रोग र भोकसंग लड्दै जीतबहादुर, जो गिट्टी कुटेरै गुजारा चलाउँछन्

गोविन्द बीसी   POSTED ON : आश्विन १३, २०७८ (३:३२ PM)

रोग र भोकसंग लड्दै जीतबहादुर, जो गिट्टी कुटेरै गुजारा चलाउँछन्

टीकापुर । आयआर्जन तथा रोजगारीको सिलसिलामा देशप्रदेशमा रहेका नेपाली यतिबेला दशैँतिहार मनाउन दिनहुँ गाउँघर फर्किरहेका छन् । बजारमा खाद्यवस्तु, लुगाकपडा किनमेलदेखि गाउँतिर घरआँगन सरसफाइ र अन्नबाली भित्र्याउन सुरु हुन थालेको छ । तर, गिट्टी कुटेरै जीविकोपार्जन गर्ने मजदुर, श्रमिक र विपन्न परिवारका दुःख, वेदना र पीडा भने बेग्लै छन् । 

कैलालीको बर्दगोरिया गाउँपालिका–३ का जीतबहादुर सारुमगर उमेरले ६१ वर्षको पुग्नुभयो । त्यसमाथि शारीरीक रुपले अशक्त । दुःखपीडा सहेर पनि जीविका चलाउन गिट्टी कुट्नुपर्ने उहाँको बाध्यता छ । धनसम्पत्तिको नाउँमा घरघडेरी बाहेक अन्य आयआर्जनको स्रोत छैन । कमाइ खाने पर्याप्त जग्गा जमीनसमेत छैन । २० वर्ष अघिदेखि दायाँखुट्टामा बल्झिएको घाउ अहिलेसम्म सञ्चो भएको छैन । सुरुका दिनमा खुट्टामा सानो खटिरा देखापर्यो, त्यही घाउखटिरा बढ्दै जाँदा अहिले हिंड्न नसकिने अवस्था छ । उपचारका लागि टीकापुर, धनगढी, दार्चुलाका अस्पताल र भारतको गुजरातसम्म धाउँदा पनि निको नभएपछि भोक र रोगसंग लड्न बाध्य भएको उहाँले दुखेसो गर्नुभयो ।

उहाँजस्तै, मुक्तकमैया शिविरका ५२ वर्षीय मनिराम थारुको दैनिकी साँझबिहान गिट्टी कुटेरै बित्छ । बिहान उज्यालो भएदेखि उहाँलाई गिट्टी कुट्न भ्याइनभ्याई छ । घरको चुल्होमा आगोसमेत बलेको छैन । घरमा भान्साको काम र खानाको बन्दोबस्त आफैले गर्नुपर्छ, खाना पकाएर खान दिने मान्छे कोही छैन । उहाँकी श्रीमती हिँडडुल गर्न सक्नुहुन्न, बिरामी भएर थला परेको महिनौंदिन बितिसक्यो । बिरामीको हेरचाह आफैले गर्नुपर्छ ।

स्वास्थ्य उपचारका लागि आफूसंग पर्याप्त रुपैयाँपैसा बचत पनि छैन । खान र लाउन लत्ताकपडाको जोहो गर्न धौधौ छ । ५ जनाको परिवारमा उहाँका छोराबुहारी कमाइ गर्न भारतको बैंग्लोरमा गएको महिनौं भयो, तर घर फर्किएका छैनन् । चाँडपर्व मुखैमा आउँदा मनिरामलाई सुखशान्ति र सन्तोष छैन । 

‘दशैँतिहार त हुनेखानेका लागि पो हो,’ उहाँले भन्नुभयो, ‘गरीबका लागि चाँडपर्वले खुसी होइन, पीडा दिएर जान्छ ।’ साँझबिहान गिट्टी कुट्नमै व्यस्त उहाँलाई एक ट्याक्टर गिट्टी कुट्न महिनादिन लाग्छ । उहाँले भन्नुभयो, ‘त्यही एक ट्याक्टर गिट्टी बेचेर आएको ५ हजार रुपैयाँले घरायसी समस्या टार्न नै मुस्किल पर्छ, के किनेर खानु, के लाउनु?’

वडाकोे मुक्तकमैया शिविरका धेरैजसो घरपरिवारको आयआर्जनको माध्यम गिट्टी बनेको छ । यहाँका थारु समुदायका ६० घरधुरी छन् । तीमध्ये ३६ परिवारले नियमित रूपमा गिट्टी कुट्दै आइरहेका छन् । 

सोही ठाँउका दृष्टिबिहिन विकटलाल डंगौराथारुको पीडा पनि उस्तै छ । नजिकैकोे जगदम्बिके भगवती माविमा कार्यालय सहयोगीको रूपमा काम गर्न थालेको १२ वर्ष पुग्यो । परिवारमा दृष्टिबिहिन श्रीमतीसहित एक छोरी छन् । मासिक ३ हजार ५ सय रुपैयाँ तलबले छोरीको पढाईलेखाइ र घरमा सरसामान जोहो गर्न मुस्किल परेको उहाँ बताउनुहुन्छ । घरको आर्थिक अवस्था नाजुक भएकै कारण परिवार पाल्नकै लागि गाउँमा गिट्टी कुट्नबाहेक यहाँका मानिसको अन्य कुनै विकल्प नभएको उहाँले बताउनुभयो ।

ज्याला मजदुरी गरि जीविकोपार्जन गर्ने श्रमजीवी परिवारका समस्या ज्यूँका ज्यू छन् । जनप्रतिनिधि निर्वाचित भएको ५ वर्ष पुग्दा पनि स्थानीय सरकारले विपन्नवर्गका लागि लक्षित राहत र खाद्य सुरक्षाका योजना तथा कार्यक्रम ल्याउन सकेको छैन । राज्यले प्रदान गर्ने सेवा र सुविधाको पहुँचमा सर्वसाधारण नागरिक अझै टाढा छन् ।    


Top