21st June | 2021 | Monday | 1:08:23 PM

विद्युतको भरपर्दो विकल्प नहुँदा अछाममा पीसीआर परीक्षण बन्द

एकेन्द्र खत्री   POSTED ON : जेठ १, २०७८ (६:४५ PM)

विद्युतको भरपर्दो विकल्प नहुँदा अछाममा पीसीआर परीक्षण बन्द

अछाम । कोरोना सङ्क्रमणले जनजीवन आक्रान्त भइरहेका बेला अछाममा पीसीआर परीक्षण बन्द भएको छ । स्वाब परीक्षण गर्ने मेसिन बिग्रिएकाले स्वाब परीक्षण कार्य रोकिएको हो । 

प्रयोगशालाले एक सूचना जारी गर्दै कोरोना परीक्षण कार्य रोकिएको जनाएको छ । पीसीआर मेसिनमा समस्या आएका कारण कोरोना परीक्षण बन्द भएको सूचना अधिकारी टेकबहादुर विष्टले बताउनुभयो । 

मेसिन मर्मतका लागि काठमाडौँ पठाइएको सूचना अधिकारी विष्टले बताउनुभयो । जिल्लामा एक मात्र पीसीआर प्रयोगशाला हुँदा सहज भएको थियो । तर त्यही प्रयोगशाला बन्द हुँदा कोरोना परीक्षण अनिश्चित बनेको छ । आर्थिक अभावमा ब्याक अप उपकरण, विद्युतको भरपर्दो विकल्प नहुँदा एउटै मेसिनले धान्न सक्ने अवस्था नरहेको प्रयोगशालाले जनाएको छ । प्रयोगशालाका लागि यसअघि जिल्लाका केही मात्र स्थानीय तहले मात्र आर्थिक सहयोग गरेका थिए । 

कमलबजार नगरपालिकाको पहलमा सञ्चालित प्रयोगशालामा आर्थिक समस्या रहेको भन्दै यसअघि जिल्लाका सबै पालिकालाई सहयोग माग गरिएको थियो । रकम उपलब्ध नहुँदा व्यवस्थापन गर्न कठिनाइ भएको कमलबजार नगरपालिकाले जनाएको छ । प्रयोगशालामा अछामसहित बाजुरा र दैलेखका केही पालिकाको स्वाब समेत परीक्षण हुने गरेको छ । 


Views: 88