लाखौं ऋण र व्ययभारमा लालीगुराँस सामुदायिक वन, २ वर्षमा साढे १४ लाख बढी ऋण

गोविन्द बीसी   POSTED ON : भदौ ३०, २०७८ (१२:१२ PM)

लाखौं ऋण र व्ययभारमा लालीगुराँस सामुदायिक वन, २ वर्षमा साढे १४ लाख बढी ऋण

कैलाली । टीकापुर—कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर–३ स्थित लालिगुराँस सामुदायिक वन उपभोक्ता समूहको छैटौं वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भीमबहादुर कुवँरको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि वडाअध्यक्ष करने सुनार रहनुभएको थियो । त्यस्तै, विशिष्ट अतिथिमा सबडिभिजन वन कार्यालय रामपुरका प्रमुख कृष्ण बोहरा, गाँउ कार्यपालिका सदस्य कोकिला खत्री रहनुभएको थियो । वन समूहले साधारणसभामा आर्थिक वर्ष २०७६र०७७ को १० लाख ७ हजार ४ सय ७८ रुपैयाँ र २०७७र०७८ को १५ लाख ३१ हजार ८ सय ४२ रुपैयाँ बराबरको आयव्यय सार्वजनिक गरेको छ । 

समूहका उपाध्यक्ष मनऋषि आचार्यले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा रानिजरुवा सामुदायिक वनका अध्यक्ष लालसिंह विश्वकर्मा, दानुफाँटा नमूना सामुदायिक वन समूह अध्यक्ष टेकराज जोशी, जगदम्विके भगवती माविका प्रअ नेत्रबहादुर खड्का, न्यू लालीगुराँस ग्रामीण विद्युत सहकारी संस्थाका अध्यक्ष लोकेन्द्र न्यौपाने नेपाल प्रवास स्वतन्त्र युवा संगठन नेपालका अध्यक्ष गणेश विक लगायतको सहभागिता रहको थियो ।

ऋण र व्ययभारमा वन उपभोक्ता समूह

सामुदायिक वन व्यवस्थापन, नियन्त्रण र रेखदेखको जिम्मेवारी पाएको लालिगुराँस सामुदायिक वन उपभोक्ता समूह ऋणको चङ्गुलमा फस्दै गएको छ । सो संस्थाले मंगलबार सार्वजनिक गरेको आर्थिक प्रतिवेदन अनुसार विभिन्न व्यक्तिबाट लाखौं ऋण लिएको उल्लेख छ । वन उपभोक्ता समूहले आर्थिक वर्ष २०७६र०७७ र २०७७र०७८ मा गरि दुईवर्षको अवधिमा १४ लाख ६१ हजार ९ सय ५ रुपैयाँ संस्थाको ऋणभार देखाएको छ ।

त्यस्तै, कर्मचारी तथा वन हेरालुको भुक्तानी दिनुपर्ने तलब १ लाख ६४ हजार १ सय ८२ रुपैयाँ, क्षतिपूर्ति दिनुपर्ने ५० हजार, साइनिङ्ग स्टार युवा क्लबलाई दिनुपर्ने ५० हजार र अन्य लेखापरीक्षण दायित्व ८ हजार रुपैयाँ गरि कुल १७ लाख ३४ हजार ८७ रुपैयाँ व्ययभारसहितको वित्तीय विवरण सार्वजनिक गरेको हो । 

संस्थाको लेखापरीक्षण प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७६र०७७ मा ५ लाख ८ हजार ४ सय ४८ आयभन्दा व्यय बढी देखाइएको छ भने, २०७७र०७८ मा ९ लाख १९ हजार ६ सय ९२ रुपैयाँ व्यय बढी भएको उल्लेख छ ।

सामुदायिक वन विकास कार्यक्रममा जोड 

सामुदायिक वन विकाससंगै उपभोक्ता लाभान्वित हुने कार्यक्रम लागू गर्न स्थानीय उपभोक्ताको जोड रहेकोे छ । सामुदायिक वनको मंगलबार सम्पन्न छैटौं वार्षिक साधारणसभामा बोल्ने अधिकांश वक्ताहरुले सामुदायिक वन विकास र सामाजिक विकास लक्षित कार्यक्रम तथा योजना ल्याउन सहभागिको सुझाव छ । 

स्थापनाको ८ वर्ष वितिसक्दा पनि सामुदायिक वनले प्रभावकारी योजना ल्याउन नसकेको रामजानकी मन्दिर संरक्षण समितिका अध्यक्ष शिवराज गौतमले बताउनुभयो ।

उहाँले स्थानीय स्तरमा समुदायको विकास र गरीबी न्यूनीकरण, क्षमता अभिवृद्धि, चोरीसिकारी र तस्करी नियन्त्रणमा सामुदायिक वन समूहले स्पष्ट वार्षिक नीति, योजना तथा कार्यक्रम ल्याउन जोड दिनुभयो ।

एकातिर सामुदायिक वनको व्यय तथा ऋणभार बढ्दै जाने र अर्कोतिर उपभोक्ताले सामुदायिक वनबाट अपेक्षाकृत लाभ लिन नपाउने हो भने वन संरक्षण, विस्तार र दिगो व्यवस्थापनका लागि सामूदायिक वन समिति नै असफल हुने अवस्था आउनसक्ने देखिएको उहाँको धारणा छ । उहाँले संस्थाको आर्थिक व्यवस्थापन र पारदर्शीतामा समेत ध्यान दिनुपर्ने बताउनुभयो ।

त्यस्तै, कार्यक्रममा बोल्दै रानीजरुवा सामुदायिक वन उपभोक्ता समूका अध्यक्ष लालसिंह विश्वकर्माले सामुदायिक वनको दिगो व्यवस्थापन, गरीबी न्यूनीकरण, सामुदायिक विकास, क्षमता अभिवृद्धि, सामाजिक परिचालन र सशक्तीकरणका कार्यक्रम ल्याउन जोड दिनुभयो ।

सबडिभिजन कार्यालय रामपुरका प्रमुख कृष्ण बोहराले सामुदायिक वनले आम्दानीको कम्तीमा ३५ प्रतिशत रकम गरीब, विपन्नवर्गको जीविकोपार्जन तथा आयमूलक कार्यक्रम, २५ प्रतिशत सामुदायिक वनको विकास, संरक्षण र व्यवस्थापन कार्यमा खर्च गर्न मिल्ने प्रावधान रहेकोे बताउनुभयो । स्थानीय तहको समन्वय र समूहको निर्णयमा बाँकी रकमको ४० प्रतिशत खर्च पाउने व्यवस्था भएकाले आर्थिक गतिविधिमा ध्यान दिँदै वनको दीगो विकास, व्यवस्थापन र समुदाय विकास लक्षित कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । 


Top