सुदूरपश्चिममा गौरापर्व शुरु

कृष्ण बिष्ट   POSTED ON : भदौ ११, २०७८ (४:०२ PM)

सुदूरपश्चिममा गौरापर्व शुरु

बैतडी । सुदूरपश्चिमेलीहरको महान पर्व गौरा शुक्रबार देखि सुरु भएको छ । शुक्रबार पञ्चमीका दिन महिलाले बिहानै स्नान गरी घर घरमा बिरुडा राखीसकेका छन् । घरको एक कोठामा गाईको गोबरले लिपेर तामापितलका भाँडाको बाहिरपट्टि पाँच ठाउँमा गाईको गोबर र दुबो लगाई टीका र अक्षताले सिङ्गारेर पञ्चअन्न गहुँ, मास, गहत, गोरस र कलौँ भिजाएर राख्दछन जसलाई बिरुडा भिजाएको भनिन्छ । गौरा सुदूरपश्चिम क्षेत्रको महत्वपूर्ण धार्मिक एवं सांस्कृतिक पर्व हो ।

गौरा पर्वको पहिलो दिन गौरा पर्व मनाउने समुदायका महिलाहरूले निराहार रही आआफ्नो घरमा तामा वा पित्तलको भाँडोमा “बिरुडा” अर्थात् पाँचथरीका गेडागुडी भिजाउने गरेको पण्डीत गंगादत्त अवस्थीले बताउनुभयो । महादेव पर्व पाउन देवी पार्वतीले गरेको कठिन तपस्या र व्रतको सम्झनागर्दै सुदूरपश्चिममा पौराणिककालदेखि मनाइँदै आएको पर्वका रुपमा गौरालाई लिइने गरेको स्थानीय पण्डीत अवस्थीले बताउनुभयो । 

यस वर्ष पनि कोरोनाको जोखिम कायमै रहेकाले प्रभावित बन्न सक्ने देखिएको  छ । गत वर्ष पनि कोरोनाका कारण गौरापर्व प्रभावित बनेको थियो । जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रले भिडभाड नहुनेगरी पुजाआजामै सिम तगर्न आग्रह गरेको छ । तेश्रो लहरको चेतावनी जारी रहेकाले भिडभाड नगरी पुजाआजामै सिमित गर्न बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले आग्रह गर्नुभयो । 

कुन कुन दिन कसरि मनाउछन गौरा पर्व

पहिलो दिन पञ्चमी तिथिः

भाद्र सुक्ल पक्षको पञ्चमी तिथि देखिनै गौरा पर्व प्रारम्भ भएको मानिन्छ । शुक्रबार देखि सुरु भएको छ । सुदूरपश्चिम प्रदेसको सबैभन्दा महत्वपुर्ण पर्वको रुपमा मानिने गौरा पर्व भाद्र सुक्ल पञ्चमिको दिन तामाको भाडामा गहुत, माँस, गहु गुरौस र केराउ पाँच अन्न मिसाएर महिलाहरुले फाग गाउदै भिजाउने गर्दछन । ति भिजाएको ५ अन्नलाई बिरुडा भनिन्छ ।

सुर्य सष्टीः

पञ्चमिको दाश्रो दिन सुर्य सष्टी पर्दछ । त्यस दिन पञ्चमिको दिन भिजाएको बिरुडालाई नजिककैको पानिको न्वाला (पधेरी)मा लगेर फाग गाउदै धुने चलन रहेको छ । बिरुडा सफा गरिसकेपछि सबैले एउटै ठाँउमा देव घरमा राख्ने चलन पनि रहेको छ ।

सप्तमि तिथिः

गोरा पर्वको तेश्रो दिन सप्तमी तिथि पर्दछ । सप्तमीको दिन साझँको समयमा दिनभरि उपासना बसेका महिलाहरु नुहाइ धुवाइ गरि देव घरमा जम्मा हुने गर्दछन । यस दिन देवघरमा पबित्र मानिएको पिपल जामुन, पङ्यिो, आँप, औलोका स्याउलालाई एक ठाउमा जम्मा गरि कलस स्थापन गरिन्छ । जसलाई स्थानिय भाषामा पञ्चबल्लव पनि भन्ने गरिन्छ । यो पञ्चबल्लवसँगै सौ,बल, धान, गोरेफल मिलाएर एउटा गोरा देविको मुर्ति बनाइन्छ त्यो मुर्तिलाई गौरा देविको संज्ञा दिइन्छ । गौरा सँगसँगै एउटा काठको मुर्ति पनि बनाइन्छ जसलाई महेश्वरको संज्ञा दिइन्छ । गौरोको र महेश्वरको मुर्तिमा बिवाहित महिलाहरुले घाँटीमा लगाउने पहेलो र रातो रङ्को दुवधागो झुन्ड्याइएको हुन्छ । सोहि दिन साँझ सबै महिलाहरु पुजा आज गरी अस्टमि अर्थात भोलिको दिन गौरा पर्वको महत्वपुर्ण दिनको तयारी गर्ने गर्छन ।

अष्टमी तिथि अर्थात अठेवाली :

गौरा पर्वको महत्वपुर्ण दिन हो अस्टमी अर्थात अठेवाली । यस दिन उपासना बसेका बिवाहित महिलाहरुले देवघरबाट गोरा निकालेर गोराखला (गोरा खेलाउने स्थल) मा लिएर जान्छन । महिलाहरु यस दिन समयमा गोरा देवि र महेश्वरको मुर्तिलाई पुजा आजा गरि अस्टमिको दिन गाइने अठेवालि गित गाउने गर्दछन । पुरुषहरुले दमाहा बजाउने, देवताको थानमा पुजाआजा गर्ने र देउडा खेल्ने गर्दछन । महिलाहरुले पुजाआजा सँगै अठेवालि गाइसकेपछि बिरुडाले श्रीमान, छोराछोरीको शिरमा चढाँउने गर्दछन । त्यसै दिन देखि गौरा पर्व एक हप्ता देखि १० दिन सम्म गौरा पर्व पुजा पाठ सँगै देउडा खेलेर यो पर्व मनाइन्छ ।

गौरा सेलाउनेः

ठाउँ अनुसार गौर पर्व फरक फरक दिन बिर्सजन गरिन्छ जस्लाई गौरा सेलाउने भनिन्छ । यस दिन बाजागाजाका साथ गौरा मुर्तिलाई जंगलको पबित्र रुखमुनि पुजा आजा सहित बिर्सजन गरिन्छ । यस दिनलाई नै गौरा सेलाउने भनिन्छ ।

तस्बिरःबैतडीको सुर्नया ५ मा तामाको भाँडोमा बिरुडा भिजाउन तयार पारिएको 


Top