पुल नहुँदा आवतजावतमा समस्या

सत्यराज सिंह   POSTED ON : भदौ २१, २०७८ (६:१७ AM)

पुल नहुँदा आवतजावतमा समस्या

बझाङ । बझाङको जयपृथ्वी नगरपालिका–३ का स्थानीयहरू पुल नहुँदा समस्यामा परेका छन् । वडा नम्बर ३ मा रहेको डुग्रीखोलामा पुल नहँुदा कुवापानी र कुशापानीका स्थानीयहरूलाई आवतजावतमा समस्या भएको हो । तीनै तहको सरकारका प्रतिनिधिहरूलाई बेला–बेलामा ध्यानाकर्षण गराएको भए पनि पुल निर्माणमा बेवास्ता गरेको स्थानीय महेश खड्काले बताउनुभयो ।

सदरमुकाम चैनपुरबाट नजिकै भए पनि वर्षौंदेखि डुग्रीखोलामा पुल नबन्दा बर्खाको समयमा दुःख झेल्दै आएको र उत्पादन भएका कृषिउपज वस्तुहरू पनि बजारसम्म पु¥याउन समस्या हुने गरेको पडेस युवा समाजका अध्यक्ष पवन खड्काले बताउनुभयो । दुवै गाउँमा हालसम्म खानेपानी, विद्युत् र सडकको सुविधा नपुगेकाले छिटोछरितो खानेपानी, विद्युत् र सडकको सुविधा पु¥याउन पडेस युवा समाजले तीनै तहको सरकारलाई ध्यानाकर्षण गराएको छ ।

हाल खानेपानीको समस्या हुँदा त्यहाँका स्थानीयहरू खोलाको धमिलो पानी पिउँदै आएका छन् । विद्युत्को पोल गाडेको भए पनि हालसम्म बत्ती नबलेको र नगरपालिकाले त्यसतर्फ कुनै चासो नदेखाएको स्थानीयले आरोप लगाएका छन् । 

यता, जयपृथ्वी नगरपालिकाका उपप्रमुख जुना जाग्रीले नगरपालिकाबाट प्रदेश सरकार र केन्द्र सरकारलाई पत्र पठाएकोे बताउनुभयो । उहाँले भन्नुभयो, ‘छिटोछरितो काम गर्नका लागि पहल गरेकी छु । चाँडै समस्याहरूको समाधान हुनेछ ।’ हाल पुल नहुँदा यहाँका करिब २५ घरपरिवार समस्यामा परेका छन् ।


Top