विश्व स्तनपान सप्ताह सुरु, अछाममा स्तनपान गराउने आमाको सङ्ख्या घट्दै

एकेन्द्र खत्री   POSTED ON : श्रावण १८, २०७८ (१०:४० AM)

विश्व स्तनपान सप्ताह सुरु, अछाममा स्तनपान गराउने आमाको सङ्ख्या घट्दै

अछाम । विश्व स्तनपान सप्ताह सुरु भएको छ । बनिबनाउ खाद्य सामग्रीको सहज उपलब्धता र आमाहरुको व्यस्त दैनिकिका कारण स्तनपान गराउने आमाको सङ्ख्या भने घट्दै गएको छ । अछाम रामारोशन गाउँपालिका वडा नम्बर ४ का सर्मिला साउदको ११ महिने छोरी छन् । सर्मिला व्यापारको शिलशिलामा धेरै समय घर बाहिरै हुनुहुन्छ । उहाँले चाहेर पनि समय तालिका मिलाएर बच्चालाई स्तनपान गराउन पाउनु भएको छैन । अहिले कामकाजी महिलाहरुले चाहेर पनि स्तनपान गराउन भ्याएका छैनन् । अर्को त स्तनपानको महत्वबारे आमाहरुलाई पर्याप्त जानकारी पनि छैन ।  स्तनपान कक्षको अभावका कारण पनि आमाहरुले समय तालिका मिलाएर बच्चालाई स्तनपान गराउन पाएका छैनन् । स्वास्थ्य कार्यालय अछामको तथ्यांक अनुसार अछामका सुत्केरी आमाहरु मध्ये स्तनपान गराउने ६० प्रतिशतमात्रै  रहेका स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाले बताउनुभयो ।  स्तनपानलाई सजिलो बनाउन हरेक स्थानीय तहमा स्तनपान कक्षको स्थापना गर्नु पर्ने भनिए पनि त्यो कार्यान्वयनमा आएको छैन । 

रोजगारी गर्ने महिलाको संख्या बढ्दै गएकाले पनि आमाहरुले पूर्णरुपमा स्तनपान गराउन नपाएका बयालपाटा अस्पतालमा कार्यरत नर्स निरा पुनको भनाई छ  । स्तनपान कम भएका कारण नेपालमा ४० प्रतिशत बालिबालिकाको उमेर अनुसारको वृद्धि नभएको विज्ञहरु बताउँछन् । स्तनपान नगराउँदा बालबालिकाको उचाइ कम हुने, कुपोषित हुने, सुस्त हुने, उमेर अनुसार वृद्धि विकास नहुने समस्या हुन सक्ने जिल्ला अस्पताल अछामका बरिष्ठ अनमी तथा निरीक्षक शुसिला ढुंगानाले बताउनुभयो । शिशूको लागि आमाको दुध नै अमृत समान हुने भएकाले पर्याप्त स्तनपान गराउन आमाहरु लाई स्वास्थ्य कर्मीको सल्लाह छ ।

Top