आमाको स्मृतिमा देउमादेवी अक्षयकोष स्थापना

गोविन्द बीसी   POSTED ON : आश्विन ७, २०७८ (४:३२ PM)

आमाको स्मृतिमा देउमादेवी अक्षयकोष स्थापना

 टीकापुर । कैलालीको लम्की बहुमुखी क्याम्पसमा अक्षयकोष स्थापना गरिएको छ । २ लाख १ हजार १ सय १ रुपैयाँ धनराशीको अक्षयकोष स्थापना गरिएको हो । जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर–८ निवासी समाजसेवी तथा व्यावसायी भिम विष्टले स्वर्गीय आमा देउमादेवी बिष्टको सम्झनामा बिहीबार अक्षयकोषको सुरुवात गर्नुभएको छ । सो क्याम्पसमा अध्ययनरत आर्थिक रुपले विपन्न, निम्न आयस्तर भएका जेहन्दार र आमाबुवा बिहिन टुहुरा विद्यार्थीहरुका लागि अक्षयकोष स्थापना गरिएको कार्यक्रममार्फत जानकारी दिइएको छ । हरेक वर्ष विपन्न, जेहन्दार र टुहुरा गरि ३ जना विद्यार्थीहरुको शैक्षिक स्तरउन्नति र विकासका लागि उक्त अक्षयकोषबाट छात्रवृत्ति प्रदान गरिनेछ ।

समाजसेवी भिम विष्ट लगायत उहाँका भाई अम्मर बिष्ट, दाजु खडक बिष्ट, उज्ज्वल बिष्ट, तुलबहादुर बिष्ट तथा घरपरिवारको उपस्थितिमा कार्यक्रम गरि उक्त रकम चेकमार्फत क्याम्पसलाई हस्तान्तरण गरिएको हो । 

यसबर्ष क्याम्पसमा अध्ययनरत शिक्षा, मानविकी र व्यवस्थापन संकायका ३ जना विपन्न परिवारका मेहनती, जेहन्दार र आमाबुवा बिहिन विद्यार्थीलाई प्रतिव्यक्ति ५ हजारका दरले १५ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको छ ।

कार्यक्रममा समाजसेवी तथा व्यावसायी भिम बिष्टले जीवनमा सफलता प्राप्तिका पछाडि हरेक श्रेय आमा नै भएकाले वि.सं.२०७२ सालमा स्वर्गीय हुनुभएकी आमाको सम्झनामा थोरै भएपनि विपन्न परिवारका विद्यार्थीलाई पढाईमा सहयोग होस् भन्ने उद्देश्यले अक्षयकोषको स्थापना गरिएको बताउनुभयो । 

यस्तै, लम्कीचुहा नगरपालिकाकी उपप्रमुख टीका थापाले आमा भन्ने शब्द नै प्रिय भएको बताउँदै सामाजसेवी भिम विष्टले लम्की बहुमुखी क्याम्पसमा आफ्नी स्वर्गीय आमाको नामबाट अक्षयकोष स्थापना गरेकोमा धन्यवाद दिनुभयो । यसबाट सबै विद्यार्थी र समाजका अगुवाहरुले समेत केही सिक्न जरुरी रहेकोे उहाँले बताउनुभयो ।

कार्यक्रममा लम्की बहुमुखी क्यापसका अध्यक्ष बखतबहादुर विष्टले अक्षयकोष निर्माणले भिम विष्टका आमा स्वर्गीय देउमादेवी विष्टको मृतआत्माले शान्ति पाउने बताउनुभयो । क्याम्पसमा अक्षयकोष स्थापना गरी गरीब तथा जेहेन्दार विद्यार्थीको पढाईको लागि छात्रवृत्ति प्रदान गरी सहयोग गरेकोमा उहाँले धन्यवाद व्यक्त गर्नुभयो  ।

कार्यक्रममा लम्की बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख अम्मरबहादुर रावल, लम्कीचुहा नगरपालिका वडा नम्बर –८ का वडाध्यक्ष पुर्णबहादुर विष्ट, लम्की बहुमुखी क्याम्पसका उपाध्यक्ष लबबहादुर शाही, स्ववियु सभापति ललित जैशी, स्वर्गीय देउमादेवी विष्टका श्रीमान् हर्कबहादुर विष्ट, क्याम्पस व्यवस्थापन समितिका सदस्य राजेश मयाल लगायत प्राध्यापक, बिष्ट परिवार तथा आफन्तजन र विद्यार्थीको सहभागिता रहेको थियो । 


Top