जयगढ नन्देगडा ग्रामीण सडक अझै सञ्चालनमा आएन

एकेन्द्र खत्री   POSTED ON : श्रावण १३, २०७८ (१:५० PM)

जयगढ नन्देगडा ग्रामीण सडक अझै सञ्चालनमा आएन

 अछाम । अछामको जयगढ–मेल्लेख जोड्ने ग्रामीण सडक अवरुद्ध भएको लामो समय भइसक्दा पनि बान्नीगढी जयगढ गाउँपालिकाले मर्मत सम्भारको काम अझै सुरु गरेको छैन । 

लगातारको वर्षाको कारण सडकको ठाउँ ठाउँमा पहिरो र ढुङ्गा खस्दा ग्रामीण सडक अवरुद्ध बनेको थियो । उक्त सडक मर्मतका लागि गाउँपालिका बेखर हुँदा स्थानीयलाई सास्ती नै सास्ती भएको छ । असार २१ गतेदेखि अवरुद्ध बनेको जयगढ मेल्लेख सडक खण्डको ठाउँ ठाउँमा ढुङ्गा र माटोले सडक अवरुद्ध बन्यो तर बान्नीगढी गाउँपालिकाले सडक मर्मतका लागि पहल नचाल्दा आवतजावतमा समस्या बनेको छ । सडककै कारण बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ धारा सैनका ४ वटा घर समेत पहिरोका उच्च जोखिममा परेका छन् । लगातारको वर्षाले वडा नम्बर ३ मा रहेको भडासैन टोलका ४ घर उच्च जोखिममा परेका हुन् । यता बान्नीगढी गाउँपालिकाले सडक मर्मत र सम्भारका लागि सक्दो पहल गरेको बताएको छ । 

बान्नीगढी गाउँपालिका सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर २ का वडाध्यक्ष नेत्र बहादुर साउँदले वर्षाको सुरुमै परेको अविरल वर्षाले ठाउँ ठाउँका सडक अवरुद्ध बनेका र मर्मतका लागि पनि सक्रिय रूपमा काम गरेको बताउनुभयो । तर वर्षामा सडक मर्मतको काम गर्दा थप जोखिम निम्तिने भन्दै तत्कालका लागि सडक मर्मतको काम नगरेको बताउनुभयो । हिमालय टाइम्ससंग संक्षिप्त कुराकानी गर्दै सडक डिभिजन कार्यालयले सडक मर्मतको काममा चासो नदेखाउँदा आफूहरूलाई पनि काम गर्न समस्या भएको बताउनुभयो । 


Top