम आइसोलेशनमा बस्नुभएको छ ।

स्वाब दिएको एक सातासम्म पनि अस्पतालले कोरोना परीक्षणको रिपोर्ट नदिएको कोरोनाका सम्भाव्य संक्रमितहरूले गुनासो गरेका छन् । रिपोर्ट नआउँदासम्म उपचारको प्रक्रिया नथाल्दा संक्रमितको अवस्थासमेत जटिल बन्दै गइरहेको पाइएको छ । सामान्यतया सेती प्रादेशिक अस्पतालले कोरोना परीक्षणको रिपोर्ट एक÷दुई दिनमा दिने गरेको थियो । तर पछिल्लो समय रिपोर्ट आउनमा हप्ता दिनसम्म लाग्ने गरेको गुनासो गरिएको हो । तर सेती प्रादेशिक अस्पतालले भने परीक्षणका लागि आउने नमूनाको संख्या निकै बढेकाले परीक्षणमा ढिलाई भइरहेको बताएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशाला प्रमुख रमेश शाहीले जनशक्ति साविक बमोजिम नै रहेको तर प्रयोगशालामा आउने नमूनाको संख्या बढेकाले परीक्षणमा ढिलाई भइरहेको बताउनुभयो ।

 एकातिर रिपोर्ट आउन ढिलाइ हुँदा सम्भाव्य संक्रमितहरूमा मानसिक तनाव बढेको छ भने, अर्कोतिर स्वास्थ्य समस्या देखिएपनि रिपोर्ट पर्खेर बस्ने र अस्पताल नजाने व्यवहार देखिएको छ । फलस्वरूप उनीहरूको अवस्था जटिल बन्दै गएको पाइएको छ । सेती प्रादेशिक अस्पतालका फिजिसियन डाक्टर निशान भट्टराई रिपोर्ट नआए पनि स्वास्थ्य समस्या देखिए तुरुन्त उपचार थाल्न सुझाव दिनुहुन्छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा हाल ६ जना जनशक्ति मात्रै छन् । ६ जनाको भरमा प्रयोगशाला चौबिसैं घण्टा सञ्चालन गर्नुपर्ने बाध्यता छ । प्रयोगशाला प्रमुख रमेश शाहीले जनशक्ति थप्ने प्रक्रिया सुरु भएको र जनशक्ति थपिए परीक्षणको दायरासमेत बढ्ने बताउनुभयो । 

अहिले सुदूरपश्चिममा नयाँ प्रकारको कोरोना भाइरस समूदायस्तरमा फैलिसकेको छ । कोरोना भाइरसको थप फैलावट रोक्न कडा निषेधाज्ञा र संक्रमितहरूको पहिचान गरी उनीहरूलाई आइसोलेट गर्नुपर्ने हुन्छ । सरकारले निषेधाज्ञा त जारी गरेको छ तर परीक्षणको दायरा भने बढाउन सकेको छैन । कोरोना परीक्षणको दायरा छिटोभन्दा छिटो बढाइएन भने कोरोना झनै विकराल रूपमा फैलिने चिन्ता गरिएको छ ।

घण्टौंसम्म अस्पतालमै रहन्छन् शव, छेउमै रहेका बिरामीमा त्रास

सुदूरपश्चिम प्रदेशका अस्पतालहरूमा दैनिक मृत्युदर भयावह बन्दै गएको अधिकारीहरूले बताएका छन् । व्यवस्थापकीय कमजोरीका कारण मृतकको शवसमेत घण्टौंसम्म अस्पतालमै राखिँदा अन्य बिरामीहरूलाई मनोवैज्ञानिक असर पर्ने गरेको पाइएको छ । यतिबेला अस्पतालहरू बिरामीहरूको भार थेग्न नसक्ने अवस्थामा पुगेपछि अस्पताल बाहिर टाँगिएको पाल मुनि उपचारको गुहार मागिरहेकाहरूलाई आफ्नो ज्यान जोगाउन हम्मेहम्मे भइरहेको छ । स्थानीय प्रशासनले भने मृतकका आफन्तको सहमतिमा शव व्यवस्थापन गर्ने कार्य हुँदै आएकाले व्यवस्थापनमा थोरै ढिलाई भएको बताएको छ । समयमा मृतकका आफन्त नआउँदा शव व्यवस्थापनमा समस्या भइरहेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताउनुभयो । 

अस्पतालमा मृतकको शवको समयमा व्यवस्थापन नहुँदा अन्य विरामीहरूलाई समस्या भइरहेको गुनासो आइरहेका बेला जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रशासकीय अधिकृत कृष्णानन्द जोशीले भने नेपाली सेनालाई शव व्यवस्थापनको जिम्मा दिइएकाले केहि ढिलाई भएको हुनसक्ने बताउनुभयो । अक्सिजन र बेड अभावसँगै उपचारका लागि समेत समयमा डक्टर नआउँदा कतिपय विरामीले ज्यान गुमाउनु परिरहेको आफन्तहरूको गुनासो छ ।


Views: 70