डडेल्धुरा कांग्रेसमा क्रियाशील विवाद उत्कर्षमा, कार्यकर्ताबीच कुटाकुट

देवेन्द्र खड्का   POSTED ON : भदौ २४, २०७८ (५:३२ AM)

डडेल्धुरा कांग्रेसमा क्रियाशील विवाद उत्कर्षमा, कार्यकर्ताबीच कुटाकुट

डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेसको क्रियाशील सदस्यतालाई लिएर कार्यकर्ताबीच कुटाकुट भएको छ । क्रियाशील सदस्यता नामावली सार्वजनिक भएपछि विवाद हुँदा कार्यकर्ताबीच कुटाकुट भएको हो । मंगलबार दिउँसो जिल्ला पार्टी कार्यालयमा बसेको जिल्ला कार्यसमिति बैठकका विषयमा विवाद हुँदा कार्यालयमै कार्यकर्ताबीच कुटाकुट भएको हो । 

जिल्ला अधिवेशनका लागि डडेल्धुरामा खटिनुभएका निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले बैठक पुस्तिकामा हस्ताक्षर नगरेपछि विवाद हुँदा कुटाकुट भएको जिल्ला पार्टी सभापति कर्णबहादुर मल्लले हिमालय टाइम्सलाई बताउनुभयो । उहाँले भन्नुभयो, ‘क्रियाशील सदस्यताको विषयमा छलफल भइरहँदा निर्वाचन अधिकृतले एक पक्षीय साथीहरूलाई दुराशयपूर्ण तरिकाले उस्काउनुका साथै गैरजिम्मेवारी रूपमा अभिव्यक्ति दिएका कारण पार्टी कार्यालयमै झडप भएको हो ।’ 

डडेल्धुरा कांग्रेसमा दुई गुट सक्रिय छन् । जिल्ला सभापति मल्ल र केन्द्रीय सभापति देउवाको गुट छ । सभापति देउवाको गुटमा गोविन्द बोहरा, रघुवर भट्ट र भीमबहादुर साउदलगायत नेता छन् । यी दुई समूहबीच बेलाबेलामा पार्टीभित्रको विवाद कुटाकुटसम्म पुग्ने गरेको छ । यसअघि महिला संघको विवाद पनि कुटाकुटमा परिणत भएको थियो । 

निर्वाचन अधिकृत तोकिनुभएका बमले केन्द्रीय निर्वाचन समितिको निर्णयअनुसार भदौ २५ गते वडा अधिवेशनको मिति तोक्नुभएको थियो । तर, नेपाली कांग्रेस जिल्ला कार्यसमितिको बैठकले भने जिल्ला अधिवेशन स्थगित गर्ने निर्णय गरेको छ । यसले गर्दा कांग्रेस डडेल्धुरामा विवाद झन् तीव्र बनेको हो । जिल्लामा रहेको क्रियाशील सदस्यता विवाद समाधन नभएकाले जिल्ला कार्य समितिले अधिवेशनको कार्यलाई स्थगित गरेको सभापति मल्लले जानकारी दिनुभयो । यद्यपि, जिल्ला सभापति मल्ल पक्षले निर्वाचन अधिकृतमाथि अनावश्यक दबाब दिन थालेपछि विवाद सुरु भएको देउवा समूहको तर्क छ । जिल्ला सभापति मल्ललाई अधिवेशन स्थगित गर्ने अधिकार नभएको निर्वाचन अधिकृत बमले बताउनुभयो । उहाँले भन्नुभयो, ‘जिल्ला सभापतिले घोषणा गरेर अधिवेशन स्थगित गर्न मिल्दैन ।’ 

घटनाप्रति निधिको ध्यानाकर्षण

यता, नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले डडेल्धुरा जिल्ला अधिवेशनसम्बन्धी विवाद टुंग्याउन सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराउनुभएको छ । उहाँले बुधबार एक पत्र लेख्दै तलबाट आएको नामावलीमा केही हटाएर माथिबाट थपेर सम्बन्धित जिल्लासँगको समन्वयबिना अधिवेशन तोकिएकोमा तत्काल क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधान गरेर मात्र निर्वाचन गर्न माग गर्नुभएको छ । 

‘डडेल्धुरा जिल्लाको क्रियाशील सदस्यहरूको नामावलीबारे गम्भीर विवाद उत्पन्न भएको छ । सम्पूर्ण प्रक्रिया पु¥याएर तलबाट आएको नामावलीमा केही नाम हटाएर माथिबाट सोझै अर्को नामावली थप गरेको र जिल्ला कार्य समितिको सहयोग र समन्वयबिना नै निर्वाचन अधिकृतले भदौ २५ लाई अधिवेशनको मिति तोकिदिएको भनी जिल्ला सभापति श्री कर्णबहादुर मल्लद्वारा जिल्ला कार्य समितिको निर्णयसहितको विज्ञप्ति पनि आएको छ,’ निधिले भन्नुभएको छ, ‘यस्तो गम्भीर विवादको समाधान नगरी अधिवेशन र निर्वाचन गराउनु सर्वथा अनुचित देखिने हुँदा तत्काल क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधान गरी मात्र अधिवेशन र निर्वाचनको कार्य सम्पन्न गर्न गराउन सम्बन्धित सरोकारवालाहरूलाई मार्गदर्शन वा निर्देशनको लागि विनम्र अनुरोध गर्दछु ।’

यस्तै, बुधबार बिहान कांग्रेस नेता शेखर कोइरालाले पनि डडेल्धुराको वडादेखि जिल्लासम्म कुनै विवाद नभई पठाएका ४६० जनाको क्रियाशील सदस्यता हटाएर ३१२ जनाको नाम थपिनु गलत भएको बताउनुभएको थियो ।

‘यो लोकतान्त्रिक प्रक्रिया हुनै सक्दैन । यसले पार्टी कसरी चलाइँदैछ भन्ने प्रमाण दिन्छ । यस सम्बन्धमा जिल्ला कार्यसमितिले केन्द्रबाट खटिइएका निर्वाचन अधिकृतको रोहवरमा ती क्रियाशील सदस्यता नसच्याई वडा अधिवेशन अघि नबढ्ने बताउँदा पनि निर्वाचन अधिकृतबाट आगामी २५ गतेका लागि वडा अधिवेशन आहृवान गरिनु दुःखद छ’, कोइरालाले भन्नुभएको छ । 


Top