शिलान्यासमा नगरप्रमुख विष्टको हतारो किन ?

देवेन्द्र खड्का   POSTED ON : श्रावण १५, २०७८ (११:०३ AM)

शिलान्यासमा नगरप्रमुख विष्टको हतारो किन ?

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाको हाल शिक्षा शाखा, लगायतको कार्यालय रहेको भवनको ठिक पछाडी पट्टी एक कुवा जस्तो देखिने खाल्डो छ । खाल्डोमा टन्न पानी भरिएको छ, र त्यो पानीमाथी भ्यागुत्ता खेलिरहेका छन् । झट्ट हेर्दा कुवा जस्तो देखिने त्यो पानीले भरिएको खाल्डो कुवा भने होइन । त्यो खाल्डो भीमदत्त नगरपालिकाले नयाँ प्रशासनिक भवन निर्माण गर्ने भन्दै नगर प्रमुख सुरेन्द्र विष्टले शिलन्यास गर्दा बनाइएको खाल्डो हो । गत जेठ १५ गते  गणतन्त्र दिवसको अवसर पारि नगरप्रमुख विष्टले अत्याधुनिक सुविधा सम्पन्न नयाँ प्रशासनिक भवन निर्माण गरिने भन्दै तामझामका साथ शिलन्यास गरेका थिए । शिलन्यास गर्दा बनाइएको उक्त खाल्डोमा हाल टन्न पानी भरिएको छ । भवन निर्माणका लागि ठेक्का सम्झौता भइसक्यो तर अरु काम भने  अझै शुरु भएकोे छैन । भवनको शिलन्यास गरेको दुई महिना भन्दा बढी समय वितिसक्दापनि निर्माण कार्य अगाडी नबढ्दा मेयर विष्टले किन भवन शिलन्यास गर्न हतार गरे ? भन्ने प्रश्न उठेको छ । यता नगरपालिकाका सुचना अधिकारी हरि सिंह धामीले कार्यालयकै कारण काम अझै अगाडी बढ्न नसकेको बताए । ‘हाल शिक्षा शाखा लगाएतको कार्यालय र हल भएको भवनको पछाडी उक्त मुख्य प्रशासनिक भवन निर्माण हुने हो ।’ धामीले भने ‘त्यसैले अहिलेको शिक्षा शाखा लगाएत अन्य शाखाको कार्यालय रहेको भवन भत्काउनु पर्ने भएकोले निर्माण कार्य अगाडी बढ्न नसकेको हो ।’ उनले अगाडी थपे ‘अहिले बर्खा छ र त्यो भवनमा थुप्रै शाखाका कार्यालय छन्, ती कार्यालयको व्यवस्थापन गर्न नसकिदा भवन भत्काउन सकिएको छैन । यो बर्खा सकिएपछि त्यो भवनमा रहेका कार्यालयलाई अन्यन्त्र सारेर भवन भत्काएपछि मात्रै उक्त प्रशासनिक भवनको निर्माण कार्य अगाडी बढ्छ ।’ शिलन्यास गरिएको उक्त नयाँ प्रशासनिक भवन निर्माण कार्य अगाडी बढ्न अझै २÷३ महिना लाग्ने धामीले बताए । ‘अहिले बर्खा लागेको छ ।’ उनले भने ‘त्यो भवन भत्काउन अझै २÷३ महिना जति लाग्छ होला, अनि नयाँ भवनको काम अगाडी बढ्छ ।’ उनले अगाडी थपे ‘पुरानो भवन नभत्काइ नयाँ भवन बनाउन सकिदैन । त्यसैले काम रोकिएको हो ।’ ३१ करोड ९७ हजार छ सय कुल अनुमानित लागत रहेको उक्त प्रशासनीक भवन निर्माणका लागि १६ करोड ४९ लाख ७६ हजारमा अनक जोशी जेभि संग ठेक्का सम्झौता भएको 

छ । अत्याधुनिक सेवा सुविधा रहने गरि निर्माण गरिने भवनमा १० वटा मिटिङ हल, नगर प्रमुख तथा उप प्रमुख कक्ष, शाखा कार्यालय कक्षहरु, प्रशासनीक कक्ष लगायतको संरचना बन्नेछन् । चार तले भवनमा लिफ्टको समेत व्यवस्था रहने नगरपालिकाले जनाएको छ । भवन निर्माणका लागि संघिय सरकारले १८ लाख बजेट विनियोजन गरेको छ । भने थप बजेटका लागि प्रतिवद्धता जनाएको छ । अपुग बजेट नगरपालिकाले विनियोजन गर्ने प्रशासकीय अधिकृत पुस्कर भट्टले बताए । उक्त भवन २ वर्षमा निर्माण गरिसक्नु पर्ने सम्झौता भएको छ । निर्माण सामाग्रीको अभाव नरहेमा समयावधी अगाडी नै भवन निर्माण कार्य सक्ने अनक जोशी जेभीका संञ्चालक धर्मराज जोशीले बताए ।


Top