कैलालीमा चाँडपर्व केन्द्रित नियमित बजार अनुगमन

गोविन्द बीसी   POSTED ON : आश्विन २०, २०७८ (६:३९ PM)

कैलालीमा चाँडपर्व केन्द्रित नियमित बजार अनुगमन

टीकापुर । दसैंतिहार, छठलगायत महत्त्वपूर्ण ठूला चाँडपर्व नजिकिएसंगै जिल्लामा बजार अनुगमनलाई तीव्र पारिएको छ ।

कैलालीमा दसैंतिहार, छठलगायत चाँडपर्वको पूर्वसन्ध्यामा बजारमा म्याद गुज्रिएका सामान बिक्रीवितरण हुन सक्ने अवस्थालाई ध्यान दिँदै अनुगमनलाई तीब्रता दिइएको हो ।

जिल्लामा चाँडपर्व केन्द्रित भएर दैनिक अनुगमन गर्ने लक्ष्यसहित नियमित बजार अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । उहाँले अनुगमन गर्दा कतिपय पसलमा गुणस्तरहिन र म्याद गुज्रिएका सामान फेला पारेपछि नस्ट गरिएको बताउनुभयो ।

सूचना अधिकारी जोशीले भन्नुभयो, ‘हामीले चाँडपर्वलाई लक्षित गरेर बजार अनुगमनलाई व्यापक बनाएका छौं, दैनिक अनुगमन गर्ने लक्ष्यअनुसार आज धनगढीको हसनपुर, तारानगर र हिजो अत्तरियामा टोलीले अनुगमन गरेको छ ।’

त्यस्तै, अनुगमनमा रहेका बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीका निमित्त कार्यालय प्रमुख ललितप्रसाद पन्तले चाँडपर्व लक्षित बजार अनुगमनलाई निरन्तरता दिइएको जानकारी दिनुभयो । 

उहाँले गत असोज १४ गतेदेखि नियमित रूपमा बजार अनुगमन थालिएको बताउनुभयो । उहाँका अनुसार जिल्लाको धनगढी उपमहानरपालिका अन्तर्गत वडा नम्बर १ देखि ५ र ८, गौरीगंगा नगरपालिकाको मसुरिया, बडैपुर, चौमाला, गोदावरी नगरपालिकाको अत्तरिया र टीकापुरमा यसअघि बजार अनुगमन गरिएको छ ।

अनुगमनको क्रममा विभिन्न ४५ मध्ये १८ वटा किराना तथा खाद्य पसलबाट १ लाख ६१ हजार २ सय ९६ रुपैयाँ मूल्य बराबरको म्याद गुज्रिएका सामान तथा अखाद्यवस्तु राखिएको फेला परेपछि नस्ट गरिएको उहाँले बताउनुभयो । अनुगमनका क्रममा बढीजसो अबैध सामान बिक्रीवितरण भएको देखिएको छ । उहाँले भन्नुभयो, ‘कर छलेर भारतबाट आउने चुरोट, बिँडी, सुर्तीजन्य अबैध र प्रतिबन्धित मालसामान आइरहेका छन् ।’

 जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीको संयोजनमा जिल्लास्थित बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, उपभोक्ता हकहित संरक्षण मञ्च, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय, उद्योग बाणिज्य संघ, नेपाल पत्रकार महासंघ र नगरपालिका कार्यालयका प्रमुख तथा प्रतिनिधि सम्मिलित टोलीले दैनिक बजार अनुगमन तथा निरीक्षण गरिरहेको छ ।

गुणस्तरहिन बस्तुको बिक्रीवितरण रोकथाम तथा नियन्त्रणका लागि बजारमा राखिएका वस्तुको उपभोग्य अवधि, मूल्य, परिमाण, शुद्धता, गुणस्तरको परीक्षण तथा चेकजाँच गरि कमिकमजोरी फेला परे सम्बन्धित पक्षलाई पहिलोपटक राय, सुझावसहित सचेत गराउने गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चौधरीले बताउनुभयो ।  

पन्ध्र–बीस दिनदेखि हामी निरन्तर बजार अनुगमनकै क्रममा छौँ । उहाँले भन्नुभयो, ‘हामीले म्याद गुज्रिएको सामाग्री चाहिँ पाइरहेका छौँ, आज भर्खरै पनि म्याद गुज्रिएको हर्लिक्स (बुस्ट) ५० वटा डिब्बा फेला पारेपछि त्यतिखेर नै सबैको रोहवरमा नस्ट गरिएको छ ।’ 

यसअघि पनि हरेक महिना बजार अनुगमनलाई  निरन्तरता दिइएको तर, दसैंतिहार, छठ लगायत मुख्य–मुख्य चाँडपर्व नजिकिँदै गरेकाले हरेक दिन नियमित अनुगमन थालिएको उहाँले बताउनुभयो ।

भारतसंग सीमा जोडिएका सीमाक्षेत्र भएर नेपालमा भित्रिनसक्ने अवैध तथा राजस्व छलिका मालसामानको सन्दर्भमा निगरानी तथा नियन्त्रण गर्ने कार्य सीमास्थित सशस्त्र प्रहरी र राजस्व अनुसन्धान कार्यालयबाट खटिने कर्मचारीले गर्ने गरेको उहाँको भनाइ छ ।


Top